कोरोना जितेकी सांसद भन्छिन् : मनोबल बलियो हुनु पर्छ

|

काठमाडौं : लकडाउनमा जीविकोपार्जनको उपाय बन्द भएर अफ्ट्यारोमा परेकालाई सहयोगमा जुटेकी प्रदेश नम्बर ५ की सांसद कृष्ण केसी 'नमुना' आफैं कोरोना भाइरसको संक्रमणमा परिन्।

गएको साउन ११ गतेदेखि उनको शरीरमा थकान सुरु भयो। सँगै ज्वरो र टाउको दुख्‍न थालेपछि उनी अस्पताल भर्ना भइन्। अस्पताल बसाई सकिएपछि घर फर्किन्।

अस्पतालमा बसेर कोरोना मुक्त भइसकेपछि पनि उनको शरीर अझै कमजोर नै छ। उनले अझै पनि शरीर तङ्ग्रिएको महसुस गर्न सकेकी छैनन्। 'अहिले बोल्दा पनि मेरो स्वर काँपिरहेको छ', उनले सुनाइन्, 'खान मन नै लाग्दैन। यो कोरोनाकै असर त होला नि।'

कोरोनाबारे उनको अनुभव

म कोरोना संक्रमणमुक्त भएको लामो समय भइसकेको छ। शरीर कमजोर हुने स्थिति कायमै छ। यो अवस्था मलाई मात्र हो कि अरुलाई पनि होला भनेर अन्य कोरोनामुक्त भएका साथीहरुलाई पनि सोध्‍ने गर्छु। लक्षण नदेखिएका साथीहरुलाई खासै असर नपरेको बताउँछन्।

मेरो अनुभवमा बिरामीको आत्मबल नै ठूलो औषधि रहेछ। म बिरामी भएपछि अनुभूत गरेको कुरा के भने बिरामी अवस्थामा परिवार, आफन्त, समाजको स्‍नेह आवश्यक रहेछ।

कोरोनाले विश्‍वका महाशक्तिसहितका देशलाई समेत त्रसित बनाइरहेको छ। यस्तो अवस्थामा नेपाल जस्तो देशमा पनि कतिपय समस्या समाधानका लागि सामूहिक प्रयत्न आवश्यक देखिएको छ।

भौतिक दूरी कायम गरी आफन्त शुभेच्छुकको लगातारको सम्पर्क र सहयोग भयो भने मात्र सहज हुने हो।

कोरोना लाग्दा खानामा ख्याल गर्नुपर्ने रहेछ। त्यसपछि स्वास्थ्य सावधानी र चिकित्सकको सल्लाह आवश्यक पर्छ। आफन्त तथा समाजले मनोबल उच्च बनाइदिने हो भने कोरोनालाई जित्‍न सकिन्छ।

सामान्यत: बिरामी हुँदा बेसार पानी, मह पानी , सुप लगायत ज्वरोका बिरामीले खाने औषधि पनि सेवन गरें। एन्टिबायोटिक पनि प्रयोग भयो। तर, घरेलु औषधिलाई नै बढी प्राथमिकता दिएर खाइ नै रहेँ। खाँदै आएकी छु।

रोगलाई जित्ने हो भने मनोबल चाहिँ दरो बनाउन जरूरी छ। कुनै पनि रोगलाई जित्छु भनेर लागेपछि सकारात्मक लक्षण देखा परिहाल्छन्। त्यहीँ पनि कतिपय सन्दर्भमा बाहिर देखिएजस्तो हुँदैन। अन्य व्यक्ति बिरामी भएर आइसोलेसनमा हुँदा म बाहिरबाट उत्प्रेरित गरिरहन्थेँ। उहाँहरु आइसोलेसनमा हुँदा रुनुहुन्थ्यो। म जब संक्रमित भएर भेरी अञ्‍चल अस्पतालमा पुगेँ। तब हामीले बाहिर बसेर सोचे जस्तो आइसोलेसन कक्षमा हुँदैन रहेछ।

मनको कुनामा कहीँकतै डरको धङधङी रहँदोरहेछ। यद्यपि खानामा सचेत हुन सकिएन भने चाहिँ अलि अफ्ठ्यारो हुन्छ। अस्पतालमा बसेको भन्दैमा परिवार र आफन्तले बेवास्ता गरिदिए भने बिरामी झन् कमजोर भएर परिणाम डरलाग्दो हुन सक्छ। रोग लागे पनि मेरो परिवार छ, मेरा शुभेच्छुक छन्, चिकित्सक छन् भन्‍ने मनोविज्ञान चाहिँ बिरामीलाई बनाइरहनु पर्छ। जसले औषधिको काम गर्ने गर्छ।

यति हुँदाहुँदै पनि निको भएर बाहिर ननिस्किदाँसम्म मनोवैज्ञानिक त्रास भने बिरामीमा कायम नै रहन्छ। म सामान्यतया सावधानी अपनाउने व्यक्ति हुँ। तर, कोरोना कसरी सर्‍यो आफैँ चकित छु। 

बाँकेका ८ वटा गाउँपालिकामा सर्वदलीय टिम बनाएर काम गरेँ। नरैनापुरलाई त कोरोनाले थिलथिलो बनायो। जहाँ म पुग्दा पनि मलाई खासै कोरोनाको अनुभूति भएको थिएन। पछिल्लो समय म कहाँबाट कसरी संक्रमित हुन पुगेँ? आफैले पत्ता लगाउन सकेको छैन।

ग्रामीण समुदायका कतिपय ठाउँमा अझै पनि त्रासदीपूर्ण अवस्था छँदैछ। कतिपय स्थितिमा गाउँमा कोरोनासम्बन्धी ज्ञान पनि नभएको देखिन्छ। आफूलाई नपर्दासम्म सावधानी नअपनाउने देखिएको छ। जब कोही छिमेकी संक्रमित हुन्छ तब छुवाछुत जस्तो अवस्था पनि देखिएको छ। संक्रमितलाई तनाव दिने गरिएको छ।

कोरोना एक दिन निको होला तर, संक्रमित हुँदा दिने तनावले लामो समयसम्म बिरामी बनाउन सक्छ। कोरोना जोसुकैलाई पनि हुन सक्छ। बरु भौतिक दुरी कायम गरौं। बिरामीलाई टाढैबाट भएपनि  मनोबल दिऊँ। कोरोना संक्रमितको घर हो भन्दै ब्यानर टाँस्न बन्द गरौं। स्वास्थ्यकर्मीलाई टोलबाट निकाल्ने जुन खालका अमानवीय काम भैरहेका छन्। यसले गर्दा पनि भेदभावपूर्ण स्थिति आउन थालेको देखिँदैछ।

कतिपय यस्ता सन्दर्भले गर्दा मानसिक रोगका बिरामी हुन सक्ने पनि देखिएको छ।

पहिलो कुरा त विभिन्‍न खालका रोगका संक्रमणबारे हामीले सुनेका मात्र थियौं। विश्‍वमा रोगहरूले मान्छे मरिरहेको भन्‍ने सुनिरहेका थियौं। हाम्रोमा पनि लकडाउन भयो। होल्डिङ सेन्टर निर्माण भयो। अब मलाई व्यक्तिगत रुपमा लागेको कुरा के भने पिसिआर मात्रै गरेर पनि रोग नियन्त्रण हुन सक्दैन।

आज परीक्षण गर्नु होला तर भोलि लाग्दैन भन्‍ने त हुँदैन। जोखिम उस्तै छ। नेपालका सन्दर्भमा कोरोना नयाँ भएकोले प्रभावकारी बनाउन सामाजिक सचेतना पनि जारी राख्‍न जरूरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.