|

काठमाडौं : यतिखेर साथी–भाइहरूको बधाई र आशीर्वाद थाप्न भ्याईनभ्याई छ ध्रुव नापितलाई। कोरोना भाइरस संक्रमणबाट मुक्ति भएपछि उनको परिवारमा छुट्टै खुशी छाएको छ।

गोकर्णेश्वर नगरपालिका-४ स्थित किसिगालका ध्रुवले एक नयाँ जन्म पाएका छन्। कोभिड १९ जस्तो रोगलाई सजिलै जित्‍न सकेकोमा हर्षित छन् ४२ वर्षीय ध्रुव। उनी भन्छन्,‘अन्तत: कोरोनालाई जित्न सफल भएँ। अहिले खुसीको सीमै छैन।’

कोरोना संक्रमित भएपछि नेपाल मेडिकल कलेजको आइसोलनमा उनी १७ दिन बसे। अहिले निको भएर घरमा बस्दै आएको एक हप्ता भएको छ।  

यसरी संक्रमित भए

उनी सामाजिक सेवामा धेरै रुचि राख्छन्। त्यसो त उनी पाँच वर्षदेखि सामाजिक सेवामा सक्रिय छन्। उनी गोकर्णेश्वर नगरपालिका विपत व्यवस्थापन समिति वडा नम्बर ४ को सदस्य हुन्।

कोरोना त्रासबीचमा पनि उनी अग्रपंतिमै रहेर कोरोना संक्रमितहरूको सेवामा खटेका थिए। खानादेखि संक्रमित व्यक्तिको आवश्यक सामग्रीहरू पुर्‍याउने काम गर्दथे। राहत बाँड्नलाई पनि सबैको घरघरमा उनी पुगेका थिए।

कोरोना संक्रमण रोक्नलाई विभिन्न मेला, जात्रा, पर्वलाई रोक्न पुग्थे। यसरी सामाजिक कार्यमा खटिँदा खटिँदै साउन २७ गतेदेखि उनमा ज्वरो आउने, वाकवाक, आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखियो। त्यसपछि उनले गोकर्ण प्राथमिक अस्पतालमा भदौ १ गते पिसिआर परीक्षण लिए। उनको भदौ ३ गते पोजेटिभ रिपोर्ट आयो।

‘चार दिनसम्म त कोठामै सिकिस्त भएको थिएँ,’उनले भने,‘कोरोना पोजेटिभ रिपोर्ट आएपछि घरभन्दा अस्पतालमै बस्ने सुझाव आयो। त्यसैले म आफैँ गएर ३ गते बेलुका अस्पतालमा गएर बसेँ।’

उनी संक्रमित भए पनि उनका परिवारमा कसैलाई संक्रमण देखा नपर्दा भने उनी धेरै खुसी छन्।  २२ जनाको टिमबाट उनीसँगै अग्रपंक्तिमै खटिएका अर्का लक्ष्मी श्रेष्ठको भने रिपोर्ट नेगेटिभ आएको उनी बताउँछन्। ​भन्छन्,‘बिहान, बेलुका, दिउँसो कोरोना संक्रमितलाई सामान पुर्‍याउने गरेको थिएँ। अरू साथीहरू डराउँथे तर म र लक्ष्मी भने सामाजिक काममै सक्रिया भयौँ। संक्रमित हुन पुगे पनि सामाजिक सेवाको अग्रपंक्तिमै नाम आउँदा खुसी छु। सामाजिक सेवा गर्दा धेरै सन्तुष्टि पाएको छु।’

आइसोलेसनमा कसरी बिते दिन? 

कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा चार दिनसम्म गाह्रो भयो उनलाई। ज्वरो पनि घटेको थिएन। पछि ज्वरो घट्दै गयो। खाना, खाजा खाएपछि म्युजिकमा नाच्थे। नियमित गुर्जो पानी, तातोपानीमा बेसार, अदुवा लसुन, गरम मसला हालेर पिउथे।

‘सामाजिक कार्यमा खटिने व्यक्तिले हिम्मत हार्नु हुदैन भन्दै डाक्टरहरूले हौसला दिनुहुथ्यो,’ उनले भने, ‘कोरोनालाई जित्नुपर्छ भन्दै हौसला दिए। त्यही हौसलाले कोरोनालाई हराउने हौसला मिल्यो।’

 आफ्नो मनोबल बढाएरै कोरोनालाई जित्न सकिने उनी बताउँछन्। ‘कुनै औषधिले यो रोग निको हुने हैन रहेछ,’कोरोना जितेपछिको अनुभव सुनाउँछन्,‘यसको ठूलो औषधि नै आफ्नो मनोबल उच्च पार्ने र हौसला पाएमा छिट्टै ठिक हुने रहेछ। त्यसैले म अहिले ठिक भएर घर फर्कन पाएको छु।’ उनी पेसाले चालक हुन्। उनको आफ्नै बस छ। अरू कोरोना संक्रमितलाई पनि उनको सन्देश र सुझाव छ,‘कोरोनाले म मर्छु भन्ने सोचाई कहिल्यै नबनाउनुस्। आफ्नो मनोबल बढाउनुस्। छिट्टै ठिक हुनु हुनेछ।’ 

कोरोना संक्रमितलाई नकरात्मक ढंगले हेर्नेलाई एक वर्ष जेल सजाय तोकिनुपर्छ’

अहिले समाजमा कोरोना संक्रमितहरूलाई नकरात्मक व्यवहार र दृष्टिकोणले हेर्ने गरेका समाचारहरू थुप्रै सुनिन्छन्। तर, उनलाई भने समाजले सकारात्मक व्यवहारले हेरेको सुनाउँछन्।  यस विषमा उनी भन्छन्,‘मलाई समाजले राम्रै ढंगले हेरेको छ। तर, अरूलाई नकरात्मक ढंगले हेर्ने गरेका छन्। यस्ता क्रियाकलाप रोकेर रोकिन्न। त्यसैले यस्ता गतिविधि गर्नेलाई कम्तीमा पनि एक वर्ष जेल सजाय हुनेगरी कानुनी व्यवस्था सरकारले ल्याउनुपर्छ।’

कोरोनालाई खेलाँचीको रूपमा नहेर्न पनि उनको अनुरोध छ। ‘मैले पनि रुघाखोकी जस्तै भनेर खेलाँची गरे तर, आफैँले दुःख भोगे। यो महामारी होइन निको हुन्छ। तर, कोभिडलाई हेलचेक्रयाइँ भने गर्नुहुन्न। सरकारले प्रत्येक जिल्लामा कोभिड अस्पताल बनाए जनताले धेरै राहत पाउनेछन्’ उनले थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.