|
प्रतीकात्मक तस्बिर

बर्दिया : बर्दियामा बाघको आक्रमणमा परी फेरि एकजनाको ज्यान गएको छ। शनिबार बर्दिया राष्ट्रिय निकुञ्जको पाटेबाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका–४ राजिपुरका ६८ वर्षीय लहानु थारुको मृत्यु भएको हो।

घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा बाघले लहानुलाई आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेको र एउटा गोरुलाई भने बोकेर जंगलतर्फ लगेको उनले बताए।

पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्दै गएका छन्। बाघले गाउँमै पसेर तथा जंगल गएका स्थानीयलाई आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन्। कात्तिक ११ गते मधुवन नगरपालिका–३ का दुईजना पुरुषको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।

करिब दुई हप्ताअघि सामुदायिक वनमा घाँस काट्न गएकी मधुवन–३ की एक महिला र तीन साताअघि माछा मार्न गएका मधुवनकै एक पुरुषले पनि बाघकै आक्रमणबाट मृत्यु भएको थियो।

मान्छे मार्ने बाघको पहिचान गरिँदै

बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि मान्छे मार्ने बाघको पहिचान थालिएको छ। मान्छे मार्ने बाघ एउटै हो या अर्को हो भन्ने विषयमा क्यामरा ट्रयापिङ विधिबाट बाघको जानकारी लिन क्यामरा फिट गरिएको डिभिजन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए।

गत बुधबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले मान्छे मार्ने बाघ नियन्त्रणमा लिने निर्णय गरेसँगै बाघको पहिचान थालिएको हो। बाघ नियन्त्रणका लागि डार्टिङ गर्ने र डार्टिङका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गरिने जनाइएको छ।

बाघको आक्रमणलाई नियन्त्रण गर्नका लागि ट्रयाकिङ क्यामेरा जडान भइरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली खटिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए। यस्तै, इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली पनि खटिएको जनाइएको छ।

बर्दियामा बाघ आक्रमणका घटना बढेसँगै स्थानीयलाई विहान ९–१० बजेसम्म र साँझ ४–५ बजेपछि जंगलमा प्रवेश नगर्न आग्रह गरिएको डिभिजन प्रमुख वाग्लेले बताए। यो समयमा बाघ आहाराका लागि सक्रिय हुने भएकाले जंगल प्रवेस नगर्न आग्रह गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.