|

पर्सा : दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएका वीरगन्जका २ संक्रमितसँग सम्पर्क रहेको आशंकामा थ्रोट स्वाब संकलन गरिएका मध्येबाटै फेरि पर्सा र बारामा तीनजना संक्रमित भेटिएका छन्। सोमबार र मंगलबार संकलित १२४ जनाको स्वाब परिक्षण गर्न पठाइएका मध्येबाट थप चार जनामा संक्रमण भेटिएको हो। 

१२४ मध्ये सबैको रिपोर्ट आइनसकेको वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट ( मेसु ) डा. मदनकुमार उपाध्यायले बताए। तर यस्तै अवस्था हुने हो भने सबैको रिपोर्ट आइसक्दा अझ संक्रमितको संख्या बढ्न सक्ने उनको भनाइ छ।

संक्रमित भेटिएका दिल्ली जमातीमा गएको खुल्दै

संक्रमितमध्ये वीरगन्जको घुसुकपुरका ५५ वर्षीय पुरुषसँगै भारतको दिल्ली जमातीमा गएर फर्किएका बाराको जितपुरसिमरा ११ का २ पुरुष रहेको जनाइएको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका अर्का संक्रमित भने भारतीय जमातीसँगको सम्पर्कमा पुगेको खुलेको हो। बुधबार पुष्टि भएको यो संख्यासँगै मुलुकभर संक्रमितको संख्या ५७ पुगेको हो।

वीरगन्जमा मात्र ८ जना संक्रमित

वीरगन्जमा चैत ३० गते फेला परेका ३ भारतीय जमातीसहित बुधबार पुष्टि भएका चार जनासँगै संक्रमितको संख्या ९ पुगेको छ। जसमा ३ जना स्थानीय हुन्। स्थानीयमध्ये पनि एकजना वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारी नै हुन्। उता बारामा पनि २ स्थानीयमा कोरोना संक्रमण देखिएपछि अब बारा, पर्सा र रौतहट तीनै जिल्ला चोखो रहेनन्। रौतहटमा योभन्दा अगाडि नै ३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस क्षेत्रका तीनवटै जिल्लाका स्थानीयमा कोरोना पुष्टि भएपछि सर्वसाधारण त्रसित भएका छन्। झन वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा कार्यरत श्रमिकहरु तिनवटै जिल्लाका मानिस पुग्ने भएको कारणले कुनै एक उद्योगका श्रमिकलाई कोरोना भेटिए एकैपटक हरेक गाउँ कोरोनाबाट गाँजिन सक्ने खतरा बढेर गएको बाराको सिमराकी लक्ष्मी खरेलले बताइन्।

कन्ट्याक ट्राभेलिङ हिष्ट्री खोतल्दै जाँदा संक्रमित थपिँदै

गएको १४ गते पर्सामा फेला परेका २ जना संक्रमितको कन्ट्याक ट्राभेलिङ हिस्ट्री खोतल्दै जाँदा जितपुरसिमरा उपमहानगरपालिकाको क्वारेन्टाइनमा राखिएका केही मानिस पनि सम्पर्कमा आएको भेटिएको थियो। 'उनीहरुको पनि स्वाब संकलन गरी पठाएकोमा उनीहरु मध्येबाटै २ जनामा संक्रमण भएको सुनिँदै छ' जनस्वास्थ्य पर्साका निरीक्षक तथा कोरोना कोअर्डिनेटर जयमोद ठाकुरले भने।

स्वास्थ्य मन्त्रालयले मुख नखोली वीरगन्जको नारायणी अस्पतालले पुष्टि गर्न नमिल्ने हुँदा स्थानीय सञ्‍चारकर्मी र सर्वसाधारणलाई यहाँबाटै स्वाब संकलन गरी पठाइएका व्यक्तिको रिपोर्टका बारेमा पनि फ्याट्ट भन्न नमिल्ने जनस्वास्थ्य निरीक्षक ठाकुरले बताए।

संक्रमितलाई नारायणी अस्पताल ल्याइँदै

संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डमा ल्याइँदै गरेको छ। यो संख्यासहित अब नारायणी अस्पतालमा उपचार गराउने संक्रमितको संख्या ८ पुगेको छ। ३ भारतीय जमाती र रौतहटका एक युवक भने वैशाख १४ गते आइतबार डिस्‍चार्ज भएर गइसकेका छन्।

यो संख्या पनि जोड्ने हो भने नारायणी अस्पतालमा उपचार गराउनेको संख्या १२ पुगेको छ। जिल्लागत रुपमा हेर्ने हो भने वीरगन्जका ६, बाराका २, रौतहटका ३ र सर्लाहीका एक जना नारायणी अस्पताल भर्ना भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.