लकडाउनको मौका छोप्दै तस्कर

|

बारा :  देशव्यापी रुपमा लकडाउन जारी रहेको मौका छोपेर जीतपुर—सिमरा उपमहानगरपालिका वडा नं १७ रामनगरका ९ जना जंगल पुगेको अवस्थामा समातिएका छन्।  

जंगली जनावरको मासु र हाड, छालाको लागि जंगली जनावरको चोरी शिकारी गर्न जंगल पसेका उनीसंग विभिन्न साईजका जाल र घरेलु हतियार थियो। जाल थापेर जंगली जनावर बदेल, हरिण, लगुना, मृग, खरायो जस्ता साना वन्यजन्तुको शिकार गर्दै आएका उनीहरु मध्यरातमा वन रक्षकको जालमा परेका छन्।

वन्यजन्तु सिकार गर्ने क्रममा मधुवन सबडिभिजन कार्यालय अन्तरगत पर्ने काटघाट वन क्षेत्रमा जाल बिछ्याउदै गरेको अवस्थामा राति १२:३० बजे उनीहरु मध्ये ८ जना पक्राउ परेको डिभिजन वन कार्यालय प्रमुख एंव डिएफओ मन्जुर अहमदले जानकारी दिए।

‘वन्यजन्तुको गौडा ढुकर जाल बछ्याउदै थिए,’ डिएफओ अहमदले भने–‘वन रक्षक गस्ति टोलीले घेरा हालेर नियन्त्रणमा लिएको छ।’ एक जना भने उम्किएका छन्। उनको खोजी भइरहेको बताइएको छ।

पक्राउ पर्नेमा जीतपुर—सिमरा उपमहानगरपालिका वडा नं. १७ रामनगरका विजेन्द्र साह, यादव घिमिरे, दिपक भण्डारी, प्रमेश माझी, बमभोली सहनी, नारायण चौधरी, शिवनारायण माझी, रमेश माझी रहेका छन्।

उनीहरुको साथबाट २६ फिट लम्बाई ८ फिट चौडाईको  नाइलनको २ थान जाल, एक थान बञ्चरो, दुई थान भाला, टर्च लाईट र लाठी जस्ता सिकारमा प्रयोग हुने सामाग्रीसमेत बरामत भएको अहमदले बताए। 

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबै पेशेवर चोरीसिकारी भएको खुलेको छ। उनीहरुले मासु र हाड÷छालाको लागि बदेल, हरिण, लगुना, मृग, खरायो जस्ता साना वन्यजन्तुको शिकार गर्दै आएको वन कार्यालयले जनाएको छ। उनीहरुलाई वन्यजन्तु मार्ने उद्योगमा मुद्दा दर्ता गरि कारवार्ही प्रकृया थालिने प्रमुख अहमदले जनाए।

वन तस्करविरुद्ध विशेष अभियान

लकडाउनको मौका छोपी जंगलबाट काठ चोरी तस्करी सुरु भएपछि त्यस विरुद्ध डिभिजन वन कार्यालयले विशेष अभियान चलाएको छ। यही अभियान अन्तर्गत बारामा चोरी तस्करीमा संलग्न धमाधम पक्राउ परिरहेका छन्।

जिल्लामा वन तस्करविरुद्ध विशेष अभियान चलाइएको प्रमुख अहमद्ले जानकारी दिए। लकडाउनको दुई साताको अवधिमा मात्रै वन रक्षकहरुले बारामा तीनवटा तस्करीका घटना सार्वजनिक गरिसकेको छ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न ठूलो सख्यामा सुरक्षाकर्मीहरु खटिएको अवस्थामा वन तस्कर  तथा  वन शिकारीहरुको गतिविधि वन क्षेत्रमा ह्वात्तै बढेको छ।

लकडाउनको अवसर छोपेर वन अतिक्रमण पनि भईरहेको पाईएको छ। डिभिजन वन कार्यालयको टोलीले वन क्षेत्र अतिक्रमण गरि बनाईएका संरचना समेत हटाउने काम गरिरहेको छ। तामागढी साझेदारी वन क्षेत्र अतिक्रमण गरि घर तथा छाप्रो र घेराबेरा विस्तार गरि अतिक्रमण गरिएको १.५ हेक्टर वन अतिक्रमण मुक्त गरिएको प्रमुख अहमद्ले जानकारी दिए।

वन डढेलो नियन्त्रण

सुख्खायाम सुरु भएसंगै बाराका वन क्षेत्रमा पनि डढेलो सुरु भएको छ।  डढेलो नियन्त्रणका लागि डिभिजन कार्यालयबाट नियमित रुपमा गस्ति परिचालन गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.