|

काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शय्याभन्दा माथिका देशभरका सबै अस्पतालमा विस्तार हुनुपर्ने बताएका छन्।

आइतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभई देशभरका तीन सय शय्याभन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए।

उनले देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक कार्यान्वयन गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि बताए। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए।

उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिबद्धता आइसकेको बताए।

उनले भने, ‘देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न अझै धेरै जनशक्तिको आवश्यकता छ। चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको आँकलनमा पनि आइसकेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धान अघि बढाउनुपर्ने अवस्था छ।’

उनले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको भन्दै खुशी व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.