|

पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका थर्कबहादुर पोखरेल रोजगारीको सिलसिलामा भारत गुजरातमा बस्थे। उनी बेलाबेलामा घर पनि आउँथे। तर पछिल्लो समय भने उनलाई घर पुग्ने बेग्लै हुटहुटी लागेको छ। जुन यसअघि भएको थिएन। 

कोरोना फैलिएसँगै उनलाई घरमा आउन खुब मन थियो। तर लकडाउन बाधक भइदियो। बल्लतल्ल उनी घर आइपुगे। नेपाल–भारत सीमा नाका सुनौली नजिक आइपुगेका पोखरेल पाल्पा आउने बसमा चढे। 

स्थानीय सरकारले पठाएको बसमा चढेर जिल्लाको सदरमुकाम तानसेन आइपुगेका उनले लामो सास फेरे। तानसेनस्थित बतासेको होल्डिङ क्‍वारेन्टाइनमा एक दिन बसेर सोमबार आफ्नै गाउँ जान पाउँदा उनी कम्ती खुसी थिएनन्।

गाउँ जाने बस चढेर हात हल्लाउँदै उनले भने, ‘मरे पनि परिवारलाई देखेर मर्न पाइने भयो।’ पञ्जाबबाट फर्किएकी रिब्दिकोट ८ फेककी सलिना बगाले पनि निकै खुसी देखिएकी थिइन्। 

पञ्जावमै रोजगारीमा गएका श्रीमानसँग घुम्न गएकी उनी कोरोना भाइरसपछि लगाइएको लकडाउनले उतै बस्न बाध्य भएकी थिइन्। लकडाउन सुरु भएको करिब ३ महिनाको प्रयासमा गाउँमा आउन पाउँदा उनलाई अब चै बाचिन्छ भन्ने लागेको छ।

सोमबार मात्र बतासेमा रहेका होल्डिङ क्‍वारेन्टाइनमा ९६ जना भारतबाट आएका थिए। उनीहरूलाई आ–आफ्ना स्थानीय तहले सम्बन्धित गाउँका क्‍वारेन्टाइनमा लगेका छन्। केहीलाई भने लैजाने क्रम चलिरहेको छ। यसरी स्थानीय सरकारले यातायात व्यवस्था गरेर गाउँसम्म पु¥याउँदा आफूहरूलाई ठूलो राहत मिलेको भरत बोमरेलले बताए। 

कतिपय  स्थानीय तहले तानसेन आइपुगेकै दिन आफ्नो स्थानीय तहमा लगेक छन् भने केहीले अर्को दिन लैजाने बताएका हेल्प डेस्क पाल्पाका संयोजक टुक भट्टराइले बताए। बस्न बाध्य भएकाहरूलाई बतासेमा रहेको क्‍वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए। 

भट्टराईका अनुसार १० दिनभित्र पाल्पामा १६ सय बढी आइपुगेका छन्। भारतबाट आउने पाल्पालीको सहजीकरणका लागि सुनौलीमा समेत हेल्प डेस्क राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.