‘खोज थता नष्ट गर’ अभियानै चलाइने

|

बुटवल : बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै अब डेंगु रोगविरुद्ध पनि अभियान सुरु भएको छ। बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगु रोगको महामारीविरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ। 

कोराना महामारीसंगै डेंगुको महामारीको जोखिमसमेत बढेको भन्दै समुदायस्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो। महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगुबारे पनि सचेत गराउने बताइएकाे छ।

उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहत समुदायस्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अबलम्बन गर्दै डेंगुविरुद्ध अभियानमा सामेल गराउने तयारी भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए। महामारीका बेलामा विशेष काम गरिरहेको स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहतको क्रायसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) ले समेत यो अभियानमा पैरवी गर्ने छ। 

महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायबारे सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगुविरुद्ध पनि विशेष अभियान चलाउन सकिने छ।लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिने छ। यसखालका लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा अभियान चलाइने प्रमुख सुवेदीले बताए। 

डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयमसेविका, टोलविकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा आमसञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने बताए। 

केही दिनयता लगातार पानी परिरहेको छ। महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि लकडाउन छ। यो बेलामा ग्यारेजलगायत क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ। त्यसखालका लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ। यही बेलामा अभियान सञ्चालन गर्दा प्रभावकारी हुन सक्ने उनी बताउँछन्। 

अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए। उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको शर्माले बताए। सिंह नेतृत्वको टोलीले सरोकारवालासँगको सहकार्यमा प्राविधिक परिचालन गर्नेछ। र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्यचौकीलाई तम्तयारीमा राख्ने छ। 

हालको महामारी रोकथामका लागि यहाँका स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गरिएको छ भने दीर्घरोगीलाई घरघरमै औषधि पु¥याउनुका साथै स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाइएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.