|

काठमाडौं :  अबदेखि हिमाल पर्वतारोहण गर्न चाहने पर्वतारोहीहरुले पर्यटन विभागले तोकेको अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुपर्ने  भएको छ। आफूखुसी स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गरेमा हिमाल आरोहण गर्नको पर्यटन विभागले अनुमति नदिने भएको छ।

पर्यटन विधेयक २०७६ मा हिमाल आरोहण गर्नेले विभागले तोकेको अस्पतालमा गएर परीक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। नेपालको संविधानको धारा १०९ बमोजिम संघीय संसदले  पर्यटक बनाएको हो।

जसमा पर्वतारोहीले पर्वतारोहणको अनुमति माग गर्दा आफ्नो दलका सदस्यहरू, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण सहयोगी र सहयोगीको समेत  विभागले तोकेको स्वास्थ्य संस्थाहरूबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरेको प्रमाण पेश गर्नु पर्ने समेत उल्लेख गर्नुपर्ने व्यववस्था रहेको छ।

‘स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यमा प्रतिकूल अवस्था देखिएमा पर्वतरोहणसम्बन्धी कार्यमा खटाइने छैन। हिमालको उचाइअनुसार पर्वतारोहीको अनुभव हुनुपर्नेछ। आरोहीको क्षमता एवं स्वास्थ्य अवस्था,उमेर, हिमाल आरोहण  गर्दा उपलब्ध हुनुपर्ने सेवा सम्पर्क अधिकृत सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनुपर्नेछ।'

नेपालमा दर्ता भएर आरोहणको जिम्मा पाएको सम्बन्धित एजेन्सी आरोहण दलको कानूनी प्रतिनिधि हुन सक्ने गरी ऐनमा बताइएको छ। पर्वतारोहीले तोकिएको उचाइको हिमालचुलीको आधारमा रोयल्टी उक्त दिनको विदेशी मुद्राको मूल्यमा बुझाउनुपर्नेछ। तर,नेपाली वा विदेशी पर्वतारोहीसंग संयुक्त रुपमा आरोहण गर्ने नेपालीले भने रोयल्टी नेपाली मुद्रामा बुझाउन बुझाउनुपर्नेछ। एक पर्वतारोहीले तिरेको रोयल्टी अर्को पर्वतारोहीको लागि रोयल्टी हस्तान्तरण गर्न नपाइने व्यवस्था छ।

कुनै पनि पर्वतारोहीले अनुमति पाएर पनि पर्वतारोहण गर्ने समय रद्द गरेमा सहमति माग्दाको रोयल्टी फिर्ता हुनेछैन। तर, प्राकृतिक प्रकोपको कारण पर्वतारोहण हुन नसकेमा पर्यटन मन्त्रालयले दुई वर्ष भित्र सम्ममा पर्वतारोही गर्ने गरी रोयल्टी फिर्ता गर्ने सक्ने नयाँ ऐनमा व्यवस्था गरिएको छ।

पर्वतारोहीले आफूखुसीको मार्ग निर्माण गरेर हिडन पाउने छैनन्।पर्वतारोहणको निमित्त विभागबाट तोकिएको मार्गबाट मात्र यात्रा गर्नुपर्नेछ।  कारणवश मार्ग बदल्नुपर्ने भयो भने विभागसँग अनुमति लिएर मात्र पाइनेछ। आकस्मिक मार्ग बदल्नुपरेमा कारण सहित सम्पर्क अधिकृतलाई जानकारी दिनुपर्ने व्यवस्था उल्लेख गरिएको छ।

आधार शिविरमा स्वास्थ्य परीक्षण गर्न माग

राज्यले मान्यता दिएको सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउनुपर्ने नेपाल पर्वतारोही संघका अध्यक्ष शान्तवीर लामा बताउँछन्। ऐन आउनुभन्दा अगाडि पर्वतारोहीहरुले  सरकारले मान्यता प्रदान गरेको जुनसुकै अस्पतालमा स्वास्थ्य परीक्षण गरिरहेको उनले बताए। उनका अनुसार राज्यमा सञ्चालित सबै अस्पतालमा आरोहीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्छ।

पर्वतारोही संघमा विगतमा काठमाडौं उपत्यकाको ठूला-ठूला अस्पतालले आधार शिविरमा स्वास्थ्य परीक्षण गर्नलाई अनुमति माग्न आएको पनि उनले सुनाए। अहिले पनि पर्वतारोहीलाई उद्बार गर्ने अधिकांश अस्पताल निजि क्षेत्रका अस्पताल रहेको लामाले थाहाखबरलाई बताए।

राज्यले पर्यटन क्षेत्रमा सुधार गर्न खोजेको हो भने सबै क्षेत्रमा जिम्मा  लिनुपर्‍यो। पर्वतारोहणको क्षेत्रमा मात्र लिएर हुन्न। अन्तर्राष्ट्रिय अभ्यास अनुसार गर्न खोजेको हो भने त्यहीअनुसार गर्नुपर्छ ,’उनले भने,’ सबै आरोहीहरूको स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन। सरकारले तोकेको मुख्य मानिसको स्वास्थ्य परीक्षण गर्दा फरक पर्दैन। फेरि अधिकांश आरोहीहरु विदेशी हुन्छन् त्यस्तो स्वास्थ्य संस्था खोज्न जान असम्भव हुन्छ।‘ विधेयकमा आएको केही कुराहरु राम्रो रहेको उनले बताए।

नेपालको पर्यटन क्षेत्रलाई राज्यले भन्दा पनि निजि क्षेत्रबाट बढी प्रमोशन गर्ने काम भइरहेको लामाले जानकारी दिए। पर्यटन क्षेत्रमा राज्यले नियन्त्रण गर्न खोजेमा त्यसको मान्यता नहुने उनको भनाइ छ।

महामारीको कारणले पर्यटन क्षेत्रमा असर परिरहेको छ त्यसलाई माथि उकास्नको लागि अझ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा पर्वतारोहीको क्षेत्रमा काम गर्नेलाई असर पर्ने उनको दाबी छ।

कानुन मन्त्रालय पुग्‍यो 'विधेयक

पर्यटन मन्त्रालयबाट पर्यटक विधेयकको ड्राफ्ट तयार गरी कानुन मन्त्रालयमा पठाइ सकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार विधेयक तयार भए पनि कानुन पूर्णरूपमा बनिसकेको छैन। विधेयकले कसैलाई अप्ठयारो पार्दैन। आरोहीको लागि सहजताको निम्ति नै यो विधेयक आउन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.