व्यापारिक मार्ग हुँदै देशका ठूला शहरमा सप्लाई

|

सिमरा : बारा प्रहरीले डेढ साताअघि सिमरामा यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ३ हजार एम्पुल लागुऔषधसहित १ जना  भरियालाई पक्राउ गर्‍यो।

पथलैया –वीरगञ्ज व्यापारिक मार्ग हुँदै बनेपाका लागि छुटेको ना.६ ख.९०९९ नं यात्रुबाहक बसको सिटमाथि लुकाई राखेको अवस्थामा १ हजार पिस नुर्फिम, १ हजार पिस फेनारगन र १ हजार डाईजेपाम नामक लागुऔषधसहित बारा देवताल गाउँपालिका स्थानीय हाल (वीरगञ्ज महानगरपालिका-१८ डेरा गरी बस्ने) अमितकुमार नुनियालाई बारा प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका नुनिया लागुऔषध ओसारपसारमा संग्लनमध्ये भरिया भएको जनाइएको छ। त्यस्तैगरी, यही साता कात्तिक २४ गते (सोमबार) २ किलो अफिम र २ केजी गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा अर्को १ जनालाई बाराको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन्।

पक्राउ परेका पचरौता नगरपालिका ३ का विनोद यादवलाई  पनि लागुऔषध कारोबारीहरूले  भरियाको रुपमा प्रयोग गरेका हुनसक्ने बारा प्रहरीले जनाएको छ।

पछिल्लो १ महिनाभित्रको अर्को प्रतिनिधि घटना असोज २१ गते पथलैया–वीरगञ्ज व्यापारिक मार्गको पथलैयामा ‘सरप्राईज चेकिङ्ग’का कम्रमा ना७ख ९४५४ नं को ट्रकको पछाडि ढालामा लुकाई राखेको अवस्थामा ७ बोरा (१ सय ४७ केजी) अवैध गाँजा बरामद भएको थियो।

ठूला शहरमा सप्लाई

यी ३ वटै घटना पछिल्लो महिना दिनभित्रको प्रतिनिधि घटना मात्रै हुन्। भारतबाट लुकाईछिपाई आयात भएका लागुऔषध व्यापारिक मार्गको बाटो हुँदै देशका ठूला शहरहरुमा पुग्ने  र बारा, मकवानपुर, चितवन र धादिङमा उत्पादन भएको अवैध गाँजा र अफिम भारततर्फ निकासी हुने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन्।

प्रहरीले पछिल्लो ९ महिनामा भारतवाट बारा पर्सा औद्योगिक करिडोर हुँदै  काठमाडौं र पोखरातर्फ लैजाँदै गरेको र नेपालबाट भारततर्फ निर्यात गर्दै गरेको करिब ६ क्विटल गाँजा,२ हजार ५ सय ६५ पिस नाईट्राभेट, अफिम ४ केजी, कोरेक्स् ८ बोतल, ओर्रनेक्स २२ बोतल,ओईनकेर्रस् २ सय २४ बोतल, डाइजेपाम ३ हजार ३ सय २१ पिस र सोही परिणाममा नुर्फिन र फेनार्गन बरामद गरेको छ।

‘हामीकहाँ मनोरोग पदार्थहरु डाईजेपाम नुर्फिन र फेनार्गनहरु भारतवाट आयात हुँदै केही बाराको निजगढ, चपुर कलैया, सिमरा, हेटौँडा खपत हुन्छ भने यसको ८० देखि ९० प्रतिशत उपभोगको बजार भनेको काठमाडौं, पोखरा भएकोले त्यहाँ पुग्छ’ एसपी पंगेनीले भने ‘अर्को मकवानपुर, धादिङ, चितवन र बाराको उत्तरी भेगमा उत्पादन भएको गाँजा, चरेश अफिम बारा पर्साको सीमावर्ती क्षेत्र हुँदै भारततर्फ निर्यात हुन्छ।’

ट्रान्जिट बन्दै बारा-पर्सा

भारतबाट आयात हुने र भारततर्फ निर्यात हुने लागुऔषध ओसारपसारका घटनामा हालसम्म ४६ जना पक्राउ परिसकेका छन्। ‘हामीकहाँ लागुऔषधको ठुलो व्यवसाय र  निजगढ, सिमरा कलैयाका केहीबाहेकउपभोगकर्ताको ठूलो समूह हामीकहाँ छैन’  एसपी पंगेनीले भने ‘तर, बारा पर्सालाई ट्रान्जिट बनाएर अन्य ठूला शहरहरूमा लागुऔषधको ओसारपसार हुन्छ।’

करिडोरको मार्ग हुँदै चल्ने ट्रक, यात्रुबाहक बस, निजी कार र पेट्रोलियम ट्रयाकरहरुको माध्यमबाट भारतबाट नेपालमा लागुऔषध भित्रने गरेको छ। लागुऔषध कारोबारमा ठूलो गिरोहको संग्लनता भए पनि बारा प्रहरीले पक्राउ गरेका ४६ जनामध्ये अधिकांश भरियाको रुपमा प्रयोग गरिएका व्यक्ति रहेको जनाइएको छ। ठूला कारोबारीहरुले गरिब विपन्नहरुलाई भरियाको रुपमा काममा खटाउने गरेको बारा प्रहरीले जनाएको छ।

‘गाँजा अफिम नेपालबाट भारततर्फ निर्यात गर्ने कम्रमा निम्नवर्गीय मानिसलाई भरियाको रुपमा प्रयोग गर्ने मध्यमस्तरका मानिसहरु कारोवार गर्ने र व्यापारीसँग समर्प गरेर माल ल्याउन सम्पर्क व्यक्तिहरू छुट्टै हुन्छन् भने लगानी गर्ने र सामान भण्डारण गर्ने अकै फरक व्यक्क्ती हुन्छ’ पंगेनीले भने। 

त्यस्तैगरी, भारतबाट नेपालतर्फ लागुऔषध ल्याउन वीरगञ्जको भन्सार कटाएपछि एकैखाले व्यक्तिले काठमाडौंसम्म पुर्‍याउने गरेको भेटिएको छ।

लागुऔषध ओसारपसारमा ट्रान्जिट

लागुऔषधका घटनामा ९ महिनाको अवधिमा पक्राउ परेका ४६ जनाविरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ। ४६ जनामा  अधिकांश भरिया छन् केही व्यवसायी पनि  रहेको प्रहरीले जनाएको छ।

कानुनी रुपमा लागुऔषधका घटनामा संलग्‍नलाई २ वर्षदेखि  २० वर्षसम्म कैद  वा जन्मकैदसम्मको व्यवस्था गरिएको छ। बारा प्रहरीले ९ महिनाको अवधीमा ४६ जना पक्राउ पर्नु ठूलो सख्या भएको दावी गरेको छ। बारामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त सहकार्यमा लागुऔषध कारोबार संलग्‍न भरिया, व्यवसायी र सेवनकर्ताको खोजी गरी कारबाही  गर्ने र यसलाई नियन्त्रण गर्ने कार्य भइरहेको छ।

बाराका सशस्त्र प्रहरी बलका प्रमुख  तथा प्रहरी उपरीक्षक रोविनराज कर्णजितले लागुऔषध ओसारपोसारमा बारा जिल्ला ट्रान्जिट  भएको बताए।‘विशेषगरी मकवानपुरको गाँजा, चरेश र अफिम माग भारतमा अत्याधिक हुने भएकोले बारा जिल्लाको बाटो हुँदै  यी लागुऔषध भारततर्फ जान्छ भने सुईको माध्यमबाट

प्रयोग गरिने लागुऔषध भारतबाट नेपाल भित्रन्छ’ प्रहरी उपरीक्षक  कर्णजितले भने ‘हामीले २ महिनाको अविधिमा ३ क्युटल गाँजा बरामत गरेर जनपथलाई बुझाईसक्यौ’। नेपालको तुलनामा गाँजा, चरेश र अफिमको मुल्य भारतमा अधिक भएकोले लागुऔषध कारोवारीहरुले नेपालवाट गाँजा,चरेश र अफिम भारततर्फ निर्यात गर्ने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.