चार एजेन्डामा छलफल, एकताका बाँकी काम पूरा गरिने

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले चारवटा एजेन्डा तय गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा आइतवार बसेको उक्त बैठकले विभिन्‍न चार एजेन्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। 

बैठकपछि प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार पहिलो एजेन्डाका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको संघीय मन्त्रिपरिषद् पुनर्गठन रहेको छ। 'सरकारलाई अझै गति दिएर प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनलाई बैठकले प्रमुख एजेन्डा बनाएको छ', उनले भने, 'अहिले हामी नीतिगत तहमा छलफलमा छौं। प्रधानमन्त्री ओलीसँग छलफल गरेर मापदण्ड तय गरिसकेपछि हामी व्यक्तिका विषयमा केन्द्रित हुनेछौं।'

त्यसका लागि नीतिगत मापदण्ड तय गरेर विभिन्‍न कोणबाट सुझाव लिइएको पनि उनले बताए। त्यसैगरी बैठकले दोस्रो एजेन्डाका रुपमा संवैधानिक निकायहरूमा नियुक्तिलाई अघि सारेको छ। लामो समयदेखि संवैधानिक निकाय रिक्त हुँदा जटिल समस्या आइलागेको भन्दै नेकपाले यसलाई दोस्रो एजेन्डा बनाएको छ। यसका लागि नेकपाले प्रमुख प्रतिपक्ष कांग्रेससँग पनि संवाद थालिसकेको छ।

नेकपाले अर्को एजेन्डाका रुपमा भदौ २५ गते बसेको स्थायी कमिटीको बैठकका निर्णयलाई कार्यान्वयन प्रक्रिया अघि बढाउने भएको छ। प्रवक्ता श्रेष्ठले पार्टीलाई एक बनाएर लैजान स्थायी कमिटीले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयन गर्ने कुरालाई पनि सचिवालयको एजेन्डा बनाइएको जानकारी दिएका छन्। 

त्यसैगरी नेकपाले एकताको दुई वर्ष बितिसक्दा पनि बाँकी रहेका सांगठनिक एकतालाई टुंगोमा पुर्‍याउने भएको छ। 'हामीबीच एकताका बाँकी कामहरु सक्नुपर्ने चुनौती छ। त्यसलाई पनि कार्यसूचीमा राखेका छौं', उनले भने, 'महाधिवेशनमा केन्द्रित हुन पनि एकताका बाँकीका यथाशक्य चाँडो सक्ने गरी यसलाई एजेन्डा बनाइएको छ।'

अर्को एजेन्डाका रुपमा नेकपाले विविध भनेको छ। विविधमा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागका निर्णयलाई कार्यान्वयन गर्ने गरी एजेन्डा बनाइएको श्रेष्ठले बताए। 

त्यसैगरी समावेशी नभएको आवाज उठिरहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटीमा पदपूर्तिबारे पनि कुरा भएको उनले बताए। प्रवक्ता श्रेष्ठले यसअघि पार्टीले गरेका कारवाहीको पनि समीक्षा सचिवालयमा हुने जानकारी दिए।  

केन्द्रीय सदस्यलाई आर्थिक सहयोग

नेकपाले एकतापछि पहिलो पटक केन्द्रीय सदस्यहरुलाई आर्थिक सहयोग गर्ने नीति लिएको छ। संघीय कमिटीका सदस्यहरुलाई आर्थिक सहयोगको मापदण्ड बनाउने गरी यसलाई पनि एजेन्डा बनाइएको उनले बताए। 

'केन्द्रीय सदस्यहरुलाई कसरी आर्थिक सहयोग गर्न सकिन्छ? यसबारे पनि बैठकमा कुरा भएको छ', उनले भने, 'कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुलाई पहिलेदेखि नै सहयोग गर्ने नीति छ। प्रदेश र जिल्ला कमिटीको हकमा सम्बन्धित कमिटीमै यसबारेमा छलफल भएर मापदण्ड तय हुनेछ।'

नेकपाले कोभिड-१९ कार कारण देश आर्थिक संकटमा परेको ठहरसहित संघीय संसदका सदस्यहरुले बैठक भत्ता नलिनेबारे पनि छलफल थालेको छ। 'संघीय संसदका सदस्यहरुले कोभिड-१९ को अवस्थामा बैठक भत्ता लिने नलिनेबारे छलफल गरेका छौं', उनले भने, 'आजलाई पहिलो एजेण्डामा मात्रै छलफल भएको छ। बैठक भोलि १ बजे बस्‍ने छ। त्यसपछि विस्तृत रुपमा यी एजेन्डामा अघि बढ्ने छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.