बारामा मकै उत्पादन बढ्यो, खपत हुन सकेन

|

बारा : जिल्लाको उत्तरी क्षेत्रका किसानलाई यतिवेला मकै भित्र्याउने धमाधम छ । किसान अहिले मकैको ढोडबाट घोगा भाच्ने, दाना निकाल्ने, सुकाउने र बिक्री गर्नमा व्यस्त छन्। व्यावसायिक रुपमा उन्नत जातको मकै खेती हुने बाराको उत्तरी क्षेत्र, कोल्हवी, जीतपुरसिमरा, निजगढलगायत क्षेत्रका किसानलाई अहिले भ्याईनभ्याई छ।

मौसम बदली भएर एकै दिनमा पटक–पटक पानी पर्न थालेपछि व्यावसायिक रूपमा उन्नत जातको मकै खेती हुने क्षेत्रका किसान मकै भित्र्याउने चटारोमा परेका हुन्।

किसानहरू बिहानदेखि बेलुकासम्म मकै थन्क्याउनमा व्यस्त छन्। चर्को घामको परवाह नगरी उनीहरू अहिले बाली पार लगाउन गोरुझैं जोतिएका छन्। किसानहरू सातादेखि खेतमै व्यस्त छन्।



उन्नत जातको मकै खेतबारीमा पाकिसकेकालाई चाँडै निकालेर बिक्री गर्न सके राम्रो मूल्य पाउने भएकाले किसान मरिमेटेर लागि परेको निजगढका साजन ढुंगानाले बताए।

‘मकै भित्र्याउने सिजन भएकाले हामी खेतमै व्यस्त छौं, हाम्रो अहिलेको दैनिकी खेतमै बितिरहेको छ, यो बेला कामको व्यस्तताले कसैसँग भेट्ने फुर्सदसमेत छैन,’ उनले भने, ‘बाली भित्र्याउने समयमा पानी परेर हैरान भएका छौं।’

बाह्रै महिना सिँचाइ सुविधा पाएका यस क्षेत्रका किसानले मकै खेतीबाट राम्रो आम्दानी गर्छन्। वर्षको सुरुमा मकैको मूल्य राम्रो पाए पनि दिनप्रतिदिन मूल्य घट्दै गएपछि किसान चिन्तित छन् । केही दिन अघिसम्म प्रतिक्विन्टल ३ हजार एक सय ५० रुपैयाँको दरले मकैको मूल्य पाएका किसानले अहिले प्रतिक्विन्टल २ हजार ७ सय ५० मै बिक्री गर्न बाध्य छन् ।

यो वर्ष मकै बजारको समस्या हुने देखिएको छ। सरकारले मूल्य पनि तय गरेको छैन। उन्नत जातका मकै भएकाले बढी समय घरमा राख्न पनि मिल्दैन। उत्पादनको मुख्य समय भएकाले मकैको मूल्य घट्दै गएको व्यापारीहरूले बताएका छन्।

खेतबारीमा पाकिसकेको मकै समयमा नटिपे बजार भाउ नपाउने, उन्नत जातका मकै भएकाले हावा हुरीले भुइँमा लडाएको छ। केही दिन त्यसै रहे कुहिने समस्याले समयमै यसलाई भित्र्याउनुपर्ने अवस्था छ।

खपत खट्यो

उन्नतजातको मकै कुखुराको दानको लागि बढी प्रयोग हुन्छ। मकै उत्पादनको ८० प्रतिशत पोल्ट्री उद्योगमा खपत हुने गरेको व्यावसायिहरु बताउँछन्। लकडाउनका कारण पोल्ट्री उद्योग ठप्प हुने अवस्थामा पुगेकाको छ।

चल्ला उत्पादनका लागि आवश्यक प्यारेन्ट भारतसहित तेस्रो मुलुकमा आउने भएकाले अन्तर्राष्ट्रिय उडान बन्द भएकाले आयात हुन नसक्दा दानाको खपत घटेको छ।

उत्पादन बढ्यो

यो वर्ष मकैको खेती बढेको छ। गत वर्ष भारतबाट निर्वाचन भएकाले भारतबाट आयात हुने पाएन्। भारतमा मकैको उत्पादन समेत घढेका कारण नेपाली किसानले मकैको राम्रो मूल्य पाए। ३५ रुपैयाँसम्म प्रतिकिलोका दरले मूल्य पाएपछि गहुँ लगायतका बाली छाडेर यो वर्ष मकैको खेती गर्ने बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.