आमासहित दुई छोरा प्रहरी नियन्त्रणमा

|

पाल्पा : जिल्लाको तानसेन नगरपालिका–६ बर्तुङस्थित निजी मेडिकलले लागुऔषध बिक्री गर्दै आएको खुलेको छ। सरस्वती मेडिकल हलबाट गाँजा र ‘ट्रामाडोल’ नामक लागुऔषध बिक्री गरेको पाइएको छ। 

उक्त मेडिकल हलबाट ठूलो मात्रामा गाँजा र ट्रामाडोल बरामद भएको छ। ट्रामाडोल अवैधानिक औषधि हो। यसलाई अधिकारप्राप्त अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले दिएको सिफारिसबिना बिक्रीवितरण गर्न नपाइने कानुनमा उल्लेख छ। गाँजा र ट्रामाडोल बिक्रीवितरण गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

स्थानीय चिन्तामणि पाण्डेको नाममा दर्ता रहेको मेडिकल हल व्यवसाय गर्दै आएकी स्थानीय सरस्वती खनाल कार्की, उनका छोरा विवेक र प्रकाश कार्कीलाई शनिबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। मेडिकल हलबाट करिब तीनसय ग्राम गाँजा र उनीहरूको घरबाट ३ हजार २ सय ९५ वटा ट्रामाडोल क्याप्सुल बरामद भएको उनले बताए।  

श्रेष्ठका अनुसार सरस्वती सिएमए हुन्। भने छोरा विवेक फार्मेसी अध्ययनरत विद्यार्थी हुन्। उनीहरू दुवै जना तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा समेत कार्यरत स्वास्थ्यकर्मी हन्। प्रकाश भने गाडी चालक हुन्। उनीहरू तीन जनाविरूद्ध लागुऔषध वेचविखन विरूद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरी निरीक्षक श्रेष्ठले बताए। विशेष सुराकी र अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

घटना यसरी बाहिरिएको थियो 

लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी यतिबेला सडकमा खटिएका छन्। यही क्रममा शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरीको गस्ती टोली तानसेनस्थित होलाङ्दी पुगेको थियो। त्यही समयमा तानसेन–बर्तुङ अन्तर्गत पर्ने सडक छेउमा ३ जना किशोर र ३ जना किशोरी बसिरहेको प्रहरीले देख्यो।

प्रहरीले नजिक पुगेर अवस्था बुझ्दा उनीहरू लागुऔषध नशामा लट्ठ थिए। सोही अवस्थामा उनीहरूको साथबाट ट्रामाडोल क्याप्सुल प्रहरीले फेला पार्‍यो। औषधि कहाँबाट खरिद गरियो? भन्नेबारे प्रहरीले तत्काल अनुसन्धान थाल्यो। ती सेवनकर्ताले नै दिएको बयानका आधारमा खरिद गरेको ठाउँ पत्ता लगाउन प्रहरीलाई सजिलो भयो। 

उनीहरूले दिएको बयानका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा तानसेन नगरपालिकाका प्रमुख डिल्लीराज बेलावासे, स्वास्थ्य शाखा प्रमुख झविन्द्रप्रसाद न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाको टोली सरस्वती मेडिकल हल पुग्यो। जहाँ थाहाखबरका पाल्पा समाचारदाता पनि पुगेका थिए।

प्रहरीले थालेको विशेष अप्रेसनमा मेडिकल हलबाट ठूलो मात्रामा गाँजा फेला पर्‍यो। जबकि प्रहरीले ट्रामाडोल नामक अवैध औषधि खोजिरहेको थियो। गाँजा भेटिएको केही समयमा ट्रामाडोल पनि फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मेडिकलमा ठूलो मात्रामा गाँजा र ट्रमाडोल पनि फेला परेको थियो। 

प्रनि श्रेष्ठका अनुसार मेडिकल हल रहेको कोठामा गाँजा थियो। ‘राइसकुकर राख्ने प्याकेटभित्र सेतो बट्टामा लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको हो’, उनले भने, ‘मेडिकलबाट केही टाढा रहेको घरमा खानतलासी गर्दा ठूलो मात्रामा ट्रामाडोलको क्याप्सुल फेला परेको छ।’ विवेक सुत्ने कोठामा रहेको बाकसभित्र कपडाले छोपेर लुकाइ राखेको अवस्थामा ट्रामाडोलका क्याप्सुल फेला परेको उनले बताए। 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.