जाडोयाममा घरभित्रै पनि मास्क अनिवार्य लगाऊँ

|

काठमाडौं : जनस्वास्थ्यविद्ले जाडो मौसममा कोरोना संक्रमणको अझै उच्च जोखिम रहेकाले सतर्कता बढाउनुपर्ने बताएका छन्। काठमाडौंमा बाहिरबाट आउनेभन्दा यहीँकाबाटै कोरोना सर्ने जोखिम पनि उच्च रहेको जनस्वास्थ्यविद्हरुको भनाइ छ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले दशैँमा देशका अन्य जिल्लाबाट फर्किएर आउनेबाट भन्दा काठमाडौं उपत्यका भित्रकाबाट नै कोरोना संक्रमण फैलने सम्भावना बढी रहेको बताए। 'देशका अन्य जिल्ला र गाउँभन्दा काठमाडौं उपत्यकामा नै कोरोना संक्रमण उच्च छ', उनले भने, 'त्यसैले देशका अन्य भागबाट आउनेहरु नै जोगिनुपर्ने आवश्यक भइसकेको छ।'

काठमाडौंमा कोभिड-१९ को संक्रमणमा नपर्न नियमित रुपमा मास्क लगाउने, सामाजिक तथा भौतिक दुरी कायम गर्ने र भीडभाडमा जाँदै जान नहुने सुझाव उनले दिएका छन्। 'नेपालमा जाडो मौसम सुरु भइसकेको छ,' उनले भने, 'जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले अझै धेरै सावधानी अपनाउनुपर्ने हुन्छ।'

जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउन घरभित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिएका छन्। उनले बाहिरबाट आउनेले अनिवार्य रुपमा  कम्तीमा ५ दिनसम्म जोखिम समूहभन्दा अलग्गै बस्न पनि सुझाव दिएका छन्।

'कोरोनाबाट जोखिममा पर्ने समूहका जस्तै दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिकासहितले उच्च सतर्कता अपनाउनु आवश्यक छ', उनले भने, 'उनीहरुलाई जोगाउन पनि जाडो मौसममा घरभित्रै पनि अब अनिवार्य मास्क लगाउनुपर्छ।'

आफूबाहेक अरु सबै संक्रमित छन् भन्ने सोच सबैले बनाएर सावधानी अपनाउन डा. दीक्षितले सुझाव दिएका छन्। दीक्षितले राज्यले पिसिआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्नेमा पनि जोड दिएका छन्। पिसिआर र एन्टिजेन परीक्षण गरेर जाडो मौसममा रुघाखोकीका बिरामी र कोरोनाका बिरामी पनि छुट्याउन सरकारले तत्परता देखाउनुपर्ने उनले बताए। 

'जाडो मौसम रुघाखोकी लाग्ने समय हो। यो बेला मौसमी रुघा खोकी कोरोना छुट्याउन गाह्रो हुन्छ', उनले भने, 'त्यसैले समुदायस्तरमा नै निःशुल्क परीक्षणको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता छ।'

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराए पनि जनता स्वयंले पालना नगर्दा संक्रमण बढिरहेको छ। कोरोनाविरुद्ध नियम पालनामा सर्वसाधारण कठोर नहुँदा काठमाडौंमा यसले भयंकर रुप लिइसकेको छ। युरोपियन मुलुकहरुमा संक्रमण दोहरिएर मानिसको मृत्यु दर फेरि उकालो लागेको छ।

बेलायतमा मे महिनायताकै उच्च मंगलबार एकैदिन ३६७ जनाले ज्यान गुमाएका छन्। उता फ्रान्सले कोरोनाले फेरि उग्र रुप लिएपछि लकडाउन नै घोषणा गरिसकेको छ। त्यसैले नेपालमा पनि सरकार र जनता दुवैले सतर्कता अपनाउनुको विकल्प नरहेको जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.