|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सचिवालयका बहुमत सदस्यले लिखित रुपमा सचिवालय बैठक राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग गरेपछि पार्टीभित्र विवाद झनै चुलिएको हो।  

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक विवादकै कारण पार्टी फुटको संघारमा पुगेको छ। तर, अध्यक्ष दाहालले पार्टीभित्रको विवाद समाधान र निर्णय कार्यान्वयनका लागि पार्टीको बैठक बस्नुपर्ने कुरा उठाइरहेका छन्। 

प्रधानमन्त्री ओलीले पटक पटक आग्रह गर्दासमेत सचिवालय बैठक बस्न सहमति नभएपछि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रुपमा बैठक राख्न माग गरेका छन्।

उनीहरुले शुक्रबार र शनिबार बिहान अध्यक्ष दाहालको नेतृत्वमा पार्टी मुख्यालय धुम्बाराहीमा अनौपचारिक बैठकपछि प्रधानमन्त्री ओलीलाई बैठक राख्न पत्र बुझाएका हुन्। 

पार्टीभित्रको विवाद समाधान लागि बैठक बस्नुपर्ने माग गरेर लिखित पत्र बुझाउँदासमेत प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको प्रवक्ता श्रेष्ठले बताए। ‘हामीले पार्टीभित्रको संकट समाधान र निर्णय कार्यान्वयनका लागि बैठक बस्न माग गरेका हौँ। आज लिखित रुपमा पत्र बुझाउँदा प्रधानमन्त्री ओलीबाट बैठकको विषयमा कुनै प्रक्रिया आएको छैन’, उनले भने। 

त्यसो त प्रवक्ता श्रेष्ठले सचिवालय बैठक राखेर कोरोना महामारी, पार्टीभित्रको विवाद समाधान, राष्टियतासँग जोडिएका विषयबारे छलफल गर्न कात्तिक ९ गते नै अध्यक्षद्वयलाई पत्र बुझाएका थिए। 

तर, प्रधानमन्त्री ओलीले गत शनिबारको भेट अध्यक्ष दाहाललाई अलग भएर जाऔँ भन्ने प्रस्ताव गरेपछि नेकपा तरंगित भएको छ। बिहीबार अध्यक्ष दाहालसँगको भेटवार्ता क्रममा औपचारिक बैठक राखे पार्टी फुटको बिन्दु त्यही हुने अध्यक्ष दाहालले शनिबारको अनौपचारिक बैठकमा बताएका थिए। 

पार्टी एकताको रक्षाका लागि कार्यकारी अध्यक्ष दाहालसमेत अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीकहाँ बैठकको माग गर्दै पुगेका छन्। 

ओली–प्रचण्ड चर्काचर्की

बैठकको माग गर्दै अध्यक्ष दाहालसहितको नेतृत्व बालुवाटारमा प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाउने क्रममा प्रधानमन्त्री ओलीसँग चर्काचर्की परेको छ। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले गुटबन्दी गरेर आफूविरुद्ध लागेको भनेपछि अध्यक्ष दाहालसँग चर्काचर्की परेको हो। 

‘तपाईंलाई हामीले पार्टीको बैठक बसेर पार्टीको निर्णय कार्यान्वयन गरेर अघि बढौँ भनेका हौँ। तर, तपाई पार्टीको बैठक राखेमा पार्टी फुटाउँछु भन्नुहुन्छ, यसरी पार्टी कसरी चल्छ? तपाई जहिल्यै आफूखुसी निर्णय लिनुहुन्छ’, अध्यक्ष दाहालको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘तपाई आफैं पार्टीभित्रको विवाद समाधान गर्नतर्फ केन्द्रित नभएर आफूनिकट नेताहरुसँग भर्चुअल बैठकमा लागेर विवाद बढाउँदै हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले पनि अध्यक्ष दाहालले आफूविरुद्ध गुटबन्दी गरेको आरोप लगाए। ‘तपाई जहिल्यै पनि मविरुद्ध गुटबन्दीमा लाग्नुहुन्छ। जालीझेली कुरा गरेर हुँदैन’, ओलीको भने, 'त्यसैले अहिले बैठक बस्न सकिँदैन।’ 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मात्रै नभएर बालुवाटार पुगेका वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले पनि ओलीको कार्यशैलीको कारण पार्टीभित्र विवाद बल्झिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.