तीन साता भित्रमा प्रमाणपत्र तयार हुने

|

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनको नतिजा सार्वजनिक गर्‍यो। यस वर्ष चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै प्राप्ताङ्क प्रमाणित भएको छ। तर, बोर्डले ग्रेड पोइन्ट एभरेज (जीपीए) भने सार्वजनिक गरेको छैन।

यता, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेल राष्ट्रियस्तरको परीक्षा नभएकाले जीपीए विवरण ननिकालिएको बताउँछन्‌। ​‘यस वर्षको परीक्षा मुल्यांकन गर्ने अधिकार विद्यालयले पायो,’ उनले भने, ‘त्यसैले यो परीक्षा राष्ट्रियस्तरको भएन। त्यसैले जीपीए सार्वजनिक गर्नुपर्ने आवश्यकता ठानिएन। यसका लागि कम्प्युटरबाट प्रोसेसिङ नै गरिएन।’

विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पारिएकाले जीपीए सार्वजनिक नगरेको पनि उनको भनाई छ। बोर्डले निर्णय गरेमा पछि जीपीए लगायत अन्य विवरण सार्वजनिक गर्न सकिने उनले बताए। उनले पुर्नयोग तथा पूरक ग्रेडवृद्धि परीक्षा यस वर्ष नगर्ने जानकारी दिए।

तीन साता भित्रमा प्रमाणपत्र तयार हुने

परीक्षा नियन्त्रक खकुरेलले विद्यार्थीलाई दिने एसईईको प्रमाणपत्र तीन साताभित्र तयार गरिसक्ने बताए। उनले भने, ‘परीक्षाफल प्रकाशित भैसकेको छ, अब प्रमाणपत्र छाप्ने काम थाल्छौँ। प्रमाणपत्र तयार गर्ने लगायत सबै काम २१ दिन भित्रमा सक्छौं।’

उनका अनुसार अबको १५ दिनमा प्रमाणपत्र छाप्ने काम र त्यसपछिको झण्डै एक हप्ताभित्रमा छाप लगाउने काम सकिनेछ। विद्यार्थीको हातमा कहिले प्रमाणपत्र पर्छ भन्ने विषय अहिले ठ्याक्कै भन्न नसकिने उनले बताए। ‘अहिले कोरोना कहर छ,’ उनले भने, ‘यस्तो बेलामा प्रमाणपत्र बाँड्न सकिँदैन। यहाँभन्दा ग्रामीण भेगका विद्यालयमा प्रमाणपत्र पुर्‍याउन झन्‌ कठिन छ, हामीले सबै तयारी पूरा गरेपनि समय अनुकूल भएपछि मात्रै सबै विद्यार्थीको हातमा प्रमाणपत्र पर्ला।’

बोर्डका अनुसार परीक्षाका लागि विद्यार्थीले आवेदन दिएपनि यस वर्ष १० हजार ९०८ जना विद्यार्थी अयोग्य भएका छन। राजस्व नबुझाएका र विद्यालयको सम्पर्कमा नआएका विद्यार्थी अयोग्य भएको उनले जानकारी दिए।

उनका अनुसार विद्यालयले नै अयोग्य ठहर्‍याएर विवरण बोर्डमा पठाएको थियो। उनले अयोग्य ठहरिएका विद्यार्थीले चाहेमा अर्को वर्षमात्रै परीक्षा दिन पाउने बताए। सरकारले कोरोना महामारीका कारण यस वर्षको एसईई परीक्षा नगराई आन्तरिक मुल्यांकनबाट नतिजा उपलब्ध गराउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.