प्रजिअ भन्छन् : भारतीय पक्ष समन्वय नै गर्दैन

|

कञ्चनपुर :  हतियारसहित बर्दीमै भारतीय सीमा सुरक्षा बल (एसबएसबी) का जवानहरू कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा प्रवेश गरेका छन्।

नेपाली भूमिमा आएका भारतीय एसएसबीका ६ जना जनालाई शनिबार स्थानीयले लखेटेका छन्। हतियार भिरेर डोरी र क्यामेरासहित आएका उनीहरुलाई स्थानीयले अनुमतिबिना नेपाल आएको भन्दै फर्काइदिएका हुन् । उनीहरु सीमा नापजाँच गर्न भन्दै नेपाली भूमिमा छिरेका हुन्।

बेलौरी नगरपालिका–१० का स्थानीयले यसअघि पनि एसएसबीलाई नेपाली भूमिमा नआउन आग्रह गरेका थिए । स्थानीयको आग्रहलाई अटेर गर्दै आएका उनीहरुलाई यो पटक भने लखेटिएको हो। 

‘हामीलाई हाम्रै भूमिमा आएर धम्की दिन्छन्, दुव्र्यवहार गरेर जान्छन्’, एकजना स्थानीयले भने, ‘हामी जाइलाग्न खोजेपछि लखेट्दै भगायौँ।’

नेपाली पक्षसँग समन्वय नगरी नाप जाँच सुरु गरेपछि स्थानीय आक्रोशित भएका थिए । बेलौरी नगरपालिका– १० का अध्यक्ष हरिलाल चौधरीले उनीहरुको नाप जाँचसम्बन्धी केही खबर थाहा नभएको बताए। 

भारतीय एसएसबी हतियारसहित नेपाली भूमिमा आएपछि अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लव राज भट्टले त्यसलाई दादागिरीको संज्ञा दिएका छन्। 

‘सीमा विवाद मिलाउन सरकारले टोली गठन गरेको छ, एसएसबी दादागिरी शैलीमा नेपाल प्रवेश गर्नु राम्रो होइन,’ उनले भने। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्ष समन्वय नगरी नेपाली भूमिमा प्रवेश गरेको बताए। ‘सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने हो, तर भारतीय पक्षले समन्वय गरेनन्’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.