आत्महत्या गर्नेमा धेरै पुरुष, प्रदेश ५मा सबैभन्दा बढी

|

काठमाडौं : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू भएको लकडाउन ७४ दिन भएको छ। लकडाउन बढेसँगै विभिन्‍न आपराधिक घटनामा कमी आए पनि आत्महत्या गर्नेको संख्या भने विगत वर्षको तुलनामा बढेको पाइएकोछ। 

प्रहरी प्रधान कार्यालको २०७५ चैतदेखि २०७६ जेठको तथ्यांकअनुसार मुलुकभर ४ सय ८५ जनाले आत्महत्या गरेका थिए। २५५ पुरुष, १८८ महिला, ११ बालक र ३१ जना बालिका रहेका थिए।

चैत ११ देखि देशमा लकडाउन गरिएपछिको समयमा आत्महत्याको संख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ। यस अवधिमा मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्। ५ सय ७१ पुरुष, ३ सय ९६ महिला,५२ बालक  र ८६ जना बालिका रहेका छन्।

तथ्यांक अनुसार दुई महिनाको लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या अन्यत्रको तुलनामा बढी पाइएको छ। प्रदेश ५ मा यो अवधिमा २ सय ४२ जनाले आत्महत्या गरेका छन्। जसमा १ सय २७ पुरुष ,८८ महिला, ८ बालक र १९ जना बालिका रहेका छन्।

प्रदेश १ मा १ सय ८६ जनाले आत्महत्या गरेका छन्। पुरुष १ सय ४,महिला ५८, बालक १० र बालिका १४ जना रहेका छन्।

बागमती प्रदेशमा सबैभन्दा ८९ जना पुरुषले आत्महत्या गरेका छन्। ६१ महिला,बालक ३ र बालिका ९ जना रहेका छन्। बागमती प्रदेशमा जम्मा १ सय ६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ।

अधिकांश तराईको भू-भाग रहेको २ नम्बर प्रदेशमा १ सय ५२ जनाले आत्महत्या गरेका छन्। ५० पुरुष,५८ महिला, १७ बालक र २७ जना बालिका रहेको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशमा लकडाउन अविधमा १ सय २१ जनाले आत्महत्या गरेका छन्। जसमा ७१ पुरुष,३८ महिला, ६ बालक र ६ बालिका रहेका छन्। काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरेर ६९ जनाले आत्महत्या गरेका छन्। ३९ पुरुष, २७ महिला, २ बालक र १ बालिका रहेका छन्।

सुदुरपश्चिम प्रदेशमा १ सय १५ जनाले आत्महत्या गरेका छन्। ५८ पुरुष, ४८ महिला, ३ बालक र ६ बालिका रहेका छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ५८ जनाले आत्महत्या गरेका छन्। ३३ पुरुष, १८ महिला, ३ बालक र ४ जना बालिका रहेका छन्।

लकडाउनको अवधि थपिएसँगै अन्य आपाराधिक क्रियाकलापमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाही बताउँछन्। उनका अनुसार कोरोनाको त्रास र बाहिर निस्कन नपाइने व्यवस्थाले पनि यस्तो भएको हुन सक्छ।

प्रवक्ता शाहीले भने,'लकडाउन हुनुभन्दा अगाडि पनि मुलुकका विभिन्न जिल्लामा आत्महत्या हुने गरेको थियो। अहिले सुनसान जस्तो र देश ठप्प भएकोले गर्दा केही बढेको हो कि जस्तो मात्र भएको हो।' 

आत्महत्याको मुख्य कारण भनेको धेरै मानिसको स्वास्थ्यमा डिप्रेसनको असर परेको पनि पाइएकोले यस्तो गरेको हुन सक्ने अनुसन्धानमा पाइएको उनले बताए।

‘बालबालिकालाई सिर्जनात्मक काम’

कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नु जस्ता कारणले आत्महत्या बढिरहेको मनोविश्लेषक बासु आचार्य बताउँछन्। विभिन्‍न कारणले आर्थिक संकट पैदा भएकोले मानिसमा नैराश्यता उत्पन्न हुने गरेकोले आत्महत्या गर्नेको संख्या बढेको उनले बताए।

मनोविश्लेषक आचार्यले भने,’मेरो अध्ययन र अनुसन्धानमा सबैभन्दा बढी आत्महत्याको प्रयास गर्नेमा महिला हुन्छन। तर, महिलाले प्रयास गर्छन सक्दैनन। पुरुषले चाहन्छन फयाट्ट गरिहाल्छन। महिलामा भन्दा पुरुषमा आँट पनि हुन्छ र आत्महत्या गर्नेको संख्यामा पुरुषको संख्या बढी आएको हो।'

आर्थिक कारोबार बिग्रेर पनि पुरुषले बढी मात्रामा आत्महत्या गर्ने गरेको उनले जानकारी दिए। 'लकडाउनको कारणले बालबालिकाहरु घरमा बस्नुपर्दा खुसी छैनन्।उनीहरुमा अहिलेको अवस्था देखेर छटपटी र झन्झनाहट बढेकोले बालबालिकाहरुले आत्महत्या गर्ने गरेको आचार्यले बताए। उनले भने,’ घरमा बस्दा-बस्दा दिक्क मान्ने पनि देखिएको छ।  विभिन्न कारणले खुसी हुन नपाउँदा उनीहरुले त्यस्तो गरेको हुन सक्छन्।'

फुर्सदको समयमा बालबालिकालाई सिर्जनात्मक काममा लगाउँदा उनीहरुले अन्य कुरामा ध्यान दिन नपाउने उनले बताए। सबैभन्दा राम्रो बालबालिकालाई खेलकुदमा भाग लिएर सहभागी गराउनलाई उनले सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.