उपभोक्ता समितिका पदाधिकारी नै संलग्‍न रहेको स्थानीयको दाबी

|
त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानी बानियागाउँ नजिकै वन क्षेत्रमा अवैध ढंगबाट कटान भएको खयर।

धादिङ : मुलुक लकडाउनले ठप्प भएको बेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, वडा नम्बर ३ स्थित मुलपानीमा तस्करहरूले खयरको जंगल सखाप नै हुनेगरी फँडानी गरेका छन्‌। जंगलमा ठुलो परिणाममा अवैध ढंगबाट खयर कटान भएको छ। 

कटान भएको खयर डिभिजन वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ। खयर कटान भएको क्षेत्र सव-डिभिजन वन कार्यालय सल्यानटारको भएपनि स्थानीयले कार्यालयकै कर्मचारीको भूमिकामाथि प्रश्न उठाएका छन्‌। डिभिजन वन कार्यालयलाई अवैध कटान रोकथामका लागि आग्रह गरेका छन्। 

त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने मुलपानीको डुँडेखोला र ठूलीबेसी सामुदायिक वनभित्र कटान भएको ६८० क्युफिट खयरजातको काठ बरामद भएको डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले बताएका छन्। बरामद भएको काठ सदरमुकाम ल्याउन लकडाउनको कारण तत्काल असम्भव रहेकाले वन कार्यालयले प्रकृया पुरा गरेर वडाअध्यक्षको रोहबरमा समुदाय र वन उपभोक्ता समितको जिम्मामा गाउँमै काठ राखेको लम्सालले जानकारी दिए।

सामुदायिक वनभित्र खयरको काठ कटान भएको सूचनाका आधारमा सशस्त्र वन रक्षकसहित पुगेको डिभिजन वन कार्यालयको टोलीले काठ नियन्त्रणमा लिएपनि तस्करहरू भने फेला नपरेको जनाएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लोकेन्द्र थापाले आफ्नो वडाभित्र बिना इजाजत खयर काठ कटान भएको बताएका छन्। बिहीबार वन कार्यालय, वडा अध्यक्ष, उपभोक्ता समिति र स्थानीयवासीको रोहबरमा वन क्षेत्र भित्रबाट अवैध कटान भएको काठ बरामद गरि लक्ष्मण बानियाँ र रामहरि बानियाँको घर छेउमा काठमा नम्बर लगाएर गोदाम गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए। तस्करीमा संलग्न भएका व्यक्ति जो भएपनि कारवाही हुनुपर्ने वडाअध्यक्ष थापाले माग गरेका छन्‌।

तस्करहरूले लकडाउनको मौका छोपेर खयर कटान गरेको र यसमा वन उपभोक्ता समिति र वन कार्यालयका कर्मचारीको मिलेमतो हुन सक्ने स्थानीयले आशंका गरेका छन्‌। लकडाउनको मौका छोपेर भएको खयर कटानमा केही व्यक्तिको भूमिका शंकास्पद देखिएपनि सवुद प्रमाण नपुगेकाले कोही पनि पक्राउ गर्न नसकिएको सहायक वन अधिकृत लम्सालले बताए। कानून विपरित हुने यस्ता अपराधमा जो व्यक्ति संलग्न भएपनि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याइछाड्ने लम्सालले बताए। 

वन संरक्षणको जिम्मा पाएको उपभोक्ता समितिका पदाधिकारीहरूको जवाफ विवादास्पद देखिएकाले वन फँडानीमा संलग्न भएको व्यक्तिसंग समिति परिचित भएको हुन सक्ने केही स्थानीयको दावी छ। माता जलेश्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर बानियाँले रूख काट्नका लागि सचिव गणेशवहादुर अधिकारी आफैंले गएर रूख देखाइदिएको वताएका छन्। समितिका सचिव अधिकारीले काट्नेबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका छन्‌।

स्थानीय शिव गुभाजुको नाममा रहेको खेतको खयर काट्ने प्रक्रिया पूरा गरी कागजपत्र बनाएरर सोही कागजको आडमा वनभित्र खयर फँडानी गरेको रहस्य खुलेको छ। गाउँमा खयर काट्ने ठेकेदार आएपछि गोपी बानियाँ र लक्ष्मण गुभाजुले आफ्नो खेतको छेउछाउको रूख समेत आफ्नै लिगपातको हो भनेर केही खयरका रूख ठेकदारलाई बेचेको गाउँलेहरूले बताएका छन्‌।

फागुन ८ गते भारतबाट नेपाल आएका इन्द्र कँडेललाई वनमा काटिएको खयरको मुढा बोक्ने काममा लगाइएको थियो । तर त्यहीँ काम गरिरहेका अरू कामदारले कँडेल भर्खरै भारतबाट आएको हुँदा कोरोनाको जोखिम हुन सक्ने भन्दै आफूहरूले काम गर्न नसक्ने भनि काम छाडेर हिँडेका थिए। यसपछि खयर फँडानी र तस्करीबारे थाहा लागेको उपभोक्ता हरिमाया अधिकारीले जानकारी दिइन्‌।

खयरको काठ काट्ने ठेकेदारका रुपमा चिनिएका मित्रबहादुर सारु र मित्रलाल सारु अहिले फरार छन। उनीहरूलाई गाउँमा कसले ल्यायो र अवैध कार्य गर्न उक्सायो भन्ने बारेमा निष्पक्ष छानबिन र दोषि उपर कारवाही हुनुपर्ने स्थानीयको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.