|

धादिङ : लकडाउनका कारण गोलभेंडा बेच्न नसकेपछि धादिङ गल्छी गाउँपालिकाका किसानले फलिरहेको गोलभेंडा जोतेर बारीमा मकै छर्न थालेका छन्।

बजारको अभावले गोलभेंडा बिक्री हुन छाडेपछि फलिरहेको बोटसहित जोतेर मकै रोप्न थालेको गल्छी गाउँपालिका कल्लेरीटारका कृषक रामकृष्ण खतिवडाले बताए। एक पटक पनि नबेची  गोलभेंडा लगाएको ठाँउमा ट्रयाक्टर लगाएर मकै रोपेको उनले बताए। गोलभेंडा मात्रै होइन वन्दा पनि नविकेपछि भैसीलाई खुवाएको उनि बताउँछन्

एक रोपनी जग्गामा लगाएको वर्णशंकर जातको गोलभेंडा चैत अन्तिम हप्ताबाट  वैशाख तेस्रो हप्तासम्म टिपेर ८० हजार जति कमाई गर्ने आशा बोकेका सोही स्थानका वाशुदेव खतिवडाको आशा कोरोना सन्त्रासको कारण निराशामा बदलिएको हो।

२० हजार लगानी गरेर गोलभेंडा रोपेका थियौं। बजारमा व्यापारीले गोलभेंडा नकिन्ने भनेपछि गोलभेंडा लगाएको जग्गामा जोतेर मकै रोप्नुपरेको उनले बताए।

सोही ठाउँका सुब्‍बा श्रेष्ठ पनि २० हजारभन्दा बढी लगानी गरेर गोलभेंडा खेती गरेकोमा  बेच्न नपाएको बताउँछन्। डेढ रोपनीमा गोलभेंडा खेती गरेका बलराम खतिवडाले जम्मा २० केजी मात्र गालभेडा बेचर बारी जोतेर मकै रोपेको बताउँछन्।

स्थानीय जातको गोलभेंडा खेती गरेको र श्रम आफैँले गरेकाले सात हजार मात्र लगानी परेको छ। यहाँका प्राय सबै परिवारले आफ्नो खेतबारीमा लगाएको तरकारी बेच्नै नपाई अहिले खनजोत गरिरहेका छन्। गोलभेंडासहित अन्य तरकारी बाली मासेर मकै रोप्न थालेको कल्लेरीटारका अर्का किसान रामबहादुर कार्कीले पनि बताए। 

 गल्छी गाउँपालिका-७ डल्टारका कृषक उत्तम धितालले गत वर्षको तुलनामा यो वर्ष एक तिहाइ मूल्यमा  पनि बिक्न गाह्रो परेको बताए। धितालले काँक्रो बेच्न नपाएपछि त्यत्तिकै खेर फाल्नुभन्दा काठमाडौंबाट पैदल यात्रा गरेर घर फर्केकाहरूलाई वितरण गरेको  सुनाए।

गत वर्ष ४५ देखि ५० रुपैयाँसम्ममा बिकेको काँक्रो अहिले १२ रुपयाँसम्म र गत वर्ष ३५ देखि ४० रुपैयाँमा विकेको गोलभेंडा १५ रुपैयाँसम्म मुस्किलले  बिकेको उनी बताउँछन्। बिक्री गर्ने मुख्य समयमा बजार नभएका कारण कल्लेरीटारका अधिकांश किसानले तरकारी मासेर मकै छर्न थालेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.