|

जुम्ला : १६ वर्षीया किशोरी बबिता रोकायाको हत्या आरोपमा दायर गरिएको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्षले आन्दोलन गरेका छन्।

हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता असोज १९ गते घरबाट बेपत्ता भएकी थिइन्‌। उनको शव कात्तिक १ गते हिमा गाउँपालिका– १ पागरपाली स्थित हिमा नदीको छेउमा फेला परेको थियो।

किशोरी हत्या आरोपको मुद्दा कमजोर बनाएको भन्दै पीडित पक्षले आन्दोलन गरेका हुन्‌। किशोरी हत्या जस्तो जघन्य अपराधको घटनाका आरोपितलाई धरौटीमा छोड्न थालेपछि आन्दोलित हुनुपरेको पीडित पक्षले बताएका छन्‌

पीडित पक्ष र प्रहरीबीच झडप 

आन्दोलित पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबीच शुक्रबार झडप भएको छ। झडपका क्रममा दुवै पक्षका घाइते भएका छन्‌। 

​पीडित पक्षमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत घाइते भएका छन्। त्यसैगरी, सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन्‌। नेपाल प्रहरीका निदेश रोकाया पनि घाइते भएका छन्।

दुवै पक्षबाट घाइते भएका व्यक्तिहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ। घाइतेहरूको खुट्टा र टाउकोमा चोटपटक लागेको छ।

हरिभक्त कठायत र खाम्बा रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भीडलाई तितरवितर पार्नका लागि लाठीचार्ज गर्नुका सार्थ अश्रु ग्याससमेत प्रहार गरेको थियो।

किशोरी हत्या आरोपमा हिमा गाउँपालिका-३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको थियो। आरोपित डाँगीलाई ५ कात्तिकमा र भण्डारीलाई ८ कात्तिकमा प्रहरी पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धी मुद्दा चलाएको हो।

पीडित पक्षका विष्णु भण्डारीले भने घटनाको योजनाकार नै रामचन्द्र डाँगी रहेको, तर मुद्दा कमजोर बनाएर घटनाका योजनाकारलाई नै धरौटीमा रिहा गर्न लागेपछि पीडित पक्ष आन्दोलित हुनुपरेको उनले बताए। उनले भने, 'मृतक किशोरीको आमा बाबु कोही पनि छैनन्। साइलाबाबु कर्ण रोकायाले संरक्षण गर्दै आएका थिए।'  उनै किशोरीमाथि भएको जघन्य घटना घटाएर सहजै रुपमा उम्काउन खोजिएको पीडित पक्षको आरोप छ।

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार २०७७ साल असोज १९ गतेको राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक एक गते हिमा गाउँपालिका– १ पागरपालीस्थित हिमा नदीको छेउमा शव फेला परेको थियो। उनले भने, ‘नदीको तालमा किशोरीको शव फेला परेको र खुट्टामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा भेटिएको हो। पानीमाथि शव तैरनुपर्ने हो, तर घाँटीमा डोरी बाँधिएकोले टाउको पानीमा थिग्रिएर बसेको रहेछ। घटनाको सबै प्रकृति हेर्दा हत्या गरिएको भन्ने प्रहरीले आशंका गरेको छ।’

किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कात्तिक १ गते पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम गर्दा किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको थियो।

काफ्लेले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ, मुद्दा कमजोर पारिएको भन्ने होइन। प्रहरी आफ्नो बुद्धि विवेक र भरपूर क्षमता प्रयोग गरी घटना अनुसन्धानमा जुटेको छ र मुद्दा अघि बढाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.