बैतडीका ३९० जनाको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ

|

बैतडी : बैतडीसँग सीमा जोडिएका महाकालीपारि भारतका झुलाघाटका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरले स्वदेश फर्काउन माग गरेका छन्। 

क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भइसकेको र आफूहरुलाई कुनै स्वास्थ्य समस्या समेत नभएको भन्दै उनीहरुले स्वदेश फर्काउन माग रहेका हुन्। भारतीय क्वारेन्टाइनमा बसेको दुई साता बढी भइसकेको र खानबस्नका लागि समेत समस्या भएको बैतडीको दोगडाकेदार गाउँपालिकाका कृष्णानन्द भट्टले बताए। 

‘एकै विद्यालयमा धेरैजना बस्नुपरेकाले शौचालयको समेत समस्या रहेको छ,’ उनले भने‘ ‘हामी स्वदेशको क्वारेन्टाइनमा बस्न तयार छौं। सीमामा रहेका नेपाली मजदुरको पीडा बुझिदिन आग्रह गर्छौं।’ सीमावर्ती भारतीय बजार झुलाघाटका विभिन्न स्थानमा अढाई सयभन्दा बढी नेपालीहर क्वारेन्टाइनमा रहेका छन्।

यस्तै, भारतको धारचुलामा पनि एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमा छन्  क्वारेन्टाइनमा बसेको दुई साताभन्दा बढी भइसकेकाले आफूहरुले स्वदेश फिर्तीको माग गरेको पुचौंडी–३ न्वाउदेउका लोकेन्द्र पार्कीले बताए। क्वारेन्टाइनमा धेरैजना एकै ठाउँमा भएकाले जोखिम बढेकाले स्वदेशकै क्वारेन्टाइनमा बस्न आफूहरु तयार रहेको उनको भनाइ छ। उनले भने, ‘क्वारेन्टाइनमा बसोबासका लागि निकै समस्या रहेको छ, कोरोनाभन्दा अरु रोगको जोखिम छ।’

सर्वोच्च अदालतले चैत २४ मा सरकारका नाममा परमादेश जारी गर्दै भारतीय क्वारेन्टाइमा रहेका मजदुरलाई स्वदेश ल्याउन आदेश दिएको थियो। तर आदेश दिएको एक साताभन्दा बढी भइसक्दा समेत सरकारले त्यसलाई कार्यान्वयन गरेको छैन। प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सीमापारि रहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने बिषयमा पहल भइरहेको बताए। उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना बनाएर गृह मन्त्रालयमा पठाइएको र स्वीकृत हुने बित्तिकै स्वदेश फर्काउने उनको भनाइ छ।

३९० जनाको रिपोर्ट नेगेटिभ

बैतडीमा ३९० जनाको थ्रोट स्वाबको परीक्षण गर्दा कोरोना रिपोट नेगेटिभ आएको छ। गत चैत २८ मा विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुको संकलन गरिएको थ्रोट स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको हो। उनीहरु भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बस्दै आएका छन्।

स्वाब संकलन भएका ४२५ मध्ये ३९० जनाको रिपोर्ट नेगेटिभ आएको सात जनाको स्वाब पुनः संकलन गर्नुपर्ने देखिएको र २८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

कोभिड १९ उच्चस्तरीय समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीहरुको टोली आएर पुर्चौंडी नगरपालिकामा ३४३ र पञ्चेश्वर गाउँपालिकामा ८२ क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गरेको थियो। रिपोट नेगेटिभ आएका सबैलाई एक साता होम क्वारेन्टाइनमा बस्ने गरी क्वारेन्टाइनबाट घर फर्काउने तयारी भएको छ। यसअघि १३७ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा उनीहरुको रिपोट पनि नेगेटिभ आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.