गर्मीमा पंखासमेत छैन

|

बारा :  वैशाख पहिलो साताबाट गर्मी बढेको छ।  दिउँसो चर्को घाम छ। शुक्रबारदेखि साँझ हावाहुरी र असिना पर्‍यो। त्यसयता प्रत्येक साँझ हुरी आइरहेको छ। 
विद्यालयको जस्तापाताको छानो भएको ट्रष्ट भवनभित्र दिउँसो जस्ता तातेर बसिनसक्नु हुन्छ।

कोठामा पंखा पनि छैन। हुरी चलेपछि सत्तो उठ्छ, त्यसमाथि आकाशबाट बर्सिने ठुला–ठुला असिना ठोक्किएको आवाज अझै डर लाग्दो हुन्छ। त्यसपछि मौसम चिसिन्छ तर ओढ्ने छैन।

यस्तै, अवस्थामा जिल्लाभरका क्वारेन्टाईन निर्माण भएका छन्। अधिकांश क्वारेन्टाइन विद्यालयमा निर्माण भएका छन्। बाराको निजगढ नगरपालिका–११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कोरोना भाइरस कोभिड–१९ को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बनाईएको क्वारेन्टाइनमा इँट्टाभट्टाकी मजदुर अस्तुर्नी गुरोले बिताइएकी छिन्।

त्यस्तै अवस्था गुजार्नेमा उनीसहित ८ जनाले ७ दिन बिताएका छन्। ‘हावाहुरी चल्दा डर लाग्यो,’ अस्तुर्नीले भनिन्–एउटा सानो बच्चासहित हामी एउटा कोठामा तीन जना मात्र थियौं। त्यतिबेला विजुली पनि कट्यो। हामीले गफ गरेरै रात कटायौं।’ कोठामा पंखा नहुँदा समस्या भएको सुनाइन्। धेरै गर्मी भएपछि बाहिर निस्केर बस्ने गरेको उनले दुखेसो पोखिन्।

अस्तुर्नीसँगै भट्टामा काम गर्ने उर्मिला गुरो पनि सानो छोरा रितिक सहित क्वारेन्टाइनमा बसेकी छिन्। उनको पति त्यस्तै  अर्को कोठामा छन्। गाउँकै अर्की मजदुर निलिसा कोठाको दक्षिणतर्फको बेडमा छिन्।

बीचमा रहेकी उर्मिलाको आमा–छोरालाई माछामासु खान मन लागिसक्यो। ‘यहाँ खान नपाईने नियम छ,’ उर्मिलाले भनिन्–खाना ल्याउनेलाई माछामासु र अण्डासमेत नदिनु भनेको छ। मन लागेर मात्र के गर्नु?’

नगरपालिकाको आह्वानमा वडा कार्यालयले ५ बेडको क्वारेन्टाइन निर्माण गरेको थियो। अहिले यहाँ १७ जना मजदुर क्वारेन्टाईनमा बसेका छन्। दुई वटामा ८ जना छन् भने बाँकी विद्यालयको पक्की भवनमा राखिएको छ। पक्कीमा बसेकालाई हुरी र असिनाको चिन्ता नभए पनि गर्मीले भने समस्यामा पार्ने गरेको छ। विद्यालयको ५ वटा कोठामा क्वारेन्टाईन निर्माण गरिएको वडा अध्यक्ष प्रेमबहादुर रुम्बाले जानकारी दिए।

पाँच वटै कोठामा फाइन अवश्यक नभएको गुनासो आएको अध्यक्ष रुम्बाले बताए।  ‘पानी परेपछि राती चिसो हुन थालेकाले ओढ्ने पनि माग गरेका छन्,’ अध्यक्ष रुम्बाले भने, 'अप्ठेरो अवस्थामा क्वारेन्टाइन सञ्चालन गरिएको छ। नगरले ५ वटा मात्र बनाउन भनेपनि १७ जना कसरी व्यवस्थापन गर्ने ? नगरले आवश्यक सामाग्री व्यवस्थापन नगरेकाले वडाले नै खरिद गरेर बिल पठाउने योजना बनाएको छु।’ 

क्वारेन्टाइनको अनुगमन

क्वारेन्टाइनको निजगढ नगर प्रमुख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले छुट्टाछुट्टै अनुगमन गरेर फर्किएका छन्। अनुगमनमा आएका बेलामा वडा अध्यक्षहरुले गुनासो पोख्दै आएका छन्। ‘ट्रष्टमा बस्न समस्या भएको मैले पनि महसुस गरेको छु,’ नगर प्रमुख खनालले भने, 'आवश्यक सामाग्रीसहित अर्को भवनमा सार्नका लागि भनेको छु।’ 

उपप्रमुख लामिछानेले नगरस्तरिय दुई वटा र प्रत्येक वडामा क्वारेनटाइन निर्माण गरिएपनि अहिले त्यसको व्यवस्थापका लागि मर्जर गर्न सुरु गरिएको बताइन्। क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सहज होस भनेर मर्जर गर्ने गर्न सुरु गरिएको उनले जानकारी दिईन्। नगरभित्र निर्माण भएका १४ वटा क्वारेन्टनमध्ये ४ वटा मात्र क्वारेन्टाइन प्रयोगमा आएका छन्। 

मापदण्ड पुग्दैन
जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइन मापदण्ड पुरा भएका देखिदैन्। हतारहतार गरेर विद्यालयहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा बेड, शौचालय, स्वास्थ्यकर्मी जनशक्तिको मापदण्ड पुर्‍याउन नसकिएको हो। बारामा १७ वटा क्वारेन्टाइनमा ४ सय ३९ बेड क्षमता रहेको भने ४८ वटा  आइसुलेसन बेड रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयको अनुसार २ जना आइसुलेसनमा रहेका छन् भने दुई सय २ जना क्वारेन्टाइ र दुई सय ४ जना होम क्वारेन्टाइनमा रहेका छन्। त्यसैगरि हालसम्म ६५ जनाको स्वाव संकलन गरिएकोमा ६३ जनाको नेगेटिभ देखिएको भने २ जनाको रिर्पोट आउँन बाँकी छ। त्यसैगरि एक सय १५ जनाको आरडिटी परीक्षण गरिएमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.