|

सल्यान : सल्यानमा रासायनिक मलको अभाव हुँदा किसानहरू समस्यामा परेका छन्। धान गोडमेल गरेर मल छर्ने समयमा नै जिल्लामा रासायनिक मलको अभाव देखिएको हो। 

मल अभावकै कारण उत्पादन घट्ने चिन्ता किसानहरूले गरेका छन्। जिल्लामा पर्याप्त मात्रामा रासायनिक मल नभएपछि कृषकहरु समस्यामा परेका हुन्‌। रासायनिक मलको आपूर्ति र बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मागअनुसार जिल्लामा मल आपूर्ति गर्न नसक्दा धानखेती गोडिसकेर पनि किसानले मल हाल्न पाएका छैनन्‌। 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सल्यानले युरिया मलको अभाव भएको तर डीएपी लगायत अन्य मल उपलब्ध रहेको कार्यालयका प्रमुख प्रवीणजंग शाहले बताए। सल्यानमा मात्र नभएर देशभर युरिया मलको अभाव रहेको उनको भनाई छ। 

कोरोना महामारीका कारण बन्दाबन्दी हुँदा भारतबाट रासायनिक मल ढुवानीमा समस्या रहेको शाहले बताए।  जिल्लामा मल आउन अझै केही समय लाग्ने लिमिटेडले जनाएको छ। जिल्लामा वार्षिक १५ देखि २० हजार क्विन्टल रासायनिक मल खपत हुने गरेको छ। हिउँदभन्दा बर्खाको समयमा रासायनिक मल बढी खपत हुने गरेको शाहले बताए। 

जिल्लामा गत  आर्थिक वर्ष २०७६/०७७ मा धान ७ हजार ७८, मकै १९ हजार ३ सय ३५, गहुँ १४ हजार २ सय १७, कोदो ६ सय ७५, तरकारी ३ हजार २ सय २ हेक्टर क्षेत्रफलमा अन्नबाली तथा तरकारी खेती भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। 

कार्यालयका अनुसार गत आर्थिक वर्षमा युरिया ७ सय ७७ मेट्रिकटन, डि.ए.पि. ३ सय ४७ मेट्रिकटन, पोटास २३ मेट्रिकटन र जैविक/प्राङ्गारिक मल ५ मेट्रिकटन खपत भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.