|

काठमाडौं : काठमाडौं उपत्यकामा रगतको अभाव भएको छ। कोरोना भाइरस (कोभिड १९) का  कारण सामूहिक रक्तदान कार्यक्रम नहुने तथा मानिसहरुमा कोरोनाको त्रासले गर्दा आवश्यक मात्रामा रगत संकलन नहुँदा रगत अभाव भएको हो।

 पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै रक्तदाताहरुको कम सहभागिता छ। रगत अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले  ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्‍यक्तिलाई आग्रह गरेको हो।

 रगत दिन योग्य र इच्छुक व्‍यक्तिले आफूलाई पायक पर्ने ब्लड बैंकमा गएर रगत दिन सकिने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्‍चारमा गएर रक्तदान गर्न आग्रह गरेको छ।

कोरोना भाइरसको त्रासले गर्दा मानिसहरू रगतदान गर्नसमेत डराएका छन्। केही दिनयता उपत्यकामा माग अनुसारको रगत पुर्‍याउन नसकेको रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिताराज कर्णिकारले बताइन्। उनका अनुसार रगत संकलनको प्रमुख स्रोत सामूहिक रुपमा हुने रक्तदान कार्यक्रम भए पनि हाल सामुहिक रक्तदान कार्यक्रम आयोजना गरिए पनि मानिसहरु रक्तदान गर्न नआउने हुँदा उपत्यकामा हाल माग अनुसारको रगत पुर्‍याउन नसकिएको बताइन्।

उनले भनिन्, ‘सामूहिक रक्तदानको आयोजना गरे पनि मानिसहरु कोरोनाको डरले होला रक्तदान गर्न नआउँदा हाल रगत संकलनमा केही अप्ठ्यारो भएको छ, एक व्यक्तिले रगत दिएपछि तीन महिनासम्म पुन दिन मिल्दैन त्यसले गर्दा पनि दिनदिनै नयाँ रक्तदाता आवश्यक पर्छ तर अहिले रक्तदान गर्ने व्यक्तिनै कम छन्।‘

रक्तसंचार केन्द्रका अनुसार उपत्यकामा दैनिक तीन सय ५० युनिट रगतको खपत हुने गर्छ। जसमा हाल केन्द्रीय रक्त सञ्चा‍र केन्द्रमा सामान्य अवस्थामा दैनिक ७० युनिट रगत मात्रै संकलन हुँदै आएको छ। हाल भने उपत्यकामा कम्तीमा दैनिक एक  सय ५० युनिट रगत माग भए पनि केन्द्रले त्यति रगत समेत पुर्‍याउन सकेको छैन।

बाँकी विभिन्न अस्पतालहरूमा हुने रक्तसंचार केन्द्र र आवश्यक व्यक्तिहरुले नै दाता खोजेर पुर्‍याउँदै आएका छन्। यता केन्द्रीय रक्तसंचार केन्द्रमा रगत अभाव भएपछि हाल रगत माग्न जानेलाई आफैँले रक्तदाता खोजेर आवश्यक रगत जुटाउन आग्रह गर्दै आएको छ। रगत कम संकलन हुन थालेपछि केन्द्रेले इमर्जेन्सी वार्डमा भर्ना गरिएका बिरामीको मागलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको डा कर्णीकारले बताइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.