|

पाल्पा : टन्टलापुर घाम, त्यही घामले रापिएको पिच सडक। सडकको छेउमा एउटा चौतारी, त्यहाँ शीतल थियो। तर, राम्रोसँग आराम गरेर बस्न मिल्ने अवस्था भने थिएन। थियो त ठूला ढुंगा र त्यही चौतारीमा रहेका बर–पिपलको जरा। 

शुक्रबार रम्भागाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गको छेउमा रहेकोे चौतारीको बर–पिपलको जरामा अढेस् लागेर बसेको एउटा समूह। त्यही समूहमा थिए एक जोडी। जोडीकै रुपमा रहेको बर–पिपलले दिएको शीतलले बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका दिलकुमारी आले र उनका श्रीमान् जयप्रकाशको मनलाई भने शीतल दिन सकेको थिएन। 

छोराछोरीको पालनपोषणका लागि पाँच महिनाअघि दिलकुमारीको जोडी घरबाट निस्किएको थियो। रोजगारीको खोजीमा दिलमायाको जोडी रोल्पाका एकजना ठेकेदारको सम्पर्कमा स्याङ्जा पुगे। त्यही ठेकेदारले दिलाएको विद्यालय भवन निर्माणका लागि ढुंगा, बालुवा, सिमेन्ट बोक्ने काम गर्न थाले। कडा परिश्रम गरेर केही पैसा कमाउन थालेका उनीहरूलाई लामो सास फेर्न नपाउँदै महामारीको रूपमा फैलिएको कोरोनाको पहाडले थिचिदियो। 

चारजना छोराछोरी हुर्काउँदा लागेको ऋण तिर्न आफूहरू दुवैजना घर छोडेर हिँड्नुपरेको दिलमायाले बताइन्। ‘घरमा साना–साना छोराछोरी छन्,’ उनले भनिन्, ‘घर छोडेर हिँडेको पाँच महिना भयो। कसरी बसेका होलान् चिन्ता लागेको छ। यता आफूहरू अलपत्र उता छोराछारी विचल्ली परेको होलान्।’

केही दिनमै लकडाउन खुल्ने आशामा रहेकी दिलमायालाई लकडाउन लम्बिएपछि साथीहरूसहित अहिले घरतर्फ पैदल हिँडेकी छन्। ‘हिडेको दुई दिन भयो’ उनले भनिन्, ‘खानासमेत पाइएको छैन। शरीर गलिसकेको छ। हिँड्दा हिँड्दै बाटो मै मर्छु होला! छोराछारी भेट्ने आशा पनि अधुरै होलाजस्तो छ।’ 

कोरोनाको हल्ला चलेदेखि नै छोराछोरी आफन्तको घरमा आश्रय लिएर बसेको उनका श्रीमान् जयप्रकाशले बताए। सरकारले घरसम्म पुग्ने गाडीको व्यवस्था गरिदिए लागेको भाडा तिर्न आफूहरू तयार रहेको उनले बताए। 

स्याङ्जाको आँधिखोला गाउँपालिका–६ लामिस्वाँरास्थित भगवती माध्यमिक विद्यालयको भवन निर्माणमा उनीहरु थिए। भवन बनाउने काम सकिएकाले आफूहरूलाई खान बस्न समेत समस्या हुन थालेपछि बाध्य भएर घर हिँड्नु परेको अर्का मजदुर ६० वर्षीय कविराम घर्तीले बताए। 

‘घरमा श्रीमती एक्लै छिन्,’ उनले भने, ‘त्यही श्रीमतीलाई पाल्न काम गर्न हिँडेको थिएँ। अहिले आफू नै बीचबाटोमा अलपत्र परें। घरसम्म पुग्न पाए हुन्थ्यो।’

एउटै गाउँघर भएका ११ जना मजदुर बिहीबार बिहान आफूहरूसँग भएका लत्ताकपडा कुम्लो पारेर सिद्धार्थ राजमर्ग हुँदै पैदल हिँडिरहेका छन्। बिहीबार राति वालिङ र गल्याङकोबीचमा पर्ने सडक छेउमा रहेको जंगलमा सुतेको अर्का महिला मजदुर विष्णु ठाडाले बताइन्। ‘हिजो जंगलमा सुतियो। आज राति कहाँ कस्तो अवस्थामा सुत्नु पर्ने हो,’ गहभरी आँसु झार्दै उनले भनिन्, ‘सुरक्षित तरिकारले घरसम्म पुग्न पाए हुन्थ्यो।’

बिहीबार बिहान ५ बजे बस्ने कोठाबाट निस्किएका ती उनीहरू शुक्रबार बेलुकी तानसेनको क्षेत्रमा आइपुगेका छन्। बुटवलबाट पाँच दिनमा घर पुग्ने योजना बनाएका उनीहरू बुटलसम्म नै कसरी पुग्ने हो भन्नेमा चिन्तित छन्। हिँड्ने बेलामा किनेको चाउचाउ, चिउरा र बिस्कुट पनि सकिएको उनीहरूले बताए। खोलामा भेटिएको पानी खाएर भोक र तिर्खा मेटिरहेको उनीहरूको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.