|

म्याग्दी :  कोरोना (कोभिड १९) संक्रमणलाई फैलिन नदिनका लागि  सरकारले देशभर लागू गरेको लकडाउन (बन्दाबन्दी)लाई बेवास्ता गरी आवतजावत गर्ने मानिसहरुलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहहरुले बाटा र पुलहरुमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन्।

आवतजावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको जिम्मा लगाउन स्थानीयले बाटा र पुलहरुमा बार लगाई पालैपालो गरी चौकीदारीसमेत गरेका छन्।

म्याग्दीका बेनी नगरपालिका सहित मालिका, धौलागिरि, अन्नपूर्ण, रघुगंगा र मंगला गरी ६ वटै स्थानीय तहहरुमा स्थानीय युवा,आमा समूह र जनप्रतिनिधिहरुको सक्रियतामा बढि आउजाउ हुने बाटो र पुलहरुमा बार लगाइनुका साथै आलोपालो गरी चौकीदारी गर्न थालिएको हो।

बागलुङ, पर्वत, मुस्ताङ र रुकुमसँग सीमाना जोडिएको म्याग्दीमा एक जिल्लाबाट अर्को जिल्लामा जाने आउने क्रम नबढोस् भनेर यस्तो उपाय अपनाउनु परेको स्थानीयको भनाइ छ। म्याग्दीको सदरमुकाम बेनीबजारसँगै सीमाना जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा बेनी लगाएत अन्य ठाउँहरुबाट मानिसहरु आउने क्रम बढेपछि बगरफाँटको रिभरसाइड युवा क्लवको पहलमा म्याग्दी नदीमाथिका तीनवटा पुल र पदमार्गमा बार लगाएर आउन जान नमिल्ने गरी बाटो छेकिएको क्लवका अध्यक्ष इन्द्रबहादुर जिसीले जानकारी दिए।

मंगलाघाटको पाती चढाउनेको पदमार्ग,बुद्ध एकेडेमकी नजिकको म्याग्दी नदीमाथिको झोलुङ्गे पुल, डम्मरा बगरफाँट जोड्ने झोलुङ्गे पुल र चुत्रेनी र दुधेखोला जोड्ने झोलुङ्गे पुलमा बार लगाएर रोक्नुका साथै निगरानीका लागि पालैपालो गरेर चौकीदारी गर्ने गरिएको अध्यक्ष जिसीले बताए।

त्यस्तै, बेनी नगरपालिका ३ भकिम्लीमा पनि स्थानीय तथा अन्यत्र ठाउँका मानिसहरुको आउजाउ बढेपछि  ठाउँठाउँमा बार लगाएर युवाहरु चौकीदारी गरिरहेका छन्।

भकिम्लीका पर्यटकीय स्थल बेलढुङ्गा,स्वर्गाश्रम लगाएतका ठाउँमा बागलुङ र म्याग्दीका विभिन्न गाउँहरुबाट मानिसहरु लकडाउनको समय व्यतित गर्न आउन थालेपछि यस्तो गर्नुपरेको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए।

 त्यसैगरी म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुल सडकमा नै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले भोटेताल्चा लगाएका छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन्।

आपतकालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका-६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए। लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए।

बाहिरका मान्छे रोक्न बाटो बन्द

पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट  आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमा नै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीको भनाइरहेको छ। मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाई गर्नुपरेको उनले बताए।

वडाअध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्को गाउँ जान–आउनसमेत अवरोधलाई थप कडाई गर्ने गरी प्रहरीसहित ६ जना युवा खटाइएको छ। छिमेकी जिल्लाहरुको कारण दरबाङ समेत जोखिममा परेपछि स्थानीयले बिरामी र अति आवश्यकता परेकालाई सहज हुने गरी वडा अध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र  लायन्स क्लव अफ दरबाङका पूर्वअध्यक्ष  स्थानीय हिरा पुनलाई चाबी दिइएको छ।

त्यसैगरी बेनी नगरपालिका १ रत्नेचौरमा पनि बागलुङ र छिमेकी वडा बेनपा २ ज्यामरुककोट आउजाउ गर्ने सडकमा छेकवार लगाइनुका साथै  स्थानीयले पालैपालो गरी चौकीदारी गर्ने गरेका बेनी नगरपालिका १ का युवा मोहन महतले बताए।

रत्नेचौरसंग सीमाना जोडिएको बागलुङको कुडुलेकी एक युवतीमा कोभिड १९ को संक्रमण देखिएको र हाल ती युवती धौलागिरि अंचल अस्पताल बागलुङमा उपचाररत रहेकीले संक्रमण फैलिने डरले सडकमा नै बार लगाई निगरानी गर्नु परेको रत्नेचौरवासीको भनाइ रहेको छ।

यस्तै बेनी नगरपालिका, मंगला र रघुगंगाको सीमानामा अवस्थित म्याग्दीको पर्यटकीय स्थल टोड्केमा पनि लकडाउनको समयमा मानिसहरु जानेक्रम बढेपछि पूर्णगाउँको लाल युवा क्लवको पहलमा सडकमा बार लगाएर आवतजावतमा रोक लगाइएको स्थानीय मोहन केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.