उद्योगीले सुरक्षाका आधारभूत प्रबन्धसमेत गरेनन्‌, दोहोरो चेपुवामा श्रमिक

|
वीरगन्जको सुख्खा बन्दरगाहमा रिचेस्टेक मेसिनले सामान लोड-अनलोड गर्दै ।

पर्सा : उद्योगमा कार्यरत श्रमिकलाई बलजफ्ती काममा लपेट्दा वीरगञ्‍ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना (कोभिड-१९) संक्रमणको केन्द्र बन्ने खतरा बढेको छ। 

अत्यावश्यकीय सामान उत्पादन गर्ने भनिएका उद्योगमा कार्यरत बारा र पर्साका श्रमिकहरूलाई व्यवस्थापनले विदा दिएको छैन। काममा नआए जागिर नै खाइदिने धम्की दिँदै आफूहरलाई उद्योगीले काममा लगाइरहेको श्रमिकहरूले बताएका छन्‌। उता श्रमिकको परिवार र छिमेकीले उद्योगमा नै बस्न या काममा नजान दबाब दिइरहेका छन्‌। 

देशभर लकडाउन कार्यान्वयन भइरहँदा कोरिडोर क्षेत्रको उद्योगमा कार्यरत पर्सा, बारा र रौतहटका श्रमिक दैनिकजसो काममा आउजाउ गरिरहेका छन्‌। तर उद्योगीले आवास र क्वारेन्टाइनको व्यवस्था नै नगरी श्रमिकलाई जोखिमपूर्ण श्रममा लगाइरहेका हुन्‌। 

घर-परिवार र गाउँका मानिसको कुरा मान्दा जागिर जाने डर तथा काममा जाँदा उद्योगमा आवश्यक सुरक्षा सामग्री र व्यवस्था नहुँदा कोरोना लिएर घर फर्कनुपर्ने त्रासका बीच श्रमिकहरू पिल्सिएका छन्‌।

पर्सा र रौतहटमा कोरोना संक्रमित फेला परिसकेको र बारामा पनि संक्रमण आइसोलेसनमा बिरामी राखिसकिएको छ। तर यी तीनै जिल्लाका दर्जन बढी गाउँबाट वीरगञ्‍ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रका उद्योगमा दैनिक हजारौं श्रमिक पुग्ने गरेका छन्। ती उद्योगमा श्रमिकहरूलाई संक्रमण हुन नदिन कुनै सुरक्षा सतर्कता नअपनाइएको समग्र उद्योग ट्रेड युनियनका केन्द्रीय अध्यक्ष आनन्द थामीले थाहा खबरलाई जानकारी दिए।

'घरेलु मास्क, साबुन पानी र केही उद्योगमा मात्र हातमा लगाउने सेनिटाइजरका दिएको सुन्नमा आएको छ, लकडाउनका कारण यी उद्योगमा अनुगमन गर्न पनि सकिएको छैन,' थामीले भने, 'यस्तो तरिकाले श्रमिक कसरी सुरक्षित हुन सक्छन् ? यो पाराले भोली यो क्षेत्रमा भयावह अवस्था निम्तने चिन्ता थपिएको छ।' संक्रमण फैलिएको समयमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को मान्यताअनुसार उद्योग पनि संचालन गर्नुपर्नेमा अत्यावश्यकीय सामग्री उत्पादन गर्ने उद्योगले श्रमिकलाई काममा लगाउँदा पीपीई सहितको स्वास्थ्य सामग्रीसमेत नदिएको अध्यक्ष थामीले बताए।

अहिले यो औद्योगिक कोरिडोरका आधा जति उद्योग सञ्चालनमै राखिएको छ। ती उद्योगका सयौं श्रमिक अहिले पनि कार्यरत छन्। तर महामारीले उग्र रुप लिइरहँदा पनि उद्योगीले श्रमिकको सुरक्षाबारे पर्याप्त ध्यान नदिएको प्रदेश २ जिफन्टकी शिक्षा विभाग प्रमुख गीता भण्डारीले बताइन्‌। 

औषधी उत्पादक कम्पनीले श्रमिक ओसार्न गाडीको संख्या बढाए 

केही औषधी उत्पादक कम्पनीले दुईवटा गाडीमा ल्याउने श्रमिकलाई तीनवटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर र मास्कहरू दिने गरेका छन्‌। यो कोरिडोरको कोयेष्ट फर्मास्यूटिकल्सले भने दुई सिफ्टलाई तीन सिफ्टमा विस्तार गरेर संख्या केही पातलो गरी काममा लगाएको त्यहाँ कार्यरत श्रमिकले बताए। नाम चलेका नेपाल फर्मास्यूटिकल्स, नेशनल फर्मास्यूटिकल्स जस्ता ठूला कम्पनीले पनि श्रमिकलाई दूरी कायम गरी काममा लगाउन नसकेको ती कम्पनीहरूमा काम गर्ने श्रमिकले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन्‌।

‘सरकारका मन्त्रीहरूले कुर्सी र टेबल परपर राखेर दूरी कायम गरे जस्तो एउटै मेशिनमा काम गर्ने श्रमिकहरूले दुरी कायम गर्न सक्दैनन्,' श्रमिकहरू भन्छन्‌, 'सँगै काम गर्ने साथी अर्कै जिल्ला र अर्कै गाउँबाट आएको हुन्छ, तर काम त सँगै मिलेर गर्नुपर्ने हुन्छ।'

श्रमिक संगठनको पहल पुगेन

श्रमिक संगठनहरूले श्रमिकका पीरमर्का बुझ्ने गरी एकद्वार प्रणालीबाट सम्बन्धित पक्षसँग कुरा गर्न जेटीयुसिसी, आइपीयुसी⁄नेक जस्ता संयुक्त समिति बनाएका छन्‌। तर यो संकटमा श्रमिक संगठनहरू खुलेर नबोलेको नेपाल ट्रेड युनियन कांग्रेसका पर्सा अध्यक्ष छोटेलाल प्रसाद साहले स्वीकारे।

'यो महामारीमा 'फ्रन्ट लाइन'मा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सवालमा सरकारले बीमा लगायतको सुविधा गरेको छ, तर विभिन्न डेढ दर्जन गाउँबाट जम्मा भएका श्रमिकहरूका सवालमा सरकार पनि प्रष्ट छैन,' साह भन्छन्‌, 'सरकारले भने जस्तो उद्योग संचालकले सुरक्षाको आवश्यक पूर्वाधार तुरुन्त गर्न सक्ने अवस्था कहाँ छ र? त्यसो हुँदा यो कोरिडोरमा कार्यरत श्रमिकका कारण भोली गाउँका गाउँ कोरोनाबाट गाँजिने सम्भावना नकार्न सकिन्न।' श्रमिकको सुरक्षाका लागि बीमा, सुरक्षित सामग्री, बाहिरी मानिससँग सम्पर्क नहुनेगरी व्यवस्था गरिनुपर्ने र राज्यले पनि त्यो कुरा कार्यान्वयन भए नभएको अनुगमन गर्नुपर्ने उनी बताउँछन्।

नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशी भन्छन्‌, 'उद्योग प्रतिष्ठानमा के भएको छ? खै अनुगमन?'

औषधी उत्पादक कम्पनीकै सुरक्षा सतर्कता अपर्याप्त 

श्रमिकका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसकेको औषधी उत्पादक कम्पनीका संचालकहरूले पनि स्वीकारेका छन्‌। नेपाल औषधी उत्पादक संघका कोषाध्यक्ष प्रभात रुंगटा भन्छन्‌, 'उद्योग प्रतिष्ठानमा नै आवासीय तथा क्वारेन्टाइनको व्यवस्था गर्न तुरुन्त सकिन्न, १०⁄१५ जनाको कुरो होइन, कम्तीमा पनि उद्योग भन्ने साथ ५० जनाभन्दा बढि नै श्रमिक हुने हुन्छ, त्यसैले पनि सरकारले भन्नासाथ त्यस्तो व्यवस्था गर्न सकिएको छैन।'

'भारतमा औषधी उत्पादन गर्ने कम्पनी कार्यरत २६ श्रमिकमा कोभिड १९ देखापर्नु र यहाँ पनि सबै उद्योगले क्वारेन्टाइन सहितको व्यवस्था एकै पटक गर्न नसक्नुले भोली चुनौति नआउला भन्न सकिन्न। तर सरकारले अत्यावश्यकीय औषधी उद्योग बन्द गर्न नमिल्ने भनेपछि हामीले चलाउनुको विकल्प छैन,' रुंगटा भन्छन्‌, 'यसैमा सेनिटाइजरको केही व्यवस्था, मास्क, पन्जा जस्ता कुरा उपलब्ध गराएका छौं, डब्लुएचओले भने जस्तो पीपीइ सहितको सामग्रीसहित श्रमिकलाई काममा लगाउन उद्योगी समर्थ छैनौं।'

संघको तर्फबाट आफूहरूले कसैलाई पनि यो उद्योग बन्द गर या नगर भन्‍न नसक्ने र सुरक्षाको पूर्वाधार सहित सिमित उद्योग मात्र चलाउने या त्यहाँ क्वारेन्टाइनको समेत व्यवस्था गर्ने भन्ने सरकारको पाटो रहेको उनको तर्क छ। 

कोरोना संक्रमणको केन्द्र बन्ने जोखिम

अहिलेसम्म पर्सामा तीन र रौतहटका एक जनामा कोरोना संक्रमण देखिइसकेको छ। बारामा पनि संक्रमण आशंका गरिएका केही बिरामीलाई आइसोलेसनमा राख्न थालिएको छ।

औद्योगिक कोरिडोर भारतसँग खुला सीमा भएका यी तीन जिल्ला नै फैलिएको छ। सैयौं श्रमिकलाई सुरक्षा बिनै काममा लगाउँदा यो क्षेत्र नै कोरोनाको ‘हट स्पट जोन' बन्नसक्ने जोखिममा रहेको छ। औषधी उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष रुंगटा पनि श्रमिकको सुरक्षालाई लिएर आफूहरू चिन्तित रहेको बताउँछन्‌।

'सरकारले सकेको छैन, उद्योगीले कसरी सक्नु?' : अध्यक्ष गुप्ता 

वीरगञ्‍ज पथलैया औद्योगिक कोरिडोरमा सानाठूला गरी एक हजारजति उद्योग रहेको छन्‌। यीमध्ये १४ वटा औषधी उद्योग छन्। बारा र पर्सामा खाद्यान्‍नका ३५० वटा उद्योग छन्। पाल चामल तेल दाल संघका अध्यक्ष सुवोध गुप्ताले यीमध्ये ४० प्रतिशत उद्योग अहिले पनि संचालनमा रहेको जानकारी दिएका छन्‌।

उनी भन्छन्‌, 'संचालित उद्योगहरूमा श्रमिकका लागि आवश्यक सबै स्वास्थ्य सामग्री उपलब्ध गराउन एउटा उद्योगीबाट सम्भव छैन,' वीरगञ्‍ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ता भन्छन्‌, ‘नेपाल सरकारले कोभिड १९ को महामारीमा फ्रन्ट लाइनमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तो जनशक्तिलाई अझै सुरक्षित सामग्री उपलब्ध गराइ नसकेको समयमा एउटा उद्योगीले आफ्ना श्रमिकलाई तुरुन्त सुरक्षित सामग्री उपलब्ध गराउन अलि सम्भव हुँदैन। त्यो पनि यो महामारीमा डब्लुएचओको मान्यता अनुसार सम्भव भएसम्म दूरी कायम गर्ने भन्ने सम्मको कुरा हो। बाँकी मास्क, पन्जा र बजारमा भेटिएअनुसारको सेनिटाइजरको व्यवस्था गर्ने वाहेक अर्को विकल्प छैन।'

साविक परिमाणकै कच्चापदार्थ  भित्रँदै

नेपाल सरकारले अत्यावश्यकीय उद्योग संचालन गर्ने भने पनि वीरगञ्‍जमा रहेको सुख्खा बन्दरगाहमा छिमेकी तथा तेस्रो मुलुकबाट भित्रिएका सामानको तथ्याङ्क हेर्ने हो भने सामान्य अवस्थाकै परिमाणमा उद्योगका कच्चा पदार्थ भित्रिरहेको छ।

‘कृषिजन्य उद्योग तथा अन्य उद्योगका पनि कच्चा पदार्थ आउने क्रम पहिले जस्तै छ, थोरै कम होला तर पूर्ववत् रुपमा नै सामान आउने क्रम खासै रोकिएको छैन,' वीरगञ्‍जमा रहेको सुख्खा बन्दरगाहका प्रमुख उमेश श्रेष्ठले भने, 'उद्योगका मालबस्तु आयात तथ्याङ्कमा खासै फरक छैन, हामी सुख्खा बन्दरगाहस्थित मानिसको आवागमन बाक्लो हुने ठाउँमा आवश्यक सुरक्षा सामग्री बिनै खटेका छौं, स्थानीय सरकारले केही व्यवस्था गर्न नसकेकाले काममा अलि असहज महसुस हुँदैछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.