समाज

झुलाघाट नाका ३ दिन खुल्ने : पेन्सनधारी र फसेकालाई मात्र सुविधा

असार २३, २०७७

    बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका  बुधबारदेखि ३ दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। 

    कोरोना भाइरस जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमतिमा नाका खुल्न लागेको हो। सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो। बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

    पेन्सन बुझ्ने नागरिकलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने छ। त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ। यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ। सीमा नाकामा २ सय जति नागरिक रहेको अनुमान गरिएको छ।  

    सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिन आधिकारिक नाका तोकेको भए पनि भारतले सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन। लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।  

    ३ महिनादेखि सीमा नाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो।  भारतीय सेनाबाट सेवानिवृत भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो। भारतीय पेन्सनधारीको पैसा भारतीय बैंकमै आउने गर्छ।  

    जारी लकडाउनका कारण सीमा नाका बन्द भएपछि गएको तीन महिना यता पेन्सन नपाएको हुन्। बैतडीबाट मात्रै करीब २ हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]