|

पर्सा : विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट देशवासीलाई बचाउन गरिएको लकडाउन उल्‍लंघन गर्ने ७०७ सवारीसाधन पर्सामा कारबाहीमा परेका छन्। लकडाउन सुरु भएको गत चैत ११ गतेबाट ११ वैशाख अर्थात एक महिनामा कारबाहीमा परेका हुन्।

लकडाउन उल्‍लंघन गरी सडकमा गुडेका ती सवारीलाई कारबाही गर्दा पर्सामा ३ लाख ६५ हजार ५०० रुपैयाँ राजस्‍व संकलन भएको छ। अटेर गरी सवारी चलाउनेहरुलाई सामान्य कारबाही गर्दा यो राजश्‍व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कमलराज पण्डितले थाहाखबरसँग बताए।

बढी कारबाही भोग्नेमा मोटरसाइकल

लकडाउन उलंघन गरी सवारी लिएर बाहिर निस्कनेमा सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेको उनको भनाइ छ।

लकडाउन सुरु भएको चैत ११ गतेबाट वैशाख ११ गतेसम्म एक महिनामा ६८५ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। त्यो अवधिमा ९ वटा ट्रक, ६ वटा पिकअफ भ्यान, ५ वटा अटो, एउटा बस र एउटा कार गरी कुल ७०७ वटा सवारी कारबाहीमा परेको उनको भनाइ छ।

'लकडाउन उल्‍लंघन गर्नेलाई एकैपटक जरिवाना गर्ने गरिएको छैन। सुरुमा सम्झाउने बुझाउने गरिएको छ। तर अटेर गररे निस्किए प्रथमपटक ५०० जरिवाना गरिन्छ। त्यति गर्दा पनि नटेर्ने दोस्रो, तेस्रो पटक उल्‍लंघन गर्ने भेटिएमा १ हजार ५०० सम्म जरिवाना गर्ने गरेका छौँ' ट्राफिक प्रहरी निरिक्षक कमलराज पण्डितले भने।

यो नियम ट्राफिक प्रहरीले मात्र नभई कोभिड १९ कमाण्ड पोष्ट पर्साको समन्वयमा बनाइएको पर्सा ट्राफिक कार्यालयले जनाएको छ।

सुरुसुरुमा लकडाउन उल्‍लंघन गर्ने र सम्झाउँदा अटेर गर्नेका सवारी नियन्त्रणमा लिएर वीरगन्जको घण्टाघर छेउको वीपी उद्यानको खाली जमिनमा राखिएका थिए। तर, नियन्त्रण लिएर त्यहाँ राखिएका सवारीमा हावाहुरी र वर्षाले क्षति पुर्‍याउने भएपछि सम्बन्धित मानिसलाई खबर गरी पुनः जरिवाना काटेर दिन थालिएको पर्सा ट्राफिक कार्यालयले जनाएको छ।

लकडाउनका समयमा अटेर गरी चलाएका सवारीमध्ये १३२ सवारी अझै पर्सा ट्राफिकै नियन्त्रणमा रहेको ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक पण्डितले बताए। लकडाउन उल्‍लंघन हुने क्रम भने अझै नरोकिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.