|

बारा : निमा थिङ यतिबेला साथीसँग खेलिरहेका हुन्थे। वर्ष दिनदेखि नभेटेका साथीसँग रमाइरहेका हुन्थे उनी यसबेला। तर गाउँ फर्किएर रमाइलो गर्ने, उफ्रने, दौडनेजस्ता उनका एउटै चाहना पनि पूरा भएनन्‌। १३ दिनअघि गाउँ फर्किएका उनी एक्लै छन्। 

बुवाआमासँगै गाउँ फर्किएका १० वर्षीय निमा गाउँ आफ्नै घरमा पस्न पनि पाएका छैनन्। अब यो पटक साथीहरूसँग खेल्ने रहर त त्यस्तै भयो। क्‍वारेन्टाइनमा पनि बाबुआमाबाट छुट्याएरै राखिएको छ निमालाई।

निमाका बुवाआमा ललितपुरको ठेंजु हनुमान इँटाभट्टामा काम गर्छन्। भट्टा नजिकैको श्री ब्राह्मणी आधारभूत विद्यालयमा उनी कक्षा एकमा पढ्छन्। वार्षिक परीक्षा दिइसकेका उनी 'रिजल्ट'को पर्खाइमा थिए।

तर कोराना भाइरसका कारण देशभर लगाइएको लकडाउनले काम बन्द भएपछि बुवाआमासँगै उनी घर गए। काठमाडौंबाट तीन दिनको पैदलपछि गृहजिल्ला बाराको निजगढ १० घैयाखोरिया टोल आइपुगेका छन् उनी। तर गाउँमा उनीहरू पुगेको खबर पाउनासाथ निजगढ नगरपालिकाका स्वास्थ्यकर्मी 'थर्मल गन' बोकेर पुगेहाले।

पालैपाले सबैको ज्वरो परीक्षण गरियो। निमालाई १०२ डिग्री ज्वरो देखियो। त्यसपछि निमालाई बुवाआमाबाट छुट्याइयो। गाउँकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वडा कार्यालयले बनाएको 'क्‍वारेनटाइन'मा उनलाई राखियो। निमालाई दुई दिनसम्म ज्वरो देखियो। तर उनको स्वास्थ्यमा कुनै समस्या भने नदेखिको रतनपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दिनेश परियारले बताए। काठमाडौंबाट सँगै फकिएका अरू चारजना पनि निमासँगै कोठामा छन्।

वडा कार्यालयको छलफलमा बोलाउँदा उनले बुवासँग टाढैबाट बोल्न भने पाए। त्यसयता उनले बुवाआमालाई भेट्न पाएका छैनन्। निमाको परिवार आर्थिक रूपले विपन्न छ। उनको परिवार प्रत्येक वर्ष मंसिरमा इँट्टाभट्टामा काम गर्न काठमाडौं जाने गर्छन्। र बर्खा सुरू हुनुअघि नै घर फर्किने गर्छन्। यहाँका १६ जना यसैगरी घर फर्किएका थिए।

निमाको परिवारमा पढेलेखेका कोही छैनन्। गाउँ फर्किंदा गाउँकै विद्यालयमा भर्ना हुन्छन्, काठमाडौं जाँदा उतैको विद्यालयमा। सिजनमा मात्र काम हुने भएकाले शैक्षिक सत्र सुरू भएको ८ महिनाछि निमा इँटाभट्टा छेउको स्कुल पुग्छन्। नियमित कक्षाभन्दा पनि उनी इँटाभट्टामा आमाबुवासँगै हुन्छन्। उनी पनि काम गर्छन्। पैसा कमाउन थालिसकेका छन्।

क्‍वारेन्टाइनमा निमालाई भेट्न उनका बुवाआमा दोस्रो दिन पुगेका थिए। घर जान जिद्दी गरेका थिए। तर नियमअनुसार १४ दिन निमा त्यहीँ बस्नुपर्ने थियो। निमाका बुवा रामबहादुर फेरि सातौं दिन आउने बाचासहित घर हिँडे। त्यही सात दिनको समय कुरेर बसिरहे निमा।

रमाइला छन् निमा 

क्‍वारेन्टाइनमा उनी एक मात्र बालक छन्। स्वास्थ्यकर्मी परियार उनीसँग ‘पुन्टे भाइ’ भन्दै जिस्किरहन्छन्। ‘चञ्चले स्वभावका निमा रमाइलो गर्न खोज्छ,’ परियार भन्छन्, ऊ एकदम बाठो छ।’

परियारका अनुसार निमाले क्‍वारेन्टाइनको नियम छिट्टै बुझे। निमालाई त्यहाँ मानिसले कोरोनाबारे जानकारी दिइरहेका हुन्छन्, यसबाट बच्ने उपाउने पनि उनलाई बुझाइएको छ।

क्‍वारेन्टाइनबाट निस्केपछि घरमा खसी काटेर खाने योजनामा छन् निमा। घर जाने दिन नजिकिँदै गएको भन्दै उनी फुरुंग पनि छन्। स्वास्थ्यकर्मी परियार निमालाई जिस्काउँदै भन्छन्, ‘नाच न त।’ निमा लजाउँछन्। भन्छन्, ‘फेरि ज्वरो आयो भने यहीँ बस्नुपर्छ।’

घर गएपछिको योजना बनाइरहेका निमा साथीसँगको रमाइलो सुनाउँछन्। क्‍वारेन्टाइनबाट फर्केपछि पनि एक हप्ता डाक्टरले ननिस्कनू भनेको याद छ उनलाई। घरमै सुरक्षित बस्नुपर्नेमा उनी सचेत भइसकेका छन्। तर बेला बेलामा डराएको पनि देखिन्छ उनको अनुहारमा।

क्‍वारेन्टाइनमा बसेदेखि जम्मा एउटा मात्र कपडा फेरे उनले। उनीसँग एउटा स्कुलको सर्ट, टिसर्ट र कट्टु मात्र छ। कट्टु पनि पुरानो भइसक्यो, जालीजस्तै।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.