एक बोरालाई २० हजार रुपैयाँ तिर्न तयार हुँदा पनि पाइएन
एक बोरालाई २० हजार रुपैयाँ तिर्न तयार हुँदा पनि पाइएन
जाजरकोट : अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुइ महिना बितेपनि अझै पुगेको छैन।
छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन। शे-फोक्सुन्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १८ महिनायता चामल पठाएको छैन। कम्पनीले नपठाएपछि स्थानीय बासिन्दा महंगो मूल्यमा बजारको चामल किनेर खान बाध्य भएका छन्।
छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य १२ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ। गाउँपालिकामा झन्डै तीन हजार जनाको बसोबास छ।
‘जति मूल्य तिर्न खोजेपनि चामल पाइएको छैन, स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि संघीय सरकारले चामल पठाएन,’ उनले भने, ‘चामल माग्दै हामी काठमाडौंसम्म पुग्यौं, तर बेवास्ता गरियो।’ उनले अत्यधिक हिमपात हुने क्षेत्र भएकाले छार्काताङसोङमा वर्षमा एक बाली मात्र उत्पादन हुने जानकारी दिए। उनका अनुसार यहाँका बासिन्दालाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन।
शे-फोक्सुन्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो। जहाँ चीनको बाटो भएर चामल ढुवानी हुन्छ। ‘चीनले कोरोनाको कारण देखाउँदै चामल ढुवानी गर्न दिएन,’ गाउँपालिका अध्यक्ष टसीतुन्डुप गुरुङले भने, ‘हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन्।’
जिल्ला खाद्य व्यवस्था समितिको निर्णयअनुसार यो वर्ष माथिल्लो डोल्पाका ३ स्थानीय तहमा १ हजार ७ सय क्विन्टल चामल कम्पनीले पठाउने भनेको थियो। कोरोनाको कारण चीनबाट चामल आउन नसकेको र चिसो बढ्न थालेकाले वैकल्पिक विधिबाट चामल ढुवानीको निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।
‘हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्नको संकट हुने पक्का छ,’ उनले भने, ‘दुनैसम्म गाडीमार्फत, दुनैबाट पालिकाको केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानी व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौं।’
डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित ४ डिपो र २ बिक्री केन्द्र छन्। सबै तल्लो डोल्पामा पर्ने भएकाले पनि उपल्लो डोल्पामा चामल नपुग्ने गरेको हो। अहिले दुनै शाखामा १८०, जुफालमा ४३, सर्मीमा १३१ र काइगाउँ डिपोमा १५० क्विन्टल चामल मौज्दात छ। शहरतारा र लिकुमा सम्बन्धित ठेकेदारले नै चामल लगेर बेच्ने गरेका छन्।
जिल्ला समन्वय समिति डोल्पाले कार्तिक महिनाभित्र उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न आग्रह गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाइ चिठी लेखेको छ। यो भन्दा पहिले स्थानीय तहले चिठी लेखेका थिए।
उपल्लो डोल्पाका सर्वसाधारण पैदलै र खच्चड लिएर अहिले पूर्वी जाजरकोट आई आवश्यक खाद्यान्न खरिद गर्न लागेको शे-फोक्सुुण्डो गाउँपालिकाका इ गुरुङले बताए। खाद्यान्न आपुर्ति नहुने ठाउँका सर्वसाधारणहरू जाजरकोटतिर झर्न थालेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।