क्‍वारेन्टाइन मापदण्डअनुसार छैनन्

|

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमणको पहिलो बिरामी दैलेखमा फेला परेपछि जिल्लाबासीमा त्रास फैलिएको छ।

जिल्लाको आठबीस नगरपालिका १ को सातलामा भारत बाट आएका एक ३५ वर्षीय युवकमा सोमबार संक्रमण पुष्टि भएको हो। आठबिससँग जोडिएका स्थानीय तहमा पनि यतिबेला त्रास फैलिएको छ। दैलेखमा मंगलबारसम्म भारतलगाएत मुलुकबाट भित्रिनेको संख्या १५ सय नाघिसकेको छ। 

तर जिल्ला भित्रिनेलाई १४ दिन सुरक्षित क्‍वारेन्टाइनमा राख्नुपर्ने भए पनि स्थानीय तहले होम क्‍वारेन्टाइन भन्दै धमाधम पठाइरहेको छ। ११ वटा स्थानीय तह रहेको दैलेख पश्चिममा पर्ने पाँच वटा स्थानीय तहका धेरैजसो नागरिक रोजगारीका क्रममा भारतमा छन्। कोरोना महामारीसँगै उनीहरु धमाधम जिल्ला फर्किरहेका छन्। स्थानीय तहले क्‍वारेन्टाइनमा नराखी त्यसरी फर्किएकालाई घर पठाउँदा जिल्लामा कोरोना संक्रमण बढ्न सक्ने स्थानीय चिन्तित बनेका हुन्। 

लकडाउन कडा पारियो 

जिल्लामा अहिले भने लकडाउन कडा पारिएको छ। सोमबारसम्म जिल्ला सदरमुकाम दैलेख बजारमा मान्छेको आवतजावत देखिए पनि हाल भने मानिसको आवतजावतमा कडाइ गर्न थालिएको छ। 

भएका क्‍वारेन्टाइन पनि मापदण्डअनुसार छैनन्
 
जिल्लामा बनाइएका क्‍वारेन्टाइन मापदन्डअनुसार नभएका स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले बताए। ‘पहिलेकै अवस्था हेर्ने हो भने दैलेखमा निर्माण गरिएका क्‍वारेन्टाइन केही सुधारिएका छन्, तर बाहिरबाट आएकालाई दूरी कायम गरेर राख्नुपर्छ,’ उनले भने, ‘साथै क्‍वारेन्टाइनस्थलमा सरसफाइको व्यवस्था एकदमै राम्रो पारिनुपर्छ।’ 

क्‍वारेन्टाइन बनाएका स्थल सुरक्षित नभएका र त्यहाँ बसेका सबै जनाले गाउँका मानिससँग हेलमेल गर्ने गरेका बताइन्छ। जसका कारण जिल्लामा कोरोना संक्रमणको त्रास झनै फैलिएको छ। 

संक्रमितसँगै आएका कुन ठाउँमा कति ? 

कर्णालीमा पहिलो पटक भेटिएका दैलेखका कोरोना संक्रमित युवासँगै जिल्लामा ४९ जना भित्रिएका खुलेको छ। उनीहरुलाई स्थानीय सरकारले गत चैत ३१ गते भारतको वनवासाबाट उद्धार गरेको थियो। संक्रमित युवासँगै ३८ जना, ठाटिकाध गाउँपालिकाका ८ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा १ जना र दुल्लु नगरपालिकामा १ जना दैलेख आएका हुन्। 

ठाटिकाधका ८ जनालाई गाउँपालिकाले ४ दिन क्‍वारेन्टाइनमा राखेर घर पठाए पनि उनीहरुसँगै आएका युवामा संक्रमण भेटिएपछि भने फेरि ल्याएर क्‍वारेन्टाइनमै राखिएको छ। गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार जिल्लाबाट आएको स्वास्थ्यकर्मीको टोलीले कागज गराएर उनीहरुलाई घर पठाएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.