खाली आँखाले हेर्नु स्वास्थ्यका लागि खतरनाक

|

काठमाडौं :  आज आइतवार सूर्यग्रहण लागिरहेको छ।  यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्।

खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ। चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेकिदिँदा यसको छायाँ पृथ्वीमा पर्नुलाई नै सूर्यग्रहण भनिने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। उनका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिँदैछ।

मध्यान्ह १२ बजेर ५ मिनेटमा ग्रहणले सूर्यलाई झण्डै ८८ प्रतिशत ढाकेको देखिने गौतम बताउँछन्। यस्तै ग्रहण नेपालबाट ४४ वर्षपछि मात्र देखिनेछ। खगोलविलले ग्रहण लागेर सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा केही चिसो महसुस हुने बताएका छन्। 

सुरू 

आइतवार लागेको सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको छ। त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्‍चिम भारत, भारतको देहरादून, रुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिनेछ। 

नेपालमा

काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण हेर्न सकिनेछ। नेपालमा सबैभन्दा धेरै देशको पश्‍चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देख्‍न पाइनेछ।  

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतीय अतिक्रमणमा परेको छ। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशत ढाकेको देखिने छ। नेपाल सरकारले हालै मात्र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समेटेको छ।

खगोलविदका अनुसार काठमाडौँबाट बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ भएको बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताएका छन्। 

वाल्मीकि क्याम्पसका सह प्राध्यापक तथा अमेरिकी खगोल समाजका सदस्य जयन्त आचार्यका अनुसार सूर्यग्रहणलाई खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहणदाई खाली आँखाले हेर्दा रेटिनामा सूर्यबाट आएको प्रकाश पर्छ। यसले रेटिना नष्ट हुन सक्छ। त्यसकारण मानिस अन्धोसमेत हुन सक्ने जोखिम हुन्छ।

खगोलविद आचार्यका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुँदा जब चन्द्रमाको छायाँ पृथ्वीमा आइपुग्छ त्यसबेला छायाँभित्र परेका मानिसले सूर्यग्रहण भएको देख्छन्। चन्द्रमाको छायाँ एक हजार किलोमिटर लामो तथा दुई सय ५० किलोमिटर चौडाइको हुन्छ। यही क्षेत्रका मानिसले सूर्यग्रहण देख्ने गर्दछन्। यस्तो छायाँ सधैँ एकै ठाउँमा देखिँदैन। त्यसैले सूर्यग्रहण कुनै देशबाट देख्‍न सकिन्छ भने कुनै देशबाट देख्‍न सकिँदैन।

आज (असार ७ गते आइतबार) लाग्ने सूर्यग्रहण नेपालीका लागि खण्डग्रास सूर्यग्रहण हो भने अफ्रिकाका केही मुलुक, दक्षिण पूर्व युरोपका केही मुलुक तथा एसियाका केही मुलुकका लागि वलय सूर्यग्रहण हो। 

अफ्रिकी मुलुक कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, ओमान, यमन, पाकिस्तानको दक्षिणी भाग, उत्तर भारतको देहरादून, चीन तथा ताइवानवासीले यो सूर्यग्रहणको हीराको औँठी जस्तो (जसलाई रिङ अफ फायर भनिन्छ) अलौकिक दृश्य देख्‍न पाउनेछन्। 

नेपालका लागि खण्डग्रास सूर्यग्रहण हो भने यो नेपाली समयअनुसार बिहानको १० बजेर ५५ मिनेटमा प्रारम्भ भई २ बजेर २४ मिनेटमा समाप्त हुनेछ। दिउँसो १२ बजेर ४१ मिनेट जाँदा सूर्य सबभन्दा धेरै ढाकिएको देखिने र त्यस बेलामा साँझ परेको अनुभव हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.