काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको ...
इलाम : सन् २०११–१२ यताको इटालियन सिरिए उपाधिमाथि एकछत्र राज गरेको युभेन्टसलाई यस पटक शिर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनसमेत निक्कै सकस पर्यो।
लिगको अन्तिम दिनको खेलमा नापोलीले भेरोनाविरुद्ध बराबरीको नतिजाको सट्टा १–० को मात्र जित निकाल्न सफल भएको भए युभेन्टसको स्थानमा नापोली हुने थियो। र लाजियोसँगै युरोपा लिगको समूह चरणको खेलमा युभेन्टस हुने थियो। त्यति मात्र हैन क्लब सन् २००६–०७ यता पहिलो पटक च्याम्पियन्स लिग खेल्ने अवसरबाट बञ्चित हुने थियो।
बोलोग्नामाथि निकालेको फराकिलो जितले समेत उसको च्याम्पियन्स लिगको यात्रा रोक्न सक्थ्यो। युभेन्टसको भाग्य नापोलीको बराबरीले तय गर्यो। भनिन्छ प्रशिक्षक केवल सफलताको साक्षी मात्रै हो। जब असफल हुन्छ त्यसपछि व्यवस्थापनको पहिलो सिकार कोही हुन्छ भने त्यो प्रशिक्षक नै हो।
उपाधिविहीन सिरिए यात्राको अन्त्यको दोष प्रशिक्षक आन्द्रे पिर्लोको काँधमा जान्छ। गत सिजनबाट ओरालो लागेको युभेन्टसको यात्रालाई पिर्लोले समेत उकालो लगाउन सकेनन्।
फ्रेन्च क्लब लायोनसँग अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि इटालियन महारथीले ब्याक टु ब्याक लिएको निर्णयमध्ये तत्कालीन प्रशिक्षक माउरिजियो सारीको बर्खास्ती र त्यसपछि उदाएका पिर्लो थिए।
सारीपछि टोली सम्हाल्न एक से एक प्रशिक्षकको चर्चा थियो। तर अप्रत्यासित रुपमा पिर्लोको काँधमा जिम्मेवारी आइपर्यो। जसको कल्पनासमेत पिर्लोले सायद गरेका थिएनन्।
३० जुलाई २०२० मा युभेन्टसको यु–२३ टोली ( जसले इटालियन फुटबलको तेश्रो श्रेणीको प्रतियोगिता सिरिसी प्रतियोगिता खेल्छ ) को मुख्य प्रशिक्षकमा नियुक्त भए। ९ दिनलगत्तै छलाङ मार्दै सिरिए टिम नै नेतृत्व गर्ने भूमिका पाए। त्यो अप्रत्यासित छलाङपछि इटालियन जाइन्टको प्रशिक्षण सम्हाल्नुपर्ने जस्तो दायित्व थेग्न पिर्लोका लागि वास्तवमा कठिन थियो।
क्लबमा जियानुलुजी बुफोन जस्ता भेट्रान खेलाडीसमेत थिए जो पिर्लोसंगै सन् २००६ को विश्वकप मात्र हैन २०११ देखि २०१५ बिच युर्भेन्टसले जितेको उपाधिका सहयात्री पनि थिए।
‘माइस्ट्रोबाट मास्टर’ बन्ने अवसर युभेन्टसले पिर्लोलाई दिएको थियो। ‘युभेन्टसको एक्सपर्ट र प्रतिभावान टोलीले नयाँ उचाइ छुन मद्दत गर्ने विश्वाससहित उनको विश्व फुटबलको करिअरमा नयाँ अध्यायको शुरुवात हुँदैछ। उनी ‘माइस्ट्रोबाट मिस्टर’ बन्दैछन्’ - क्लबले मुख्य प्रशिक्षकका जिम्मेवारीमा २ वर्षका लागि अनुबन्ध गर्दा भनिएको थियो।
विश्वका एकसे एक हस्ती प्रशिक्षक भित्र्याउन सक्ने क्षमता इटालियन क्लबसँग थियो। तर अध्यक्ष आन्द्रे एग्नेलीले माथिल्लोस्तरमा कुनै पनि अनुभव नरहेका ४१ वर्षीय पिर्लोलाई जोखिम मोलेर जिम्मेवारी सुम्पिए। एग्नेलीलाई विश्वास थियो पिर्लोले सुखद नतिजा दिलाउनेछन्। खेलाडीको रुपमा ४ वर्षमा खुट्टाले जुन जादु चलाएका थिए त्यसबाट एग्नेली प्रभावित थिए।
तर प्रशिक्षकको रुपमा उनले एग्नेलीको विश्वासलाई मूर्त रुपमा दिन सकेनन्। क्लबको मुख्य प्रशिक्षण सम्हालेको ६ महिना नबित्दै युभेन्टसलाई सुपरकोपा उपाधि दिलाए। त्यसको ३ महिना नबित्दै युभेन्टस च्याम्पियन्स लिगमा पोर्टोसँग अवे गोलका आधारमा पराजित बन्दै अन्तिम १६ बाट बाहिरियो। त्यस समयदेखि नै पिर्लोको भविष्य अन्योलमा रहेको चर्चा सुरु भएको थियो।
सिरिएको नतिजाले विश्वस्तरिय खेलाडीहरुको भरिएको टोलीलाई एक दशक यताकै झुर नतिजा दिलाउने प्रशिक्षकको रुपमा नाम दर्ता गराए। पछिल्लो सिरिए नतिजापछि उनी बर्खास्तको नजिक पुगिसकेको फुटबल पन्डितहरुको आकलन छ।
केही दिन अघिसम्म च्याम्पियन्स लिगको यात्रा कठिन बन्दै गएपछि पिर्लो आफैंमा पनि क्लबको आगामी सिजन लम्ब्याउनेमा आशावादी थिएनन्। यद्यपि नाटकीय रुपमा शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा पुगेपछि पिर्लोको भविष्य के हुनेछ भन्ने बारेमा चर्चाको विषय बनेको छ।
एक साताअघि एटलान्टालाई हराउँदै क्लबलाई दोश्रो उपाधिको रुपमा कोपा इटालिया दिलाए। तर युभेन्टसको लक्ष्य कोपा इटालिया नभएर च्याम्पियन्स लिग हो।
सन् १९९६ यता च्याम्पियन्स लिगको उपाधिको पोल्टामा पार्न नपाएको क्लब सन् २०१७ यता फाइनलसमेत पुग्न सकेको छैन। त्यसैले क्लबले च्याम्पियन्स लिगकै लागि भनेर २०१८ महँगो मूल्यमा रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डो भित्र्यायो। रोनाल्डोको प्रवेशले समेत युभेन्टसको नतिजामा सुधार आउन सकेको छैन। सार्रीको बखास्त पनि च्याम्पियन्स लिगसँगै जोडिएको घटना हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।