संकट चुलिँदा पनि सरकारले 'स्टेट अफ इमर्जेन्सी' नबुझेको गुनासो
संकट चुलिँदा पनि सरकारले 'स्टेट अफ इमर्जेन्सी' नबुझेको गुनासो
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्रीकै अकर्मण्यताका कारण कोरोना महामारीको भयानक अवस्था आएको बताएका छन्।
आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र लेख्दै थापाले सबै तहको सहयोग हुँदाहुँदै पनि प्रधानमन्त्रीको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण भयानक अवस्था आएको बताएका हुन्।
थापाले प्रधानमन्त्रीले षडयन्त्रपूर्वक संसद बैठक अन्त्य गरेर गुटगत किचलोको अचानोमा संसदलाई पारेको पनि आरोप लगाएका छन्।
‘असार १८ गते षडयन्त्र पूर्वक संसदको बैठक अन्त्य नगरेको भए सायद अहिले संसदमा नै यो विषयमा हाम्रो संवाद हुने थियो,’ उनले लेखेका छन्, ‘तर अपसोच, तपाईँको पार्टीको गुटगत किचलोको अचानोमा संसदलाई पारियो र कार्यसूचीमा रहेका अनेकन विषयसँगै कोरोनासम्बन्धी महत्वपूर्ण प्रस्तावमा समेत छलफल नभई अधिवेशन अन्त्य गरियो।’
प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेकाले पत्र लेखेर संवाद गरेको पनि उनले बताएका छन्। ‘कोरोनाको बढ्दो संक्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनमा झिनो आशाका साथ पुनः यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानकर्षण खोजेको छु’, उनले लेखेका छन्। थापाले यस अघि पनि प्रधानमन्त्रीलाई पत्र लेखेर ध्यानाकर्षण गराएका थिए।
थापाले संसद बैठक अन्त्य गरेर पार्टीको गुट र सत्ताको बारेमा दर्जनौँ पटक बालुवाटार भित्रै बैठक छलफल गरे पनि यो बीचमा विज्ञसँग एक पटक बाहेक कोरोना महामारीबारे सोच्ने फुर्सद नपाएको भन्दै व्यंग्य गरेका छन्। सांसद थापाले मन्त्री र सरकारका जिम्मेवार व्यक्तिले यो बीचमा गैरजिम्मेवारी अभिव्यक्ति दिएको पनि उल्लेख गरेका छन्।
उनले नेपालमा कोरोना अघि र सरकारको तयारी पछि भएकोले जोखिम बढेको बताएका छन्। ‘कोरोना भाइरसको संकट भूकम्पको कुनै झट्का जस्तो आकस्मिक रुपमा आएको होइन,’ उनले भनेका छन्, ‘नेपालमा मात्रै आएको पनि होइन। संसारभरी ती देशले सफलतापूर्वक सामना गरेका छन्। जहाँ नेतृत्व भाइरस भन्दा अगाढि दौडियो। तर, नेपालमा भने कोरोना अघि अघि र सरकारको तयारी पछि पछि भएको छ।’ उनले तयारी गर्ने, रोकथाम गर्ने समय हुँदाहुँदै पनि समयको सदुपयोग नभएको उनको तर्क छ।
कोरोनाका कारण आपत्कालीन अवस्थामा रहेको भन्दै उनले प्रधानमन्त्रीलाई भाइरस भन्दा अगाडि हुने तयारी गर्न सुझाव दिएका छन्। थापाले प्रधानमन्त्रीले अझै पनि स्टेट अफ इमर्जेन्सीको अनुभूति नगर्ने हो भने अरु कराएर केही नहुने बताए।
‘के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यै गर्ने छुट छ?’ गगनले प्रश्न गदै भनेका छन्।
सम्माननीय प्रधानमन्त्रीज्यू,
कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ। यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ। तर, महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह-तप्काकाको सहयोग हुँदाहुँदै सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको हो।
कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक २०७७ असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट तपाईँलाई भेटेरै ध्यानाकर्षण गराएको र त्यस लगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको अवगत नै होला। असार १८ गते षडयन्त्रपूर्वक संसदको बैठक अन्त्य नगरेको भए शायद अहिले संसदमा नै यो विषयमा हाम्रो संवाद हुने थियो। तर अपसोच, तपाईँको पार्टीको गुटगत किचलोको अचानोमा संसदलाई पारियो र कार्यसूचीमा रहेका अनेकन विषयसँगै कोरोना सम्बन्धी महत्वपूर्ण प्रस्तावमा समेत छलफल नभई अधिवेशन अन्त्य गरियो। त्यसैले आज तपाईँसँग संवाद गर्ने मसँग यो खुल्ला पत्र बाहेक अर्को विकल्प रहेन। कोरोनाको बढ्दो संक्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनीमा झिनो आशाका साथ पुन: यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानाकर्षण गराउन खोजेको छु।
प्रधानमन्त्रीज्यू,
संसद बैठक अन्त्यपछि तपाईँले पार्टीका, गुटका र सत्ताका बारेमा दर्जनौँ पटक बालुवाटार भित्रै बैठक, छलफल गर्नुभयो तर विडम्बना, यो बीचमा केही दिन अगाडि विज्ञहरुसँगको एउटा छलफल बाहेक कोरोना महामारीका सन्दर्भमा एक निमेष पनि सोच्ने फुर्सद पाउनु भएन। बरू, मन्त्री र सरकारका जिम्मेवार व्यक्तिबाट यो बीचमा ''मोतियाविन्दु लागेर सरकारको काम देखेनन्, टर्च बालेर खोज्दा पनि संक्रमित भेटिएनन्, सरकारले काम गरेन भन्नेहरूको मति सप्रियोस् " भन्ने जस्ता हद दर्जाका गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आए। कोरोनाले प्रधानमन्त्री, मन्त्रीहरू पार्टीको र गुटको काममा व्यस्त हुनुहुन्छ भनेर पर्खेन, संक्रमण फैलिने क्रम रोकिएन। भाद्र १ गतेसम्म नेपालमा १०७ जनाको मृत्यु भइसकेको छ। देशैभरी पोजेटिभ केसको संख्या २७ हजार २४१ पुगेको छ भने सरकारले लकडाउनको अन्त्य गरेपछिका दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या २१०० नाघि सकेको छ। छिमेकी देशहरूमा भयावह रूप लिँदै गएको स्थितिले पनि नेपालमा यो संक्रमण दर अझै बढ्ने चिन्ताजनक अनुमान छ।
प्रधानमन्त्रीज्यू,
कोरोना भाइरसको संकट भूकम्पको कुनै झट्का जस्तो आकस्मिक रूपमा आएको होइन। नेपालमा मात्रै आएको पनि होइन। संसारभरी ती देशले सफलतापूर्वक सामना गरेका छन्, जहाँको नेतृत्व भाइरस भन्दा अगाडि दौडियो। तर, नेपालमा भने कोरोना अघि अघि र सरकारको तयारी पछि पछि भएको छ। तयारी गर्न, रोकथाम र नियन्त्रण गर्न पर्याप्त समय हुँदाहुँदै पनि हामीले सदुपयोग गर्न सकेनौँ। कोभिड-१९ संक्रमणको सम्भाव्य अवस्थालाई सरकारले संवेदनशील रूपमा लिएको भए, विज्ञहरु, संसद र राजनीतिक तथा नागरिकस्तरबाट प्राप्त सुझाव र सहयोगलाई ग्रहण गरेर त्यो अनुरूप काम गरेको भए अहिलेको अवस्था आउने नै थिएन।
प्रधानमन्त्रीज्यू, एकपटक फर्केर स्मरण गर्नुहोस् त; नेपालभित्र एक जनामा पनि संक्रमण नहुँदै पाँच महिना अगाडि २०७६ फागुन २३ गते संसदमा कोरोना महामारीको सम्बन्धमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैगर्दा हामीले सरकारले गर्नुपर्ने पूर्व तयारी र कार्ययोजनाका बारेमा बुँदागत रूपमा ध्यानाकर्षण गरायौँ- तपाईँले सुन्नुभएन, बरू नेपालमा कोरोना आउँदैन, नेपालीलाई छुँदैन भन्नुभयो। चैत्र ११ गते लकडाउन भएपछि १२ गते तपाईँलाई विस्तृत पत्र लेखेर लकडाउनका बेलामा परीक्षण बढाउने लगायत सरकारले गर्नैपर्ने तयारीका विषय ध्यानाकर्षण गरायौँ- सुन्नुभएन। हामीले पीसीआर परीक्षण व्यापक बनाऔँ भन्यौँ-तपाईँ आरडीटी खरिद गर्न लाग्नुभयो। हामीले व्यवस्थित क्वारेन्टाइन बनाएर विदेशबाट आएका व्यक्तिलाई राखौँ र परीक्षण गरेर घर पठाऔँ भन्यौँ- तपाईँले भारतबाट आएका छैनन्, आउँदैनन् भन्नुभयो तर हप्तौं क्वारेन्टाइनमा राखेर परीक्षण नगरी घर फर्काउने काम भयो। हामीले सरकारी र निजीस्तरमा निश्चित अस्पताललाई कोरोना अस्पताल तोकेर अस्पताल केन्द्रित तयारी गरौँ भन्यौँ- तपाईँ बेसार र तातोपानी उपचारमा केन्द्रित हुनुभयो। वैशाख ३१ गते स्वास्थ्य मन्त्रीलाई अस्पताल केन्द्रित तयारी लगायत तत्काल गर्नैपर्ने केही विषयमा पुन: ध्यानाकर्षण गर्यौं- सुन्नुभयो तर काम गर्नुभएन। असारमा पुन: तपाईँलाई भेटेरै भन्यौँ- सावुन पानी चाहिँदैन तातोपानी भए पुग्छ भनेर लामो प्रवचन दिनुभयो। हामीले जोखिमयुक्त क्षेत्रमा परीक्षण बढाऔँ भन्यौँ- सरकार टर्चलाइट बालेर खोज्दा नि संक्रमित भेटिएन भनेर बस्यो। लकडाउन खुकुलो भएसँगै जोखिम कम भएको होइन परीक्षण कम भएको हो भन्यौँ- तपाईँका मन्त्रीले सरकारका काम नदेख्ने भन्दै निम्मकोटीका अभिव्यक्ति दिनुभयो। यसरी हामीले कहिले संसदमा, कहिले सडकबाट, कहिले भेटेर, कहिले पत्र लेखेर झकाइरह्यौँ, तर विडम्बना, तपाईँमा अरूका विचार सुन्ने धैर्य र कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै भएन। यो महासंकटसँग जुध्नको लागि यस बीचमा सरकारले जे गर्नुपर्थ्यो त्यो गरेन, जे गर्यो त्यो पनि पर्याप्त भएन, जसरी गर्यो त्यो तरिका ठीक नभएको अब प्रमाणित भइसक्यो।
हामीले फागुनदेखि नै टेस्टिङ, ट्रेसिङ, आइसोलेसन र अस्पताल केन्द्रीत तयारी संगसंगै गरौं भनेर भन्यौं, सरकारले सुनेन बरू केही दिन अगाडि स्वास्थ्यमन्त्रीले भन्नुभएछ- "एक जमाना थियो पीपीई भएन भन्ने, त्यसको अभाव छैन भनेपछि त्यसको गीत बजेन, पीसीआर परीक्षणको गीत आयो, अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरू आउनेछन्"। यसबाट नै कोरोना रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारको कति अज्ञानता छ र कसरी बरालिएको छ भन्ने कुरा प्रष्ट हुन्छ। दुःखका साथ भन्नै पर्छ, नेपालमा कोरोना संक्रमणका कारण नागरिकको जे जसरी मृत्यु भएको छ, जति संक्रमित भएका छन, जुन कष्ट बेहोर्नुपरेको छ, सरकारले अलिकति पनि संवेदनशीलता देखाइदिएको भए यो क्रमलाई रोक्न सकिन्थ्यो। संक्रमितको पहिचान, आइसोलेसन, कन्ट्राक्ट ट्रेसिङ टेस्टिङ र उपचार पद्धतिलाई चुस्त बनाएर समयमा नै काम गरेको भए स्थिति नियन्त्रणमा रहन्थ्यो। फेरि पनि भन्छु, आज जे अवस्था आएको छ यो हाम्रो परिस्थिति वा नियतिले होइन, यो तपाईँको अकर्मण्यताका कारणले आएको हो।
पछिल्ला दिनमा संक्रमण समुदायस्तरमा फैलिएसँगै कतिपय संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ हुन सकेको छैन, अस्पतालहरूको व्यवस्थापन हुन सकेको छैन, अस्पतालका बेडहरु भरिँदै गएका छन, आइसोलेसन सेन्टरको अभाव छ, बिस्तारै आईसीयू शैय्या र भेन्टिलेटर क्षमताले नधान्ने अवस्था पुग्न लागेको हुँदा मृत्युदर झन् धेरै बढ्ने अनुमान गरिँदै छ। तर सरकारका सम्बन्धित निकायहरू भने आ-आफ्नै द्वन्द्वमा अल्झेका छन। मन्त्रालयभित्र, मन्त्रालय-मन्त्रालयबीच, जिम्मेवारी लिएका निकायबीच, सरकारहरू बीच सहकार्य छैन, निर्णयमा एकरूपता छैन। जसले गर्दा न कमाण्ड छ न कन्ट्रोल, न संवेदनशीलता छ न समन्वय। यो पत्र लेख्ने बेलासम्म देशभरी दर्जनौँ ठाँउमा स्थानीय स्तरमा निषेधाज्ञा लगाउनुपरेको छ। काठमाडौँ उपत्यकामा समेत पुन: लकडाउन गर्नुपर्छ भन्ने आवाज आइरहेको छ। लकडाउन सकिएको घोषणासँगै सरकारले सही ढङ्गले बुझाउन नसक्दा जनस्तरमा समेत थप सतर्कता हुनुपर्नेमा कोरोना नै सकियो जस्तो गरी लापरवाही बढेको छ। अहिलेसम्म तुलनात्मक रूपमा कम सङ्ख्यामा संक्रमित हुँदा त नागरिकको ज्यानको उचित सुरक्षा दिन नसक्ने सरकारले हाम्रो स्वास्थ्य प्रणालीको सघन उपचार क्षमताले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै जाँदा त्यसको व्यवस्थापन कसरी गर्न सक्छ ? के यो गम्भीर चिन्ताको विषय होइन?
अब के गर्ने?
यतिबेला हामी आपतकालीन अवस्थामा छौँ। यो दौडमा जबसम्म कोरोना भाइरसभन्दा अगाडि हुँदैनौँ तबसम्म यो लडाई जित्न सक्दैनौँ। तर प्रधानमन्त्रीज्यूले अझै पनि ''स्टेट अफ इमर्जेन्सी" को अनुभूति नगर्ने हो भने हामी जति कराए पनि केही हुँदैन। यो संकटबाट जनताको जीवन रक्षा गर्नु अब तपाईँको पहिलो प्राथमिकतामा हुनुपर्छ। के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यै गर्ने छुट छ? छैन र हुनुहुँदैन। तथ्य र आधारबिना विभिन्न निकायले लहडमा गर्ने निर्णयहरू रोकेर सरकारहरूले के गर्ने, के नगर्ने स्पष्ट निर्णय लिनुहोस्। कमाण्ड र कन्ट्रोलबिना युद्ध लड्न सकिँदैन। कमाण्डर तपाईँ हो। यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्य प्रणालीलाई चलायमान बनाएर तपाईँको कमाण्ड र कन्ट्रोलमा यो युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्।
प्रधानमन्त्रीज्यू, हाम्रो स्वास्थ्य प्रणालीको सीमितता सबैलाई थाहा भएकैले शुरुवात देखि नै हाम्रो रणनीति कम भन्दा कम संक्रमितले मात्रै अस्पताल पुग्नु परोस् भन्नेमा केन्द्रित हुनुपर्दथ्यो। त्यसको लागि संक्रमण फैलिनै नदिने, संक्रमणको चेन टुटाउने, संक्रमितलाई आईसोलेट गर्ने, चुस्त कन्ट्राक्ट ट्रेसिङ गर्ने, व्यापक र छिटो परीक्षण गर्ने, आइसोलेसन र क्वारेन्टाइन व्यवस्थित र प्रभावकारी बनाउने, अस्पताललाई थेग्नसक्ने बनाउने गरी काम गर्नुपर्थ्यो। हामीले भनिरह्यौँ तर सरकार त्यसो गरेन। अब हामीसँग विकल्प कम छन्। छिटोभन्दा छिटो अस्पताललाई थेग्न सक्ने बनाऔँ, ता कि स्वास्थ्य प्रणाली थला नपरोस्, स्वास्थ्यकर्मीले सुरक्षित रूपमा उच्च मनोबलका साथ काम गर्न सकुन्, धेरै संक्रमितहरू अस्पताल नआइकन निको बनाउन सकियोस्, अस्पताल आउनुपर्ने अवस्थाका बिरामीलाई सहज रूपमा उपचार गर्न सकियोस्। यसका लागि अहिलेको अवस्थामा तत्काल गर्नैपर्ने केही विषयमा म पुन: तपाईँको ध्यानाकर्षण गराउन चाहान्छु।
प्रधानमन्त्रीज्यू,
ध्यानाकर्षण गराएका यी विषयहरू स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित विषय हुन। कोरोना महामारीले स्वास्थ्य बाहेक शिक्षा, कृषि, यातायात, पर्यटन, रोजगारी, पेशा व्यवसाय लगायत सवै क्षेत्रलाई अस्तव्यस्त पारेको छ। नागरिकको दैनिक जीवन नै खल्बलिएको छ। कैयनले रोजगारी गुमाएका छन। दैनिक श्रम गरेर जीवन धान्नेहरूलाई छाक टार्न कठिन भएको छ। व्यवसाय चौपट भएको छ। किसानलाई मल, विउ देखि कृषि उपजको विक्रि वितरणमा समस्या भएको छ। कतिपय नागरिकले औषधि समेत किनेर खान सकेका छैनन। यस्तो अवस्थामा सरकारले 'घर बस सुरक्षित बस' भनेर मात्र हुँदैन। तिनलाई मद्दत चाहिएको छ। तर, तिनका समस्यामा सरकार कहाँ छ? तर्साएर, कार्वाही गर्छु भनेर कानूनको दफा देखाएर मात्र सरकारको जिम्मेवारी पुरा हुँदैन। ति नागरिकलाई ठोस मद्दत गर्ने योजना ल्याउनुहोस्। मसँग सरकार छ भन्ने अनुभुति दिलाउनुहोस्। राज्यले भर थेग गर्छ भन्ने विश्वास भयो भने मात्रै जीवन बचाउने यो लडाईमा सवै नागरिकको साथ पाउनुहुन्छ।
अन्त्यमा,
गत फागुन-चैत्रमा ध्यानाकर्षण पत्र लेख्दा सरकारलाई साथ दिने इच्छा र उर्जाले भरिएको मेरो मन यस पटक आक्रोश र निराशाले भरिएको छ। संसदको साथ, सरकारसँग स्रोत, तपाईँसँग शक्ति, सबै तहको सरकार र निकायको समन्वय, नागरिकको पूर्ण सहयोग अनि पूर्व तयारी गर्न समय हुँदाहुँदै पनि तपाईँको अहंकार, गैरजिम्मेवारीपन, अकर्मण्यता, हेपाहा प्रवृत्ति र म बाहेक कोही जान्नेसुन्ने छैन भन्ने मपाईँपनाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो। तपाईँको सारा सक्रियता आफ्नो कुर्सी र गुट जोगाउन र आफ्नाहरूको पक्षपोषणका लागि भइरहेको छ। तर संकटको घडीमा नागरिकको जीवन रक्षाका लागि पनि देशको प्रधानमन्त्रीबाट त्यस्तै किसिमको सक्रिय नेतृत्वको आशा राख्नु प्रत्येक नागरिकको स्वभाविक अपेक्षा पनि त हो। त्यसैले अब त तपाईँमा केही संवेदनशीलता पलाउला की, जनताको जीवनको विषय तपाईँको प्राथमिकतामा पर्ला की भन्ने कारुणिक आशावादका साथ ५ महिना अगाडि देखि निरन्तर उठाइरहेका विषयहरूलाई पून: यो पत्र मार्फत ध्यानाकर्षण गराएको हुँ। सरकारको सकारात्मक पहलमा समन्वय र सहयोगका लागि त हामी हरदम तयारै छौँ ! जय नेपाल!
गगन थापा
प्रतिनिधिसभा सदस्य
मिति: २०७७ भाद्र २
तपाईंको ईमेल गोप्य राखिनेछ ।