सबै कामदार भारतीय भएकाले पठाउन सकिँदैन : प्रशासन

|

पाल्पा : भारतको विहार घर भएका कैलाश झा ३ महिनादेखि सिजी कम्पनीमा मजदुरी गर्दै आएका छन्।

नेपालमा लकडाउन घोषणा भएलगत्तै उनले गर्दै आएको काम पनि बन्द भयो। त्यसयता उनले तलबसमेत पाएका छैनन्। करिब दुई महिनादेखि काम गर्न नपाएका उनी यतिबेला घर जान खोजिरहेका छन्। तर जान पाएका छैनन्। निर्माणको काम गर्दै आएका अर्का मजदुर भारतको केरलाका अनिल कुमारको पनि अवस्था उस्तै छ।

‘खान बस्न त मिलेको छ’, उनले भने, ‘काम बन्द भएपछि तलब पाइएको छैन।’ तीन महिनाअघि आएका उनले जेनतेन एक महिना काम गर्न पाए। त्यसलगत्तैको लडाउनका कारण उनी पनि घर जान खोजिरहेका छन्। बोर्डर पार गर्ने व्यवस्था मिलाइदिन उनले सरकारसँग आग्रह गरे, ‘कि हामीलाई काम चाहियो, कि, घर जान दिनुपर्‍यो।’

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सर्देवास्थित सिजी कम्पनीमा काम गर्दै आएका मजदुरको एउटै समस्या छ। अधिकांश भारत घर भएका उनीहरूले गर्दै काम प्रभावित भएको छ।

उद्योगी विनोद चौधरीले सञ्चालन गर्न लागेको सिजी सिमेन्ट कम्पनीमा १२ सय बढी कामदार छन्। उनीहरू सबै एकै ठाउँमा टहरो निर्माण गरेर खाने बस्ने गरेका छन्।उनीहरू आयोकी फेव्रिकोन नेपाल प्रालिमार्फत काम गर्दै आएका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यहाँका १ हजारभन्दा बढी मजदुर प्रत्यक्ष प्रभावित भएका छन्। सयौंको संख्यामा मजदुर भएका कारण सर्देवामा लकडाउनको समेत पालना भएको छैन्। उनीहरू समूहमा घुम्ने, बस्ने गर्छन्। पसलमा समेत समूहमा जाने गर्छन्। अधिकांश मजदुरले नेपाली भाषा बोल्न जान्दैनन् र बोलेको पनि बुझ्दैनन्। जसले गर्दा लकडाउन कार्यान्वयनमा समस्या भएको स्थानीयको गुनासो छ।

ठूलो संख्यामा रहेका मजदुरको व्यवस्थापन नहुँदा सिंगो गाउँ कोरोनाको जोखिममा रहेको स्थानीय दिनेश पोखरेलले बताए। ‘गाउँका विभिन्न ठाउँमा ठूलो संख्यामा मजदुर घुम्ने गर्छन्, कसैले कसैलाई चिन्दैनन्, यो बिचमा बाहिरका कोही कोरोना संक्रमित मानिस आए पनि कसैलाई थाहा हुँदैन्,’ उनले भने ‘कि त काममा लगाउनु प¥यो। हैन भने घर पठाइदिनुपर्छ।’ पसलमा उनीहरूको भीड लाग्ने गर्छ। दूरी कायम गर्नसमेत अटेरी गरेको पोखरेलले बताए।

काम बन्द भएपछि मजदुरलाई सम्हाल्न कठिन भइरहेको सिजी कम्पनी सर्देवाका प्रशासन प्रमुख अशोक आचार्यले बताए। कम्तिमा कम्पनीभित्र काम गर्ने वातावरण मिले गाउँमा मजदुरको भीड कम हुने उनले बताए।‘काम पनि छैन। घरमा जान पनि पाएका छैनन्’, उनले भने ‘कोठामा बसिरहँदा समस्या भयो भन्दै जबरजस्ती बाहिर निस्कने गर्छन्।’

भनेको समयमा बाहिर जान नपाएको भन्दै शुक्रबार सबै मजदुर आन्दोलित भएका उनले सुनाए। आचार्यका अनुसार खान र बस्न भने कम्पनीले व्यवस्था गरेको छ। 
ठूलो संख्यामा रहेका मजदुरका कारण कतिबेला कस्तो खालको घट्ना घट्ने हो? भन्ने चिन्ता रहेको सर्देवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्रबहादुर श्रेष्ठले बताए।

‘कोरोना भाइसरको एउटा समस्या छ, समाजमा शान्ति सुरक्षाको अर्को चिन्ता छ’, उनले भने, ‘अधिकांश मजदुर अपरिचित छन्। गाउँमा कुनै घट्ना घट्न सक्छ। तत्काल सबै मजदुरलाई काममा वा घरमा व्यवस्थापन गर्न आवश्यक छ।’

सबै कामदार भारतीय भएका कारण घरमा पठाउन समस्या भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। ‘उनीहरूको बसाइ क्वारेन्टाइनजस्तै छ’, उनले भने, ‘सयौंको संख्यामा भएको कारण भीड व्यस्थापनमा कठिन भएको छ।’

भीडको व्यवस्थापन गर्न कम्पनीको मान्छेलाई भनेको उनले बताए।  सामाजिक दूरी कायम गरी आवश्यक स्वास्थ्य ख्याल गरेर काम गराउने वातावरण मिलाउन कम्पनीलाई भनिएको प्रजिअ सुवेदीले बताए।यता लकडाउनमा काम गर्दा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै स्थानीयले कम्पनीमा काम गर्न रोक लगाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.