|

स्काइ ड्राइभ इन्क नामक एक जापानी कम्पनीले उड्ने कारको परीक्षण सफल भएको घोषणा गरेको छ। 

दुई साताअघि उक्त कारको सार्वजनिक परीक्षण गरिएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्‍लेख छ। विश्व प्रसिद्ध टोयोटा कम्पनीको कार परीक्षण स्थलमा स्काइ–कारको परीक्षण गरिएको थियो। जापानको इतिहासमै पहिलोपटक उड्ने कारको सार्वजनिक परीक्षण गरिएको हो। 

एसडी–३० नामको उक्त कारलाई कम्पनीको अनुभवी पाइलटले चार मिनेट जति सफलतापूर्वक उडाएका थिए। ‘मानवसहितको कार उडानमा प्राप्त भएको सफलताबाट हामी असाध्यै उत्साहित छौं,’ कम्पनीका सिइओ तोमोहिरो फुकुजावाले भनेका छन्, ‘हामी यो सुरक्षित‚ सहज र धेरैको पहुँचमा पुगोस् भन्ने चाहन्छौं।’  उनका अनुसार कम्पनीले उक्त कारको व्यवसायीकरण गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार एसडी–३० विश्वकै सानो इलेक्ट्रिक स्काइ–कार हुनेछ‚ जसलाई दुईटा कार पार्क गर्न चाहिनेजति क्षेत्रबाटै उडाउन र अवतरण गर्न सकिनेछ। सुरक्षाका लागि कारमा आठवटा मोटर इञ्‍जिन जडान गरिएका छन्। यसलाई भविष्यमुखी‚ चमत्कारिक र उपभोक्ताले रुचाउने किसिमको डिजाइन दिन खोजिएको डिजाइन निर्देशक ताकुमी यामामोतले बताए। 

कम्पनीले उक्त स्काइड्राइभ कार सन् २०२३ सम्ममा बजारमा ल्याउने लक्ष्य राखेको छ। कारको सम्भावित मूल्यबारे भने कम्पनीले केही बताएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.