|

मोरङ : मोरङमा धार्मिक वनको नाममा चारकोसे झाडी अतिक्रमण बढेको छ। पूर्व-पश्चिम राजमार्ग आसपासका वन क्षेत्रमा सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दिर, जातीय संघसंस्था, सामुदायिक भवन, खेलमैदान, सट्टाभर्ना, पुनर्वास, भुटानी शरणार्थी शिविरलगायतका नाममा बढेको अतिक्रमण रोकिएको छैन।

जिल्लाको कुल ४४ हजार हेक्टर वन क्षेत्रमध्ये ५८२ हेक्टर अतिक्रमणमा परेको र त्यसमा एक हजारभन्दा बढी घरपरिवार बसेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकुर बताउँछन्।

उनका अनुसार, मोरङमा ०६२/०६३ पछि १२ वटा जातीय संस्थाले ४४ हेक्टर सामुदायिक र राष्ट्रिय वन हडपेर ठुल्ठूला संरचना बनाउनुका साथै धार्मिक वन दर्ता गरेका छन्। यसबाहेक कुन वन क्षेत्रमा कसले,कहिले, कति अतिक्रमण गरेको छ भन्ने यकिन तथ्यांक डिभिजन वन कार्यालयमा छैन।

बेलबारीपूर्व मंगलबारेसम्म सामुदायिक वन क्षेत्रमा धेरै अतिक्रमण भएको सुचना अधिकारी ठाकुर बताउँछन्। त्यहाँ स्थानीय समुदाय र नेतृत्व नै अतिक्रमणमा लागेको भन्दै उनले भने, ‘वन जोगाउन लाग्नुपर्ने स्थानीय नै मास्न लागेका छन्।’

उनका अनुसार, मोरङमा १३४ वटा सामुदायिक वन छन्,जसले कुल २० हजार ५२८ हेक्टर क्षेत्र ओगटेका छन्। वन क्षेत्रभित्र अहिले ११ वटा खेलमैदान बनेका छन्।

धर्म–संस्कृतिको नाममा जारी अतिक्रमण पनि बढ्दो छ। जोगाउने पहल नहुँदा जातीय संस्थाहरुले वन कब्जा गरेर विभिन्न संरचना ठड्याउने क्रम बढेको छ।

राजमार्गको बेलबारी–उर्लाबारी २५ किलोमिटर खण्डको दक्षिणतर्फ वन मासिने क्रम नरोकिएको बेलबारी चिसाङ साझेदारी वन समितिका संयोजक दिनेश गिरी बताउँछन्। जिल्लाको सामुदायिक वनमा धार्मिक वन क्षेत्र बढेको भन्दै उनले अब एक्लो प्रयासले वन जोगाउन नसक्ने देखिएको बताउँछन्।

‘धेरैले जातीय–धार्मिक संवेदनासँग जोडेर वन क्षेत्रमा मठ–मन्दिर, गुम्बा आदि बनाएका छन्,’ गिरी भन्छन्‌, ‘यस्ता संरचनालाई हटाएर भन्दा पनि व्यवस्थापन गरेर वन जोगाउनुपर्ने अवस्था आएको छ।’

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.