|

बारा : बाराको निजगढ–५ खोल्मा टोलस्थित रहोवत गाई फर्म सञ्चालन गर्दै आएका व्यावसायिक किसान जोडी सन्तबहादुर मोक्तान र फुलमाया बल तनावमा छन्।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेयता दुई वर्षदेखि थालेको व्यावासयिक गाईपालन कसरी टिकाउने भन्ने चिन्ताले पिरोलेको छ।

फर्ममा १३ वटा गाई छन्। दैनिक सय लिटर दूध उत्पादन हुन्छ। त्यसबाट मासिक एक लाख ५० हजारसम्म आम्दानी हुने भएपछि बैंकबाट ऋण गरेर व्यवसाय विस्तार गर्दै लगेका छन्।

घरछेउमा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध संकलन केन्द्रमा दूध बिक्री हुने भएपछि उनको फर्ममा २० लाखको लगानी भइसकेको छ। आम्दानी राम्रै हुनेभएपछि बैंकको व्याज, घरखर्चदेखि बचतसमेत हुँदै आएको थियो।

लकडाउनले सुरु भएयता उत्पादित दुग्ध बिक्री हुन छाडेको छ। संस्थाले सूचना प्रकाशित गरेर दुग्ध सङ्कलन बन्द गरेको जनाएको छ। डेरी उद्योगहरुबाट दुग्ध उठाउन नसक्ने भएपछि दुग्ध संकलन बन्द गरिएको अध्यक्ष थानेश्वर सापकोटाले बताए।

‘देशभरि कोरोना संक्रमण बढिरहँदा दुग्ध ढुवानीको साधनमार्फत कोरोना सर्ने उच्च जोखिमसमेत देखिएको छ,’ अध्यक्ष सापकोटाले भने, ‘हाल पाउडर उद्योगसमेत निरन्तर सञ्चालन हुन नसकेकोले डेरी उद्योगले दुग्ध लैजान छाडेका छन्।’ संस्थाले ११ वटा शाखामार्फत दैनिक ६ हजार लिटर दुग्ध सङ्कलन गर्दै आएको थियो।

खेतमा पोख्दै दूध

संस्थाले दुग्ध संकलन गर्न छाडेपछि व्यावसायिक दुग्ध किसानलाई दूध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ।  पहिलो एक हप्ताको लकडाउनभर सन्त दूध बोकेर बारीमा खन्याउँथे। ‘जहाँ पायो त्यहाँ फाल्दा पनि गन्हाउने भएकाले खेतमा लगेर बगायौं,’ सन्तले भने–‘त्यसरी ७ सय लिटर दूध खेतमा बगाएँ।’ एक हप्तापछि लकडाउन खुल्ने आशामा रहेको सन्तलाई पुनः एक हप्ता थपिएपछि झन् तनाव थपियो।

४० रुपैयाँ लिटरमा बेच्दै

सन्त केही दिनयता साइकलमा दूध बोकेर बजार क्षेत्रका टोलमा पुगे। ‘ सधैँ त दूध खेतमा बगाउनु हुन्‍न भन्ने लागेपछि आफैँ बेच्न हिँडे,’ सन्तले भने–‘सस्तोमै बिक्री गर्न थालेको छु।’

सहकारीमा नबिकेपछि उनले गाउँमा डुलाएर ४० रुपैयाँ प्रतिलिटरमा बेच्न थाले। नगरपालिकाले एक हप्ता थप कडाइ गरेपछि कृषिलाई केही खुकुलो गरेपछि मोटरसाईकलमा क्यान राखेर दूध बिक्री गर्दै आएका छन्।

विदेशको दु: र गाईफर्मको कहानी

वैदेशिक रोजगारीबाट फर्केर सुरु गरेको उनले पशुपालन व्यवसाय सुरु गरेका थिए। उनी दुई पटक गरी मलेसियामा तीन वर्ष काम गरेका उनले वैदेशिक रोजगारी चित्त नबुझेर फर्किएका थिए। नेपालमै केही गर्नुपर्छ भनेर फर्किका उनी केही समय घरका पिल्लरहरूमा बुट्टा भर्ने काम पनि गरेका उनले तर पत्नी फूलमाया भने पशुपालनमा केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेकी थिइन्।

उनै फूलमायाको त्यो सानो प्रयास आज व्यावसायिक गाई फर्ममा परिवर्तन भएको छ। फूलमायाको जुक्तिले गाईपालन व्यवसायको सुरुवात एउटा स्थानीय गाईबाट सुरु गरेकी थिईन्। त्यसलाई बढाउँदै स्थानीय गाईको ठाउँमा उन्नत गाई पाल्न थाले। घरमा सुरुदेखि एउटा भैँसी र गाई थियो।

उनीहरूले त्यसलाई बेचेर गाई पाल्न सुरु गर्दा फूलमायालाई पति सन्तले साथ दिए। व्यावसायिक गाई पालनका लागि फूलमायालाई परीक्षा दिनुपर्‍यो एउटा गाई परीक्षणका रुपमा पालिन्। घरमा गाई पाल्दा नफान्ने भएकाले सन्तबहादुर गाई पालन गरेर रिक्स मोल्न चाहदैथे।

‘गाई फाप्दैन, गाई नपाल्ने बरु भैसी पाल्ने भन्नुहुन्थ्यो, फूलमायाले सुनाइन् 'तर मलाई भैँसी मन पर्ने थिएन।' फूलमायाले गाई नै पाल्ने अठोट गरेपछि सन्तबहादुरले परीक्षणका रुपमा एउटा गाई पाल्न साथ दिए। एउटा गोठ बनाएर गाई पालनको सुरुवात भयो। गाईको दूधबाट आम्दानी हुने देखेर सन्तबहादुरले गाई बढाउन थाले। मासिक डेढ लाख आम्दानी लगानी बढाउँदै एउटैको लाख पर्ने गाई हाल्न थाले।

विना धितो गाउँकै बागदेव दुग्ध उत्पादक सहकारीले ४ वटा गाई खरिद गर्न ऋण उपलब्ध गरायो। त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकबाट १५ लाख ऋण निकालेर गाई थपेका छन्। मासिक ६ प्रतिशत ब्याजदरमा ऋण लिएका उनले त्रैमासिक रूपमा किस्ता र ब्याज गरेर ९७ हजार बुझाउँछन्।

उनीहरूले सिजन अनुसारका विभिन्न प्रजातिका घाँस खेती गर्छन्। फर्ममा ८० हजारदेखि डेढ लाख २० हजार मूल्य बराबरका गाईहरु छन्। ३५ हजार मूल्य बराबरका स्थानीय प्रजातिका दुईवटा गाई छन्। फर्ममा होलस्टेन, नाशानावल र होलस्टेन र नशानावल क्रस गरेर जन्मिएका गाई छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.