|

बारा : कोरोना संक्रमणका कारण विगत २७ दिनदेखि  मुलुक लकडाउनमा छ।  नागरिकले एक छाक खानका लागि सरकारको मुख ताक्नु पर्ने अवस्था छ। काम गरेर खाने अवस्था छैन्।

किसानले लगाएको बाली उठाउन पाएका छैनन्। यसैबीचमा आएको अर्को विपत्तिले झन पीडा थपेको छ बरामा। हावाहुरी र असिनापानीले बारामा ठूलो क्षति पुर्‍याएको छ। हुरी र असिनाबाट कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। किसानले लगाएको गहुँ र मकै र केरा खेतीसँगै फलफुलमा ठुलो क्षति भएको हो।

सयौं विगाहा केरा खेती नष्ट

हुरीले केरा पकेट क्षेत्र निजगढमा ठुलो क्षति पुर्‍याएको छ। यहाँका किसानले ११ सय विगाहा क्षेत्रफलमा लगाएको केरा ७५ प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान छ। 

बारा केरा तथा फलफुल उत्पादन व्यवसायी संघका अध्यक्ष एकबहादुर श्रेष्ठले किसानलाई करिब ४० करोड बराबरको क्षति भएको छ। तथ्यांक संकलन कार्य भइरहेकाले क्षतिको विवरण अझै बढ्न सक्ने उनले बताए।

भुमरी जस्तो गरि हुरी आएको थियो,’ अध्यक्ष श्रेष्ठले भने–‘हुरीले भेटेको ठाउँमा सोत्तर हुने गरि केरा लडाएको छ।’ उनकाअनुसार अधिकांश किसानले बीमा समेत नगरेकाले सरकारसँग राहत उपलब्ध गराउन माग गरिने बताए। बीमा गर्ने र भुक्तानी लिने प्रकृया झन्झटिलो भएको कारणले किसानको बीमाप्रति आकर्षण बढ्न नसकेको बताए।

निजगढका किसान विनोद न्यौपानले साढे तीन बिगाहा जमिनमा लगाएको केरा खेती हुरीले ढालेर नष्ट पारेको बताए। जग्गा भाडामा लिएर खेती गरेको भन्दै अब कसरी तिर्ने भन्ने चिन्ता सुरु भएको सुनाए।

गहुँ र मकैमा क्षति

गहुँ बालि भित्र्याउने समयमा आएको असिना पानीले पाकेको गहुँ खेतमै झारिदिएको छ भने मकैका बोटहरु भाँचिदिएको किसानले बताएका छन्। त्यसैगरि फलफुल खेतीमा पनि ठुलो नोक्सान भएको छ। आँप, लिची, कटहरलगायत फलफुल नष्ट भएका छन्।

भर्खरै फूल फुलेको र चिचिला लाग्न सुरु भएको फलफूलमा असिनाले ठुलो क्षति पुर्‍याएको निजगढ ५ का स्थानीय भोला ढुंगानाले जानकारी दिए।

तथ्यांक संकलन गरिदै

हुरी र असिनाकाले कृषि क्षेत्रमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्रका बाराका प्रमुख जितेन्द्र यादवले बताए। उनले तरकारी र फलफुल खेती बढी क्षति भएको जानकारी दिए। ‘कति क्षति भएको भन्ने बारेमा स्थानीय तहमार्फत तथ्यांक संकलन गरिने छ,’ प्रमुख यादबले भने–भोलिसम्म प्रारम्भिक तथ्यांक आउँछ।’

 घरको छानो उडायो

हुरीले जिल्लाका बिभिन्न स्थानमा घरका छाना उडाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी लंगडाको छाना उडाईदिएको छ। क्षतिको लगत संकलन भइरहेकाले तत्काल यकिन गर्न नसकिने जिल्लाका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।

फुस, जस्ता र खपडाका छाना भएका बिपन्नहरु हुरीबाट प्रभाबित भएका छन्। निजगढका दर्जन बढी घरको छानो उडाएको निजगढ वडा नं। ६ का वडा अध्यक्ष कुशबहादुर थापाले बताए।

हुरीले घरको छानो उडाएपछि बिचल्ली भएको बाराको निजगढ ४ पुरानो निजगढकी ममता धामीले सुनाईन्। ‘छानो उडाएपछि रातभर जाग्राम बस्यौं,’ धामीले भनिन्– गाउँका दाजुभाईहरुको सहयोगमा उडाएको जस्ता जम्मा गरेर छानो लगाउन सुरु गरेका छौं।’ 

त्यस्तै पीडा निजगढ ८ खयरघारीकी लक्ष्मीदेवी चौधरीको पनि छ। स्थानीय कुमार खड्काको घरमा भाडामा बस्दै आएका उनको १२ जनाको परिवार रातीदेखि नै छिमेकीको सरेका छन्। जस्ताको छानो उडाएपछि उनीहरुको विचल्ली भएको र घरभित्रका सबै सरसमान भिजेको लक्ष्मीले गुनासो गरिन्।

हुरीले निजगढ ४ का ८२ वर्षिय बिनाउ धामी बसेको घरमा लिच्चीको हाँगा भाचिँएर ठोक्किँदा घरमा क्षति पुगेको छ। उनी घरमा एक्लै बस्दै आएका थिए। एक्लै रात काटेका उनलाई विहान बुहारी फुलबारी देवी धामीले बोलाएपछि मात्र घरबाट निस्केका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.