|

काठमाडौं : नम्गेल क्षेत्रमा मजदुरी गर्दै आएका मजदुरहरू अन्‍तत: सात दिनको पैदल यात्रामै घर गएका छन्। लकडाउनले काम गर्न नपाएको र खानबस्न पनि समस्या भएको उनीहरूले बताउँदै आएका थिए।

लकडाउन छिट्टै नखुल्ने सम्भावना भएपछि अन्तत: नाम्गेलमा पाल बनाएर बस्दै आएका ९ मजदुर आइतबार सात दिनको पैदल यात्रामा घर गएका हुन्।

९ कामदारमध्ये ८ जना बर्दिया जिल्लाका हुन् भने एक जना सिन्धुलीका हुन्। उनीहरु नयाँपाटी सडक बनाउनेमा काम गर्दै आएका थिए। तर, कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले लगाएको लकडाउनले उनीहरुको काम रोकिँदै आएको थियो। काम नभएपछि रासन पानीको समस्या हुँदै आएको पनि बारम्बार बताउँदै आएका थिए।

बर्दियाका टेकबहादुर सिजालीले गत मंगलबार थाहाखबरलाई भनेका थिए,‘ लकडाउनले गर्दा १४ दिनदेखि काम गर्न पाइएन। त्रिपालमुनि भोकै मरिन्छ कि क्या हो।’

 मजदुर बसे नजिकैका स्थानीय विजय राईका अनुसार आइतबार पैदल यात्रामा घर जानेभनी शनिबार नै सबैले तयारी गरेका थिए। ‘मजदुरहरु आइतबार पैदल यात्रामा जाने भन्दै थिए,’उनले भने,‘घर पुग्नलाई सात दिन पैदल यात्रा लाग्ने पनि मलाई सुनाएका थिए। शनिबार राति २ वटा भाले खानलाई ल्याएका पनि थिए। बिहानै बासी भात खाएर उनीहरु जाने सल्लाह गरेका थिए।’

लकडाउन अझै लम्बिने भएपछि उनीहरु पैदल यात्रा गरेरै घर जाने निर्णय गरेको उनले सुनाए। आइतबार थाहाकर्मी उनीहरु बसेको ठाउँमा पुग्दा कोही थिएन। दिनभर खुल्लाखुल्ला हुने त्यो ठाउँ सुनसान थियो। त्रिपाल पनि थिएन। त्रिपाल हाल्न बनाएका बाँस र ढुंगाका चुला मात्रै थिए। उनीहरु बस्दा राहत पनि दुई जनाबाहेक अरुले पाउन सकेका थिएनन्।

लकडाउन मान्‍न छाडे व्यापारी

यस्तै, नाम्गेले क्षेत्रमा सरकारले लगाएको लकडाउन उल्लंघन गरी पसल सञ्चालन गरेको पाइएको छ। सरकारले कोरोना भाइरसको रोकथाम गर्दै लकडाउनको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु मात्र उपलब्ध गराउने पसल खोल्ने समय तोकेको थियो।

समय तालिकाअनुसार दूध, चामल, दाल, तेल, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध हुने पसल दिनमा २ पटक पसल खोल्न पाइनेछ। लकडाउनको बेला दैनिक उपभोग्य बस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी पसल बिहान ४ बजेदेखि ८ बजे र दिउसो ३ देखी साँझ ५ बजेसम्म खोल्न पाइने छ। तर, अहिले गोकर्णको नाग्गेल, हनुमानचोकका डेरी, तरकारी र फलफूल पसल दिनभरी सञ्चालनमा छन्।

दिनभर पसल सञ्चालन गर्दा कोरोना संक्रमण फैलिने उच्च सम्भावना भए पनि व्यापारी भने पसल सञ्चालन गर्ने समय थाहा नभएको बताउँछन्। नाम्गेलमा फलफूल पसल राख्दै आएका एक महिलाले दिनभर फलफूल पसल खुला नै राख्दै आएको बताइन्।

‘म दिनभरि नै फलफूल पसल खुलै राख्छु,’उनले भनिन्,‘कति बजेसम्म पसल खोल्ने भन्ने नै छैन।’ उनले सर्वसाधारण फलफूल किन्न आउने गरेकाले पसल दिनभर खुलै राख्ने गरेको बताइन्। उनले भनिन्, ‘सरकारले लकडाउन लगाए पनि सर्वसाधारण फलफूल किन्न आउँछन्।’

उनले पसल सञ्चालन गर्ने समय थाहा नभएको बताए पनि गोकर्णेश्‍वर नगरपालिकाले माइकिङ गर्दै आएको बताएको छ। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाका अनुसार लकडाउन अवधिभर अत्यवश्यक कामबाहेक सबै घरभित्र बस्न माइकिङ गर्दै आएको छ। तर, सर्वसाधारणकै अटेरीपनले पसल खोल्ने, बाहिर हिँड्डुल गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.