मृतकका बुवा भन्छन्, छोरालाई ज्वरोसमेत आएको थिएन

|

रौतहट : गत साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका निरन्जन रामको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ। 

हत्या आरोपमा गत भदौ १ गते पक्राउ परेका पनिलाल रामका १९ वर्षीय छोरा विजयको उपचार क्रममा मृत्यु भएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका हुन्। 

किड्नीमा समस्या रहेकोले उनलाई थप उपचारका लागि वीरगञ्ज पठाएको र गएराति नै उनको मृत्यु भएको प्रहरीको भनाइ छ। केही दिनअघि प्रहरी हिरासतबाट रामलाई गरुडास्थित अनामिका अस्पतालमा उपचारका लागि लगिएको स्थानीय तथा नेकपा नेता शेख कलिमुल्लाहले जानकारी दिएका छन्। उनलाई त्यसपछि थप उपचारका लागि ४÷५ दिनअघि वीरगन्जस्थित नेसनल मेडिकल अस्पतालमा भर्ना गरिएको नेता कलिमुल्लाहले बताए। 

प्रहरी यातनाकै कारण विजयको ज्यान गएको कलिमुल्लाह बताउँछन्। यता छोरो मृत अवस्थामा पुग्दा समेत प्रहरीले आफूलाई खबर नगरेको मृतकका बुबा पनिलालको गुनासो छ।

छोरो विजयलाइ अहिलेसम्म ज्वरो समेत नआएको र अहिले मृत्युको खबर सुन्दा पत्यार नलागेको बुबा रामले बताए। विजय परिवारका एक्ला छोरा हुन्। विजयको श्रीमती र एक छोरी छन्।

निरन्जन हत्या आरोपमा उनीसहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइरहेको थियो। हत्या आरोपमा सोही गाउँका शेख गुलाबीका छोरा आजाद, मनोहर महराका छोरा अजय कुमार रन्जन, शशिभूषण यादवका छोरा विवेक, मंगल रामका छोरा अर्जुन, हितलाल पासवानका छोरा सिकिन्द्र र निरन्जन काम गर्ने संच नर्सरीका संचालक राजाराम साहलाई इलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएको छ।

यता निरन्जन राम हत्याकाण्ड संघर्ष समितिले प्रहरीले बिजयलगायत निर्दोषलाई फसाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। केही दिनअघि पनि प्रहरीविरुद्ध गरुडामा विशाल जुलुश प्रदर्शन गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.