चुक उत्पादनदेखि कलमी निकाल्नेसम्मका योजना

|

बारा : निजगढ ६ सडकटोलका रामशरण तिमल्सिनाले १२ वर्ष विदेशी भूमिमा पसिना बगाए। वैदेशिक रोजगारीका लागि सन् २००० मा दुबई पुगेका रामशरणले त्यहाँ ८ वर्ष बिताए। त्यहाँबाट फर्केर उनी पुनः अर्को देश–मलेसिया पुगे। ४ वर्ष मलेसियामा काम गरेका उनी ६ वर्षअघि स्वदेश फर्किए।

विदेश जानुअघिदेखि कुखुरापालन गर्दै आएका थिए। उनी विदेशमा छँदा त्यो काम पत्नी भगवतीले सम्हाल्दै आइन्। छोरा–छोरी हुर्काउँदै कुखुराको स्याहार गरिन्। त्यसबाट घरखर्च चलिरहेको थियो।

रामशरण विदेशबाट फर्केर कुखुराको खोरलाई गोठ बनाए र गाईपालनलाई विस्तार गरे। पहिलेदेखि नै घरमा दूध खान गाई पाल्दै आएका थिए। त्यसमा थपथाप गरेर उनीहरुले दैनिक ५० लिटरसम्म दूध बिक्री गरे। गत पुसमा रामशरण बिरामी परेयता गाई घटाइएको छ। भगवतीलाई मात्रै कामको बोझ थपिएपछि गाई बिक्री गरेर अहिले ५ वटामा सीमित गरिएको छ। गोठमा गाई र खेतमा धान, मकै खेती गरेर दुई वर्ष बित्यो।

बेमौसमी तरकारी खेती तालिम

कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढले उनीहरुको घरछेउमै बेमौसमी तरकारी तालिम आयोजना गर्न थालेको भगवतीले थाहा पाइन्। उनी तीन महिनाको तालिममा सहभागी भइन्। तालिमबाट सिकेको ज्ञानलाई सदुपयोग गर्दै घरसँगै जोडिएको ४ कठ्ठा जमिनमा उनीहरुले तरकारी खेती सुरु गरे।

उनको बारीमा लटरम्म टमाटर फले। बेमौसमा काउली फुल्यो। बारीमा फलेको तरकारी उनीहरुले बिक्री गरे। त्यो वर्ष उनीहरुले राम्रै आम्दानी गरे। स्थानीय बजारमा पुर्‍याउथे। घरबाटै पनि बिक्री हुन्थ्यो। तरकारी खेती गर्दा गर्नुपर्ने दुःख र बजार भाउमा हुने उतारचढावले पछिपछि उनीहरुले सोचेजस्तो भएन्।

कागती खेतीको योजना

तालिममा भगवतीले बहुवर्षीय खेतीबारे पनि बुझेकी थिइन्। एक वर्ष लगाएको खेतीले वर्षौसम्म आम्दानी लिन सकिने खेतीबारेमा उनको मनमा योजना बन्यो। पतिसँग सल्लाह गरेर कागती खेतीबारे बुझ्न सुरु गरिन्। तालिम आयोजना गरेका कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका प्रवन्ध निर्देशक सरोज कोईरालामार्फत कागतीको बिरुवा बिक्री गर्नेसँग सम्पर्क भयो। २०७४ जेठ १० गते बिरुवा रोपियो।

कागती खेती सुरु गरेको ३ वर्ष पुग्न लाग्यो। एक वर्षपछि बोट हलक्कै बढ्यो। फल्न सुरु गर्‍यो। गत वर्षदेखि व्यवसायिक उत्पादन दिन थालेको छ। बजारमा उच्च माग भएको सुन कागती फलाउन सके बजारको चिन्ता नहुने भन्दै गरेको कागती खेतीमा लागेका तिमल्सिना दम्पती पहिलो वर्ष निकै निराश भए।

१ लाख १२ हजार खर्च गरेर लगाएको विरुवा हलक्कै सप्रेर एक अर्कामा जोडिएपछि काट्नु कि राख्नु भन्ने दोधार भयो। त्यसपछि उनीहरु पर्ख र हेरको अवस्थामा पुगे। 

बाक्लो बोट, ठूलो दानाले चिन्ता

बजारमा पाइने सुनकागती गोलो आकारमा सानो र पहेँलो हुन्छ। त्यस्तै होला भनेर गरेको कागतीको फल उल्टो भइदियो। बोटदेखि फलसम्म सबै ठूलो। ‘१५ सय ३० बोट कागती लगाईएको थियो,’ रामशरणले भने–३ सय वटा भए पनि पुग्ने रहेछ।’

ठूलो कागती बिक्री नहुने चिन्ताले सतायो। अब रस कति आउने हो त्यसको चासो थियो। गाउँघरका साथीभाई र आफन्तले के गरेको यस्तो भनेर उल्टै निराशा थपिदिन थाले। 

‘एउटा विरुवा र अर्को विरुवाबीचको दूरी कम हुँदा त्यसले उत्पादनमा पनि प्रभाव परेको छ,’ रामशरणले भने–‘बाक्लो भएकोले मल, पानी, औषधि हाल्नेदेखि कसरी टिप्ने स्याहार्ने भन्ने समस्या थियो।’

असिनाले सास्ती

उत्पादन राम्रो भए पनि उनीहरुले प्रसस्त आम्दानी दिन पाएका छैनन्। गत वर्षभन्दा यो वर्ष झण्डै दोब्बर फल लाग्यो। वैशाख पहिलो साताको हावाहुरी र चट्याङले फलेको आधाभन्दा बढी भुइँमा झारिदिएको भगवतीले गुनासो पोखिन्। ‘अघिल्लो वर्ष पनि त्यस्तै भयो। असिनाले धेरै नोक्सान गरेको छ। यो वर्ष राम्रो आम्दानी हुने थियो। अहिले पनि बोटमा बाँकी रहेको जोगियो भने पनि पहिलो वर्षभन्दा त आम्दानी बढ्ने निश्चित छ’, उनले भनिन्।

कागतीको महत्व बढ्यो

कोरोना संक्रमण फैलिएपछि कागतीको माग बढेको छ। रोगसंग लड्ने क्षमता बढाउन कागती पानी महत्वपूर्ण हुने भएकाले माग बढेको हो। साउन पहिलो हप्ताबाट बिक्री गर्न सकिने कागतीको माग ह्वात्तै बढेको छ। बजारमा माग अनुसारको आपूर्ति हुन सकेको छैन। यता नेपाल कागतीमा परनिर्भरको अवस्थामा छ।

विस्तार गर्ने योजना

कागतीबाट राम्रै आम्दानी लिन सकिने र कसरी खेती गर्नुपर्ने रहेछ भन्ने अनुभव बटुलेका तिमल्सिना दाम्पनीले कागती खेती विस्तार गर्ने योजनामा छन्। ५ कठ्ठामा थप विस्तार गर्ने योजना रहेको रामशरणले  बताउँछन्। अरू खेती गर्दा वार्षिक २५ हजार आम्दानी हुने गरेकोमा अहिले कागतीबाट त्योभन्दा धेरै हुने भएकाले गाउँका अरू पनि आएर कागती खेती गर्न चासो देखाएका छन्। 

रामशरण अब आफ्नै बारीमा कागतीको विरुवा उत्पादन गर्ने सोचमा पुगेका छन्। प्राविधिक ज्ञान भएका व्यक्तिलाई ल्याएर कलमी विरुवा उत्पादन गरेर बिक्री गर्ने योजना रहेको उनले बताए।

एक पटक लगाएको कागतीले ७ वर्षसम्म उच्च दरमा उत्पादन दिने र १५ वर्षसम्म फल्ने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.