भक्तपुर : भक्तपुरमा मनाइदै आएको बिस्का: जात्रा यस वर्ष नमनाइने भएको छ ।
कोरोेना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम कम गर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्का: जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ। देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्का: जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो।
बिहीबार बेलुकादेखि सुरु भएर आठदिन नौरातसम्म मनाइने बिस्का: जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ। स्थानीय भाषामा बिस्का: भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ।
भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ। तर यसपटक लकडाउनका कारण रथ निर्माणको कामले पूर्णता समेत पाउन सकेको छैन।
गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो। रथ तान्ने काम नभएपछि जात्रा पूजाआजामा सीमित हुने भएको छ। करिब २ हजार वर्ष लामो इतिहास रहेको बिस्का: जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताए।
नेपाल संवत् ७४१ को चैत शुक्ल पूर्णिमाका दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरि बनाएर जात्रा दोहोर्याएर निकालिएको श्रेष्ठले बताए। त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बली दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उनले बताए।
जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिंगो ठड्याउने काम गर्नुपर्ने उनले बताए। उनले भक्तपुरको तलेजु मन्दिरभित्र नै सुनको लिंगो बनाई उठाउने र विधि विधानअनुसार रथ तानेर जात्रालाई सम्पन्न गर्नुपर्ने बताए। उनले बिस्का: जात्राको स्थापना कालदेखि नै इतिहासमा फेला नपरेकाले यो नै पहिलोपटक रथ तान्न नपाउने गरी जात्रा स्थागित भएको इतिहास बन्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।