|

काठमाडौं : कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको शनिबार मृत्यु भएको छ। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्।

९ दिने ती सुत्केरीको स्वाब नमूना दोहोर्‍याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले शनिबार राति मात्र उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली रहेको जनाएको छ।

ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वार्ड नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन।

२९ वर्षीय ती महिलाका श्रीमान पहिले सेनामा थिए भने अहिले काठमाडौंकै एक कम्पनीमा सुरक्षा गार्डका रुपमा काम गर्छन्। एक जना आफन्तका अनुसार बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनले २४ गते बच्चा जन्माएकी थिइन्। 

सुत्केरी भएपछि सिन्धुपाल्चोक जानुअघि उनी काठमाडौंकै टोखास्थित आफन्तकोमा पुगेको जनाइएको छ। उनी पुगेको टोखाको घर पनि शनिबार राति सिल गरिएको छ। २५ वैशाखमा उनलाई एम्बुलेन्सबाट बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो।

धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि फेरि यकिन गर्नको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो।कोरोनाको कारण निमोनिया भएको र त्यही कारण उनको स्वासप्रश्वासमा समस्या आई मृत्यु भएको प्रदेश तीनका सामाजिक विकासमन्त्री युवराज दुलाले बताएका छन्। 

टेकु अस्पतालको ल्याबले पनि कोरोना पोजिटिभ रिपोर्ट दिएको छ। शनिबार राति विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएको जनाएको छ। कोरोनाको कारण महिलाको मृत्यु भएपछि उनको माइती गाउँ भट्टे र राम्चे दुबै क्षेत्र सिल गरिएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले  बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.