|

अर्घाखाँची : रोल्पामा शुक्रबार राति पर्खाल भत्किएर गोठ पुरिँदा मृत्यु भएका एकै घरका दुई दाजुभाइको परिवारलाई गाउँपालिकाले २५/२५ हजार काजकिरिया खर्च दिने भएको छ।

घटनाको जानकारी पाउने बित्तिकै घटनास्थल पुगेका लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले पीडित परिवारको दयनीय अवस्थालाई हेरेर तत्काल मृतकका परिवारलाई २५ हजारका दरले काजकिरिया खर्च दिईने निर्णय भएको बताए।

पूर्वी रोल्पाको लुङग्री गाउँपालिका-१ पाङ ऐपे गाउँमा गोठमा सुतिरहेका ज्ञानसिंह घर्ती मगरका दुई छोराको  गोठमाथिको पर्खाल भत्किएर गोठ पुरिँदा मृत्यु भएको हो।

मृत्यु हुनेमा ११ वर्षका युवराज घर्ती र ८ वर्षका अमर घर्ती मगर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज सुवेदीले जानकारी दिए। गोठमै सँगै सुतेका मृतकका ३० वर्षीया आमा ननकली घर्ती र ५० वर्षीया हजुरआमा विनमा घर्तीमगरको अवस्था सामान्य  रहेको प्रनाउ सुवेदीले बताए।

स्थानीयका अनुसार वर्षाका कारण पर्खाल भत्किएको थियो। उनीहरु खाना खाएर घर नजिकैको गोठमा सुत्न गएका थिए। मध्यरातमा गोठ पुरिएर दुई छोरा पुरिएपछि आमाले गुहार मागेकी थिइन्। गाउँलेले घटनास्थल पुगेर उद्दार गरेका थिए। गोठमा रहेका गाई भैंसीको दाम्लो खोलेर बाहिर निकालिएको थियो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी चौकी सुलिचौर र किलाचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी घटनास्थल पुगेर मुचुल्का बनाई मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।

घाइते दुई जनालाई उपचारका लागि पनि जिल्ला अस्पताल रोल्पा ल्याइदै छ। मृतक बालकका बुबा मजदुरीका लागि भारतमा  छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.