काठमाडाैं : कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले काठमाडाैंमा आज सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए। जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृत्तिको अन्त्य गर्दै रुकुम घटनाका दोषीलाई पनि कडा कारवाही हुनुपर्ने माग नेविसंघले राखेकाे उनले बताए।
नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मत लिएर जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताए।
बिजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरु बानेश्वर पुगेका थिए। ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथि, निन्द्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राति’ जस्ता नारा लेखिएका प्लेकार्ड विद्यार्थीहरुले बाेकेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।