|

सल्यान : वि.सं. २०७२ असोजमा सरकारले देशभरका तुइन दुई वर्षभित्र पुलले विस्थापन गर्ने घोषणा गर्‍यो। तोकिएको समयभित्रै काम सम्पन्न नभएपछि दर्जनौं स्थानका पुल यतिखेरसम्म विस्थापित गरिसकिएको छ। 

तर, सुर्खेत र सल्यानको सीमामा बस्ने नागरिकहरूले सामान ओसारपसार गर्न अझै तुइन प्रयोग गरिरहेका छन्‌। जीर्ण भइसकेको तुइन प्रयोग गर्न शुल्क समेत तिर्नुपर्छ। 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ रैकरदेखि सुर्खेत सिम्ता गाउँपालिका ७ बैसपानीसम्म जोडिएको १ हजार १ सय मिटर लामो तुइन अझै प्रयोगमा रहेको सञ्‍चालक अम्बर खत्रीले जानकारी दिए। ​मानिस वारपार नगरेपनि शुल्क तिरेर नियमित रूपमा तुइनमार्फत सामान वारपार गराउने गरिएको उनी बताउँछन्‌। सामान वारपार गराए वापत प्रतिकिलो १ रूपैयाँ ५० पैसा लिने गरेको उनले जानकारी दिए।

रैकरबाट उकालोमा ४० किलोसम्म र ओरालोमा ८० किलोसम्म सामान वारपार गराउन सकिने खत्रीले जानकारी दिए। उनले सामान वारपार गराएबापत प्राप्त हुने १ रूपैयाँ ५० पैसामध्ये ५० पैसा तुइन मर्मतका लागि जम्मा गरिने र बाँकी एक रूपैयाँ आफ्नो पारिश्रमिक वापत लिने गरेका छन्‌।

​वि.सं २०६८ भदौमा तत्कालिन जिल्ला विकास समिति सुर्खेतको ६५ हजार, साविक काप्रचौर गाविसको २५ हजार सहयोग र प्राक्टिकल एक्सन नेपाल, दलित सेवा संघ सुर्खेत र विश्व खाद्य संस्था सल्यानको सहयोग र जनताको श्रमदानबाट उक्त तुइन बनेको हो।

झोलुंगे पुल भएपनि पुलबाट सामान वारपार गर्न अप्ठेरो भएकाले नगद तिरेर भएपनि तुइनबाट सामान वारपार गराउँदै आइरहेको शिक्षक नवीन केसीले बताए। तुइन मर्मत गर्न सुर्खेतको सिम्ता गाउँपालिकाले ९० हजार रुपैयाँ सहयोग गरेकोछ। सामान बोकेकै पैसाबाट तुइन मर्मत गरिने सामानबाहेक अरू व्यक्तिहरू झोलुङ्गे पुलबाट जाने केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.