१३ हजार ६ सय जनाले पाएनन् राहत

|

बुटवल : बुटवललाई दुई किनारमा राखेर बीचबाट बग्ने तिनाउ खोलाको पश्चिमी तटमा ठूलो सुकुमबासी क्षेत्र छ। बुटवल उपमहानगरपालिका वडा नं. ११ मा पर्ने यो क्षेत्र मजुवा, बुद्धनगर, तिलोत्तमा नगर, सिर्जना नगर जस्ता ठूला बस्ती र ससाना अन्य बस्तीहरू मिलेर बनेको हो।

बस्तीको तिलोत्तमा नगरभन्दा पूर्वपट्टि बगिरहेको तिनाउ नदीको ढिकमै नदीसँगैको समानान्तर दूरीमा राधा सेक्टर छ। त्यहीँ सेक्टरमा टिनले छाएको दुइकोठे घरमा २३ वर्षीय सुमन सुनार बस्छन्। घरको आँगन खोलामा बनाइएको ढुंगे बाँधमा गएर ठोकिन्छ।

सुमन आँगनको डिलमै बसेर तलपट्टि तीव्र बेगमा बगिरहेको तिनाउको पानीमा घोत्लिइरहेका छन्। उनी खुट्टादेखि कानका लोतीसम्मै भिजेका छन्। लगाएको कालो जाँघेको बाहुलादेखि पैतालासम्मै हिलो लागेको छ। बोल्दा स्याँ स्याँ गरिरहेका छन्। ‘खोला धेरै नै बढेको रहेछ। बीचसम्म पनि पुग्न सकिनँ। पानी तेज छ। अनि फर्किएँ।’ पानीतिर देखाउँदै उनी भन्छन्।

 बुटवलको सबैभन्दा ठूलो सुकुमबासी बस्तीमा राहत पाउनुपर्ने २० हजार ६ सयमध्ये १३ हजार ४ सय जनाले एक पटक पनि राहत पाएका छैनन्। एक महिना अगाडि राहत पाएका २ हजार २५ घरमा पनि खाद्यान्न रित्तिसकेको छ। 

गत सोमबार बिहान हामी बुद्धनगर र देवीनगरलाई जोड्ने पुलभन्दा २ सय मिटर दक्षिणमा रहेको राधा सेक्टर पुग्दा सुमन भर्खरै दोस्रो पटक तिनाउ तर्ने असफल प्रयासपछि डिलमा आएर बसिरहेका थिए। बिहानभर पानी परेर धमिलो बनेको तिनाउको पानी जस्तै उनको अनुहारमा चमक हराएको छ।

‘पारि गएर बालुवा ल्याउन सकिनँ भनें साँझ उनीहरू भोकै हुनेछन्।’ औंलाले घरतिर इसारा गर्दै उनले भने। कंक्रिटले बनेको घरको पिँढीमा ३ वर्षकी छोरीलाई काखी च्यापेर सुमनकी पत्नी खाना खुवाइरहेकी थिइन्।

खोलापारिको बगरमा हिजै राति जम्मा गरेर राखिएको बालुवाको थुप्रो छ। खोलामा पानी घटेन भने सुमनले बालुवा ल्याउन पाउँदैनन्। लकडाउनमा बालुवा बेचेर आफू र परिवारको पेट पाल्ने काम गरेका सुमनले बालुवा ल्याउन नपाए आज साँझ फेरि भोकै सुत्नुपर्ने छ। यसअघि पनि यहीँ कारणले आफू र ३ वर्षकी छोरीसहित घरमा रहेका ५ जनाको परिवारका लागि पटक–पटक छिमेकीकहाँ खाना माग्न जानु परेको छ।

‘सधैं त उनीहरूले पनि दिँदैनन्। हिजो साँझ नै पारि गएर बालुवा ल्याउनु पर्ने रहेछ। पानी पर्ला भन्ने थाहै भएन,’ एक औंलाले कान भित्र पसेको पानी निकाल्दै उनले भने, ‘कतिखेर पानी घट्ला भनेर यहाँ बसेको। छोड्न पनि नमिल्ने। अरूले लगिहाल्छन् फेरि।’

सुमन मुम्बईमा होटेलमा खाना बनाउने काम गर्थे। उनको कमाइले जेनतेन घरको खर्च थेगेको थियो। भारतमा कोरोना संक्रमित बढ्दै गएपछि फागुन अन्तिम साता उनी नेपाल फर्किए। स्वदेश फर्किएको दुई हप्तापछि नेपाल ‘लकडाउन’मा गयो।

त्यसको केही दिनमै सुमनको घरमा रासन सकियो। त्यसपछि बालुवा झिक्न दैनिक आँगन तल रहेको खोलामा छिर्ने गरेका छन्। त्यहाँबाट बालुवा ल्याएर घर बनाउने ठेकेदार अथवा घरधनीलाई प्रतिबोरा ५० रुपैयाँको दरले बेचेर साँझ घरमा चुल्हो बाल्ने जोहो गरेका छन्।

सुमनसँगको कुरा नसकिँदै २८ वर्षीय रूकजंग क्षत्री नाम्लो बोकेर त्यहीँ आइपुगे। उनको घरमा पनि ५ जनाको परिवार रहेछन्। उनको राधा सेक्टरको पुछारमा टिनले छाएको घर रहेछ। रूकजंगले लकडाउन हुनुअगाडि साहुको ट्याक्टर चलाउँथे रे। लकडाउनपछि भने बेकामे भए। घरमा खाद्यान्न सकिएपछि उनी पनि खोला धाउन थालेका रहेछन्।

एकछिनको कुराकानीपछि रूकजंगका भाइ पुरन नाम्लो लिएर खोलातिर झरे। यता ढिकमा दाजु रूकजंग र सुमनले पारिपट्टी देखिएको बालुवाको थुप्रोबाट आँखा अन्त मोड्न सकेका थिएनन्। पारिबाट मान्छे आएर लगिदिने हुन् कि भन्ने सुर्ताले उनीहरूलाई सताइरहेको थियो। 

रूकजंग र सुमनको परिवार मात्रै होइन बुटवल उपमहानगरपालिका वडा नं. ११ को यो सेक्टरका अन्य २५ परिवार घरमा रासन सकिएपछि खोलाबाट निकालेको बालुवा बेचेर दुई छाकको जोहो गर्न लागिपरेका छन्।

यसो त बालुवा बेचेर बाँच्न पनि उनीहरूलाई त्यति सजिजो कहाँ छ र! केही दिन अगाडि रूकजंगका बाबुले बालुवाको बोरा टाउकोमा राखेर खोला तर्दै गर्दा उपमहानगरका कर्मचारीले लखेटे। रूकजंगका अनुसार अत्तालिँदै भाग्न लाग्दा उनी पानीमा डुबे। पछि उनलाई केही मानिसहरूले जीवितै निकाले। केही समयपछि बाबुलाई बालुवा चोरी गरेको आरोपमा वडा कार्यालयमा लगेर जनप्रतिनिधिले झपारेको रूकजंगले बताए।

त्यस्तै नमीठो अनुभव ४५ वर्षीया सीता आब्जु परियारको पनि छ। वडा कार्यालयबाट चैत १७ गते पाएको १० किलो चामल, डेढ किलो केराउको दाल, एक पोका नुन र एक पोका तेल ९ जनाको परिवारले केही दिनमै सकेपछि उनी बालुवा बेच्न खोला धाउन लागिन्। तर, खोला धाउने उनीमात्रै थिइनन्। उपमहानगरले ठेक्का दिएका कारण त्यहाँ बालुवा लिन आउने टिपर र एक्साभेटरको घुँइचो थियो। 

‘हामीलाई बालुवा निकाल्न नदिने तर आफूहरूले भने डोजर लगाएर बालुवा निकालिरहेका थिए,’ उनले भनिन्, ‘त्यो हामीलाई मन परेन।’ विपन्न बस्तीलाई छाक टार्न बालुवा निकाल्न नदिने तर उपमहानगरले एक्साभेटर प्रयोग गरेर जथाभावी उत्खनन गर्ने भनेर वडाध्यक्षको नामसमेत जोडेर सीताले स्थानीय युट्युब च्यानललाई दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि भने उनी साँच्चीकै समस्यामा परिन्। 

उक्त अभिव्यक्ति दिएको केही दिनमा वडाध्यक्ष रामचन्द्र क्षत्रीलगायत नेकपाका स्थानीय नेताहरूले उनलाई वडा कार्यालयमा डाके। सीताका अनुसार वडाध्यक्ष र त्यहाँका स्थानीय नेतालगायत टोल विकास संस्थाका अध्यक्षसमेत रहेका २५ जनाको भिडमा राखेर उनलाई धम्क्याइएको थियो। ‘अबदेखि हाम्रो नाम लिइस् भने तलाई पुलिस प्रशासन पठाएर कोर्रा लगाएर जेलमा राखिदिन्छम् भनेर मलाई धम्क्याए,’ सीताले भनिन्। त्यसपछिका दिनमा उनी बेचैन देखिन्छिन्।

तिलोत्तमा नगरभन्दा दक्षिणमा रहेको अर्को ठूलो बस्ती सिर्जना नगरमा बस्ने ४६ वर्षीय वसन्ती क्षत्री एकल महिला हुन्। उनले त्यहीँ ब्लक बनाउने काम गर्छिन्। लकडाउनको कारण देखाउँदै ठेकेदारले काम गरेवापतको पारिश्रमिक दिएका छैनन्। हामीसँग कुरा गर्दै उनले खाने कुरा सिद्धिएपछि १६ किलोमिटर टाढा मानपकडीमा रहेका आफन्तीहरूसँग ऋण काढेर केही खानेकुरा बोकेर आएको बताइन्। ‘यो पनि सकियो भने अन्त जाने ठाउँ छैन,’ उनले भनिन्, ‘त्यसपछि खोला छिर्नु नै अन्तिम उपाय हो।’ 

१३ हजार ६ सय जनाले पाएनन् राहत 

सुकुमबासी बस्तीमा रहेका करिब सबै विपन्न परिवारको पीडामाथि उल्लेखित पात्रहरूको पीडासँग ठ्याक्कै मेल खान्छ। सक्नेहरूले उपमहानगरको बर्खिलाप मजुवादेखि तल सिर्जना नगरसम्मै खोलाको बीचैबीच बालुवा खनिरहेका छन्। नसक्नेले ऋणधन गरेका छन्। त्यो पनि नसक्ने भोकै सुतेका छन्। 

मजुवामा २०१७ सालदेखि नै बस्ती बसिसकेको भए पनि बुद्धनगरमा २०५९ सालमा बस्ती बसेको थियो। त्यसपछि विस्तार हुँदै बुद्धनगर, तिलोत्तमा नगर, सिर्जना नगरलगायत साना ठूला बस्ती बनेका हुन्। यहाँ ६० वटा टोल छन्।

बुटवलको यो सुकुमबासी बस्तीमा २०६७ को तथ्यांकअनुसार ४३ हजार जना मानिसहरूको बसोबास छ। तर, त्यसपछिको बढ्दो बसाइसराइँका कारण यहाँ १७ हजार मानिसहरू थपिएको नगरपालिकाको आकलन छ।

बसाई खर्च कम भएका कारण यस्ता बस्ती गाउँको अतिरिक्त श्रमशक्ति बेच्ने हिसाबले बुटवल छिरेका मजदुरहरूको पहिलो रोजाइमा पर्छन्। यसैले यहाँको ठूलो समूदाय दिनभर काम गरेर मात्रै साँझमा खान पाउने वर्गमा पर्छन्। अधिकांश सुकुमबासी बस्तीले भरिएको वडा नं ११ नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको वडामध्येको एक हो।

यहाँका २० हजार ६ सय जनालाई तत्काल राहत जरूरत रहेको कुरा वडा कार्यालयले हालै संकलन गरेको विवरणबाट थाहा हुन्छ। राहत वितरण गर्न वडा कार्यालयले तथ्यांक लिएको थियो। तर, लकडाउन सुरु भएको डेढ महिना बितिसक्दा ७ हजार जनाले मात्रै राहत पाएका छन्। तथ्यांकलाई नै आधार मान्ने हो भने बाँकी १३ हजार ६ सय जना अहिले दैनिक भोकसँग जुधिरहेका छन्। 

तथ्यांक नहुँदा समस्या

बुटवल उपमहानगरसँग यहाँ वास्तविक विपन्न परिवार कति छन् भनेर तथ्यांक छैन। तथ्यांक नहुँदा कसकसलाई राहत उपलब्ध गराउने भनेर वडा कार्यालयले लामो समय अलमलकै गुजार्यो। 

वडाध्यक्ष रामचन्द्र क्षत्रीले वडामा वास्तविक विपन्न परिवार कति छन् भनेर तथ्यांक नहुँदा राहत वितरणमा ढिलाइ भएको बताए। उनले भने, ‘तर, अब ६० वटै टोलबाट सूची आइसकेको छ। दोस्रो चरणको राहत वितरण काम छिट्टै सुरु गर्दै छौं।’

उनका अनुसार पहिले राहत पाइसकेका र नयाँ गरी वडाका ६० वटा टोलमा बस्ने २० हजार ६ सय जनालाई दोस्रो चरणमा राहत वितरण गरिँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.